शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – शाहरुख खानलाई हेर्नका लागि जम्मा भएको भीडमा परी एक व्यक्तिको निसासिएर ज्यान गएको छ । शाहरुखलाई हेर्न वडोदरा स्टेसन पुगेका पूर्व काउन्सिलर फरिद खानको मृत्यु भएको हो । उहाँ मुटुको रोगी समेत भएको बताइएको छ ।

शाहरुख खान आफ्नो आगामी चलचित्र ‘रइस’को प्रचारका लागि मुम्बईदेखि दिल्ली रेलबाट गइरहनुभएको थियो । सबै खुसी थिए तर यो खुसी केही घण्टामा नै दुःखमा बदलियो । मुम्बईबाट शाहरुख आफ्नो टिमका साथ अगस्ट क्रान्ति एक्सप्रेसबाट दिल्लीका लागि प्रस्थान गर्नुभएको थियो । उहाँको समूहसँगै धेरै सञ्चारकर्मीहरू पनि थिए ।

सोसल मिडियाबाट खबर फैलिनेबित्तिकै प्रत्येक स्टेशनमा शाहरुखका हजारौँ फ्यान उहाँलाई हेर्न पुगिरहेका थिए । रेलको ढोकामा आएर शाहरुख पनि आफ्ना फ्यानलाई अभिवादन गरिरहनु भएको थियो । यसैबीच जब अबेर राति वडोदरा स्टेशनमा रेल पुग्यो, तब मान्छेको भीड झन् बढ्यो । झण्डै डेढ लाख मान्छे वडोदरा स्टेशनमा शाहरुखलाई हेर्न पुगेका थिए ।

वडोदरा रेलवे स्टेशनमा शाहरुख खानको एक झलक हेर्न पुगेका पूर्व काउन्सिलर फरिद खान पनि त्यहीँ थिए, जसका आफन्त पत्रकार पनि त्यहाँ थिए । रेल छुटेपछि भीडमा भएको घचेडाघचेडबाट फरिद खानको ज्यान गयो ।

शाहरुख खानले यो मृत्यु दुखद् भएको भन्दै शोक व्यक्त गर्नुभएको छ । उहाँले मृत्युबाट अफशोच भएको समेत बताउनुभयो । मृतक मुटुका बिरामी हुनुहुन्थ्यो । रेल छुटेपछि भीडमा निसासिएर उहाँको मृत्यु भएको हो । शाहरुखले मुम्बईबाट खुसी साथ हिँडेको र रेलमा मज्जा लिइरहेको बेला यस्तो दुर्घटनाले अत्यन्तै दुखित भएको बताउनुभएको छ ।

वडोदरा स्टेशनमा भीडलाई नियन्त्रणमा लिन प्रहरीले सामान्य लाठी चलाउन परेको थियो । भीडमा कैयौँ व्यक्तिलाई चोटसमेत लागेको छ । दुई प्रहरीलाई समेत भीडमा चोट लागेको बताइएको छ ।

तपाईको प्रतिक्रिया