शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – अमेरिकी संसद बाहिर एक भव्य समारोहबीच अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा शपथ लिएपछि डोनल्ड ट्रम्पले देशमा परिवर्तन शुरु भएको घोषणा गर्नुभएको छ । 

अमेरिकाको सर्वोच्च अदालतका प्रधान न्यायाधीश जस्टीस जन रोबर्ट्सद्वारा शपथ लिइसकेपछि उहाँले देशवासीका नाममा सम्बोधन गर्दै लामो चुनावी अभियानमा जस्तै ट्रम्पले अमेरिकाको हितलाई केन्द्रमा राखेर आप्रवसन, व्यापार तथा कर सम्बन्धी निर्णयहरु गरिने बताउनुभयो । उहाँले भन्नुभयो,‘हामीले वाशिङटन डिसीबाट शक्ति तपाईं, जनतामा हस्तान्तरण गर्नेछौं र त्यो परिवर्तन आज, यहींबाट शुरु भएको छ ।’ उहाँले काला, गोरा लगायत सबै जातजातिका अमेरिकीहरुलाई एकताका लागि अपील समेत गर्नुभएको थियो । शपथ ग्रहण समारोह हेर्न दशौं हजार समर्थक र विरोधीहरु भेला भएका थिए । एउटा विशाल सुरक्षा व्यवस्थाको भागका रुपमा हजारौं प्रहरी परिचालन गरिएको थियो । भीड नियन्त्रण गर्न कैयौं किलोमिटर लामो छेकबार पनि हालिएको थियो । शपथ ग्रहण समारोहमा भूतपूर्व राष्ट्रपति जिम्मी कार्टर, भूतपूर्व राष्ट्रपति बील क्लिन्टन, उनकी धर्मपत्नी तथा चुनावमा ट्रम्पबाट पराजीत हिलरी क्लिन्टन तथा पूर्व राष्ट्रपति जर्ज बुश पनि उपस्थित हुनुहुन्थ्यो । शुक्रबार बिहान ट्रम्पले वाशिङटन डिसीस्थित एक गिर्जाघरमा आयोजित प्रार्थना सभामा भाग लिएका थिए भने त्यसपछि आफ्नी पत्नीसंग ह्वाइट हाउसमा राष्ट्रपति ओबामा र श्रीमती ओबामासंग चिया पिउनुभएको थियो । 

त्यसपछि राष्ट्रपति ओबामाले ट्रम्पलाई आफुसंगै शपथ ग्रहण समारोहमा लिएर जानुभएको थियो । शपथ ग्रहण समारोह शुरु हुँदै गर्दा आफ्नो अनुहार छोपेका तथा कालो कपडा लगाएका ट्रम्प विरोधी प्रदर्शनकारीहरुले वाशिङटनका सडकहरुमा दौडिएका थिए । केहीले पसल तथा मोटरहरुमा तोडफोड गरेका थिए । राष्ट्रपति ट्म्पले शुक्रबार शपथ लिँदै गर्दा देखि संसारका विभिन्न भागमा खुसियाली तथा विरोध प्रदर्शनहरु गरिएका छन् ।  

तपाईको प्रतिक्रिया