बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौँ – लिङ्ग पहिचान गरी गर्भपतन गराउने कार्य दण्डनीय भएकाले यसलाई निरुत्साहन गर्न सांसदहरुले जोड दिनुभएको छ ।

उहाँहरुले गर्भपतन गराउने महिलाको समग्र स्वास्थ्यमा असर पुग्ने हुँदा लिङ्ग पहिचान गरी गर्भपतन गर्ने र गराउने दुवै कार्यलाई रोक्न स्वास्थ्य मन्त्रालयलाई अनुगमन गर्न सुझावसमेत दिनुभएको छ ।

व्यवस्थापिका–संसद्, महिला बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समिति र सिविन नेपालद्वारा लिङ्ग पहिचानपश्चात् गरिने गर्भपतन र शिशु बालिकाको विरुद्ध विभेद अन्त्यसम्बन्धी आज यहाँ आयोजित कार्यक्रममा सांसदले समाजमा छोराछोरी समान हुन् भन्ने मानसिकता कायम गर्न जनचेतना जगाउन आवश्यक भएकामा जोड दिनुभयो ।

समितिका सभापति रञ्जु झाले लिङ्ग पहिचान गरी छोरा भए जन्म दिने र छोरी भए गर्भपतन गराउने प्रवृत्तिलाई कडा कानुनले मात्र नियन्त्रण गर्न सकिने बताउनुभयो । सांसद डा गङ्गालाल तुलाधरले लिङ्ग पहिचान गरी गर्भपतन गराउने कार्य दण्डनीय हुँदाहुँदै पनि किन रोकिएको छैन भन्ने प्रश्न गर्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रामहरि सुवेदीले छोरीभन्दा छोरा जन्माउनलाई बढी प्राथमिकता दिने संस्कार र प्रवृत्तिले आउन सक्ने समस्यालाई सम्बोधन गर्न सरकारले नयाँ नीति ल्याउनुपर्छ भन्नुभयो ।

सांसद श्रीमाया थकाली भने छोरीले आमाबाबुलाई धेरै ममता गर्छन् भन्ने बुझाउन आवश्यक भएको धारणा राख्नुभयो । केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धिताल, सिविन नेपालका अध्यक्ष माधव प्रधान र कार्यकारी निर्देशक रश्मिला शाक्यले छोरी भएकै कारण गर्भपतन गराउने कार्यलाई रोक्न आवश्यक भएकामा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया