बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

धनुषा – चिकित्सकको लापर्बाहीले एक सुत्केरीको मृत्यु भएको छ । अवैध रुपमा सञ्चालनमा रहेको भनिएको जनकपुरको एक निजी अस्पतालमा चिकित्सकको लापर्बाहीका कारण सुत्केरीको मृत्यु भएको बताइएको छ ।

जनकपुर अञ्चल अस्पतालको अगाडि डा प्रियरञ्जन कुमारले सञ्चालन गर्दै आएको ‘आर्या केयर एण्ड क्युर’ नामक अस्पतालमा आज २२ वर्षीय जिबछी देवीको मृत्यु भएको हो । सर्लाही जिल्ला डुमरिया घर भएको र जनकपुरको पिडारीमा माइती रहेको जिबछीको चिकित्सकको लापर्बाहीका कारण मृत्यु भएको पीडित परिवारको आरोप छ । अनुगमनका क्रममा पुस २७ गते ४० श्ययाको यो अस्पताल दुई जना नर्सको भरमा अवैध रुपमा सञ्चालन हुँदै आएको भेटिएपछि स्थानीय प्रशासनले त्यसमा ताला लगाएको थियो ।

जिल्ला अनुगमन समितिको निर्णयबिना नै जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुखले लगाएको ताला खोलिदिएकोे १३ दिनपछि यो घटना हुन गएको बताइएको छ । बजार अनुगमन समिति धनुषाका सदस्य रेणु झाले उक्त निजी अस्पताल सञ्चालनमा आएकाबारे हामीलाई जानकारी नभएको बताउनुभयो ।

अञ्चल अस्पतालबाट सर्वसाधारणलाई फकाएर निजी अस्पतालमा पुर्‍याउने बिचौलिया र सर्वसाधारणको ज्यानसँग खेलबाड गर्ने चिकित्सकलाई कारबाही गर्नुपर्ने माग स्थानीयले गरेका छन् ।

तपाईको प्रतिक्रिया