शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले छोरी डा. निशाकुसुमको बिहेमा शुभकामना दिन गरेको आमन्त्रण स्वीकार गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह शीतलनिवास पुगेका थिए । उनी अपराह्न १२ बजेर ३४ मिनेटमा राष्ट्रपति भवन पुगेका थिए ।

शीतलनिवास पुगेर मुस्कुराउँदै पूर्वराजा ज्ञानेन्द्रले सुरक्षाकर्मीले दिएको पुष्पगुच्छा वर–वधूलाई दिएर बधाई तथा शुभकामना दिएका थिए । स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्रले बेहुलीलाई खाम समेत दिएका थिए । वर–वधूलाई शुभकामना दिएपछि दाहिनेतिर रहेकी राष्ट्रपति भण्डारीलाई नमस्कार गर्दै उनले बधाई भनेका थिए । राष्ट्रपति भण्डारीले पनि मुस्कुराउँदै धन्यवाद भनेकी थिइन् ।

त्यसपछि सुरक्षाकर्मीको सहयोगमा उनी मूल भवनको पछाडिपट्टि रहेको भोजस्थलतर्फ गएका थिए । पूर्वराजा ज्ञानेन्द्र आउने जानकारी पाएर भोजस्थलमा राप्रपा अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र गणेश थापाले उभिएर स्वागत गरेका थिए । एउटै टेबुलमा बसेका पूर्वराजा ज्ञानेन्द्रले उनीहरूसँग दूध हालेको चिया पिउँदै करिब १५ मिनेट बिताए । त्यसक्रममा सामान्य सन्चो–बिसन्चो लगायतका कुराकानी भएको राप्रपा अध्यक्ष थापाले जानकारी दिए ।

कटवाल–महतो घोचपेच
बिहेस्थलमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र पूर्वप्रधानसेनापति रुक्मांगद् कटवालबीच घोचपेच भयो । कटवालले महतोलाई ‘नेपालको नेता हुने प्रयास गर्नुस’ भनेका थिए । महतोले भने ‘नेपालकै नेता हुने कोसिस त गरिराखेकै हो तर दिएनन्’ भन्दै जवाफ फर्काएका थिए । त्यसपछि कटवालले ‘नेपाली जनताले भोट दिएर जिताएका त हुन् नि, होइन र’ भनेका थिए ।

पूर्वराजासँग यसरी छलिए अरू दलका नेता
पूर्वराजा ज्ञानेन्द्र शाहको जम्काभेट राप्रपाका बाहेक अन्य दलका नेतासँग भएन । पूर्वराजा भोजस्थल जाँदै गर्दा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, पूर्वसभामुख सुवास नेम्वाङ, परराष्ट्रमन्त्री डा. प्रकाशरण महतलगायत नेताहरू चौरमा गफिइरहेका थिए । नजिकैको टेबुलमा प्रधानन्यायाधीश सुशीला कार्की थिइन् । तर, उनीहरू कोही पनि पूर्वराजाको नजिक पुगेनन् । ‘पूर्वराजा पुग्नेबित्तिकै तस्बिर लिनेहरूबीच प्रतिस्पर्धाजस्तो देखिए पनि नेताहरूले देखेको नदेख्यै गर्नुभयो,’ एक प्रत्यक्षदर्शीले भने, ‘अलि नजिक भएको भए कुराकानी पनि हुनसक्थ्यो होला, तर कुरा हुन पाएन ।’ पूर्वराजा फर्किएपछि मात्रै नेताहरू ओहोर–दोहोर गर्दै भेटघाटमा सक्रिय भएका थिए ।

तपाईको प्रतिक्रिया