मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

टोकियो-जापान सरकारले बिदेशीहरुलाई उपलब्ध गराउने स्थायी भिसा अर्थात एइज्युकेनको बारेमा निती परिबर्तन गरी आवश्यक प्रावधान पूरा गरेमा जापान आएको १ बर्षमै पनि सो भिसा दिन सक्ने निती लिने भएको छ । अनुशन्धानकर्ता, प्राबिधिक, ब्यवसायी लगायत उच्च स्तरको क्षमता भएका बिदेशीहरुको लागि मात्र लागु हुने सो अवधी ५ बर्षबाट १ बर्षमा छोट्याउने योजना रहेको सरकारी श्रोतले संचारमाध्यामहरुलाई जानकारी गराएको छ ।

यस बिषयमा यहि जनवरी १८ तारिख देखि सार्बजनिक सुनुवाई पनि थालिने र प्राप्त सुझाबहरुको आधारमा संभब भएसम्म यहि बर्ष भित्रमा लागु गर्ने योजना रहेको बताईएको छ । साधारण अवस्थामा जापानको स्थायी भिसा लिनको लागि १० बर्ष लगातार जापानमा बसोबास गरेको हुनुपर्छ । सन २०१२ मा सरकारले उच्च प्रबिधी तथा सिप भएका दक्ष जनशक्तिहरुलाई अंकमा मुल्यांकन गरी ७० अंक भन्दा बढि प्राप्तलाई उच्च दक्ष जनशक्तिको रुपमा परिभाषित गरी उनीहरुले जापान बसेको ५ बर्ष भएपनि स्थायी भिसाको लागि अवेदन दिन पाउने ब्यवस्था गरेको थियो । यस पटकको परिबर्तनले भने ७० अंक भन्दा माथिकालाई ३ बर्ष र ८० अंक भन्दा माथिकालाई १ बर्ष जापान बसेको भएपनि स्थायी भिसा आवेदन दिन पाउने ब्यवस्था गर्न लागेको हो ।

सन २०१२ मा नयां ब्यवस्था लागु भएपछि सन २०१६ अक्टोबर सम्ममा उच्च दक्ष जनशक्तिको रुपमा मुल्यांकन गरिएका बिदेशीहरु ६,२९८ जना रहेको उल्लेख छ । जसमध्ये करिब ४० प्रतिशत ८० अंक भन्दा माथी प्राप्त गरेकाहरु भएको बताईएको छ । आगामी दिनमा अनुशन्धान तथा प्राबिधिक मात्र नभई १० करोड येन भन्दा बढि लगानी गरी भेन्चर बिजनेस गर्ने ब्यवसायीहरुलाई पनि यो मुल्यांकनमा समाबेश गरी स्थायी भिसा लिनमा सहज बातावरण बनाउने सरकारको निती रहेको बताईएको छ ।

तपाईको प्रतिक्रिया