शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

टोकियो – जापानमा अध्ययनरत चेतन घर्ती मगरले लोकप्रिय गायिका जमुना सनमसंग मिलेर पञ्चेबाजामा आधारित लोकदोहोरी ’सम्झिदैं गरे है’ बजारमा ल्याएका छन् ।

घर्ती मगरको पहिलो सिर्जना ’सम्झिदैं गरे है, मनको कुरो खोलौंला त्यहीबेला बटौली झरे है’ बोलको लोकदोहोरीको म्युजिक भिडियो सनम क्रियशन प्रा. लि. ले यु-ट्युब मार्फत यसैसाता बजारमा ल्याएको हो ।

सागर बिरहीको संगीत र मौसम हिमालीको निर्देशन रहेको सो म्युजिक भिडियोमा रञ्जिता गुरुङ र महेन्द्र गौतमको अभिनय रहेको छ ।
दुर्गा पौडेलको छायाङ्कन र दुर्गा घर्ती मगरको सम्पादनमा तयार पारिएको सो म्युजिक भिडियो निर्माणमा गायिका जमुना सनम र जापानमै अध्ययनरत बाबुराम पौडेलको बिशेष सहयोगी भूमिका रहेको बताईएको छ ।
उक्त म्युजिक भिडियोमा त्रुटीवश ‘मिडिया सहयोगी समुद्रपारि डट कम’ हुनुपर्नेमा अन्यथा उल्लेख हुन गएकोमा गायक घर्ती मगरले भुलसुधार गरी बुझिदिन स्रोताहरुमा अपिल गरेका छन् ।

’यो मेरो पहिलो प्रयास हो, मलाई हौसला प्रदान गर्नुहुने सबैप्रति आभारी छु’ – उनले भने – ’यहाँहरुबाट प्राप्त माया र समर्थनले साँगीतिक क्षेत्रमा अगाडि बढ्ने प्रेरणा मिलेको छ ।’

जापानको ब्यस्त दैनिकीमा विद्यार्थीकारुपमा संघर्षरत चेतनले बचेखुचेको समयलाई जगेडा गर्दै यो पहिलो एल्बम निकालेको बताए । सानैदेखि गीतसंगीतमा लगाव राख्ने चेतन जापानको नेपाली समुदायमा नौलो नाम भए पनि कम समयमै उनी नेपालीहरुबीच परिचित हुन थालेका छन् ।***

तपाईको प्रतिक्रिया