मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

काठमाडौं – निःशुल्क औषधिको अभाव हुन नदिन सरकारले औषधि खरिद प्रक्रियालाई तीब्र बनाएको छ । केन्द्रीयबाट टेण्डर गर्दा ढिलो हुने भएपछि सम्बन्धित जिल्लालाई नै टेण्डर गरी औषधि खरिद गर्न निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्यमन्त्री गगन थापाका सल्लाहकार प्रताप पौडेलका अनुसार औषधि खरिदका लागि यसअघि जिल्लाको जनसंख्याको आधारमा १३ देखि ७५ लाख रुपैयाँ निकासा भएकोमा त्यसमा फेरि ५ देखि १५ लाख रुपैयाँ थप रकम निकासा गरिएको छ ।

रकम निकासा भएसँगै जिल्ला औषधि खरिद गर्न थालेको पनि पौडेलले जानकारी दिनुभयो । जिल्लालाई आउँदो वैशाखसम्मलाई पुग्ने औषधि खरिद गर्न निर्देशन दिइएको र त्यसपछि भने केन्द्रमा नै पर्याप्त औषधि आउने सरकारको दाबी छ ।

औषधि अभाव भए वा खरिद प्रक्रियामा कुनै समस्या भए २४ घण्टा भित्र केन्द्रमा सम्पर्क गरे तत्काल औषधि वा खरिदका लागि रकम निकासा गरिने मन्त्रालयले जनाएको छ ।  यस्तै औषधि खरिद र वितरणको जिम्मेवारी  तथा अनुगमन क्षेत्रीय निर्देशनालयलाई दिइएकाले अहिले देखिएको अभाव विस्तारै हट्दै जाने मन्त्रालयको भनाई छ ।

तर अझै पनि केही जिल्लामा औषधिको अभाव हुने गरेका खबर भने आइरहेका छन् । स्वास्थ्य मन्त्रालयले औषधिको अभाव हटाउन यसपालि ६÷७ महिना अगावै टेण्डर आह्वान गरेकाले आउँदो सालदेखि अभाव नहुने दाबी पनि गरेको छ ।

तपाईको प्रतिक्रिया