बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरभित्र आठ आना खाली जग्गा छ । त्यो जग्गा ४१ वर्षदेखि चिहानका रूपमा प्रयोग गर्ने गरिएको छ । फरेन्सिक मेडिसिन विभाग अगाडिको जग्गामा सनाखत नभएका हजारौँ शव गाडिएका छन् ।

६ महिनायता सनाखत हुन नसकेकका एक सय ३७ शवमध्ये असोजमा ८४ र पुसमा ५३ शव खातमाथि खात लगाएर गाडिएका छन् । शव राम्रोसँग नपुरिँदा त्यस क्षेत्र दुर्ग्न्धितसमेत हुने गरेको छ । सरकारले छुट्टै जग्गाको व्यवस्था नगर्दा सनाखत नभएका शव अस्पताल परिसरको खालि जग्गामा गाडिँदै आएको फरेन्सिक मेडिसिन विभागका प्रमुख प्रमोदकुमार श्रेष्ठले बताए । तर, विभागमा परीक्षण गरिएका शव गाड्ने ठाउँ सानो भएकाले समस्या देखिएको छ । पछिल्लो समय सनाखत नभएका शवहरूको संख्यामा वृद्धि भइरहेको फरेन्सिक विभागका प्रोफेसर डा. हरिहर वस्तीले बताए । 

तर, जग्गा अभावमा शव गाड्ने मापदण्ड पूरा नभएको उनको भनाइ छ । आठ आना जग्गामा एकपटकमा ५० शव गाड्न उपयुक्त हुने उनले जानकारी दिए । ‘एकपटक गाडेपछि सदाका लागि त्यस स्थानमा शव गाड्न पाइँदैन । एकले अर्कालाई छुनुहुँदैन,’ प्रोफेसर वस्तीले भने, ‘दुर्भाग्य हामीसँग जग्गा छैन । राज्य बेखबर छ । हामी बाध्य भएर एकै ठाउँमा शव गाडिरहेका छौँ ।’ अहिले चारदेखि आठ फिट खाल्डो खनेर शव राख्ने र पुर्ने गरिएको छ ।

पहिलोपटक सुन्दै छु, बुझेर निर्णय लिन्छुः स्वास्थ्यमन्त्री
‘म पनि पहिलोपटक सुन्दै छु, एक–दुई दिनमै वास्तविकता बुझी निर्णय लिनेछु । यो मानवीय संवेदनाको विषय हो, यसमा सरकारले आवश्यक निर्णय लिनेछु ।’

शव गाड्ने ठाउँ त्यही हो, विकल्प छैनः डा. हरिहर वस्ती
कसैको अस्वाभाविक मृत्यु भए प्रहरीले पोस्टमार्टमका लागि फरेन्सिक मेडिसिन विभागमा ल्याउँछ । कैयौँ शवको सनाखत हुन सक्दैन । त्यस्ता शव विभागले जिम्मा लिँदैन र शव गाडिन्छ । तर, मृत शव गाड्ने ठाउँको कुनै आधिकारिक पहिचान अहिलेसम्म पनि छैन ।

विद्यार्थीलाई नचाहिने भाग खाल्डोमा हालिन्छ
त्रिवि शिक्षण अस्पतालमा एमबिबिएस पढाइ सुरु भएसँगै ०३२ देखि विद्यार्थीको अध्ययनका लागि मृत शरीर वीर अस्पतालबाट व्यवस्था गर्ने गरिएको थियो । विद्यार्थीलाई आवश्यक पर्ने शरीरको भाग राख्ने र बाँकी भाग अस्पताल परिसरको आठ आना जग्गामा गाड्न थालिएको थियो ।

तपाईको प्रतिक्रिया