शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाण्डौ – नेपालमा पहिलोपटक जोखिमयुक्त पहिरो न्यूनीकरण कार्यक्रम शुरु भएको छ । सिंचाई मन्त्री दीपक गिरीले आज एक समारोहका बीच कार्यक्रमको उद्घाटन गर्नुभएको हो । जल उत्पन्न प्रकोप व्यवस्थापन विभाग पुल्चोक ललितपुरमा एक समारोहको आयोजना गरी कार्यक्रमको उद्घाटन गरिएको हो । पहाडका ५३ जिल्लामा यो कार्यक्रम शुरु भएको हो ।

गत मंसिर १२ गतेको मन्त्रीपरिषद्को बैठकबाट जोखिमयुक्त पहिरो न्यूनीकरण कार्यक्रम लागू गर्ने निर्णय भए अनुसार आजदेखि कार्यक्रमको विधिबत् सुरुवात गरिएको हो । उद्घाटन कार्यक्रममा बोल्दै सिंचाई मन्त्री गिरीले प्राकृतिक प्रकोपका कारण आउने विपत्ति पछिको अवस्थाका लागि आपत्कालीन कोष बनाएर अघि बढ्ने विषयमा आफू लागिरहेको बताउनुभयो ।

पहिरो रोकथाम गरेर जनधनको क्षति न्यूनीकरण गर्न यो कार्यक्रम सुरुवात भएको उहाँले बताउनुभयो । गेग्रानको रोकथामले पहिरोको तल्लो तटीय क्षेत्र समेतको बचावट गर्न कार्यक्रम प्रभावकारी हुने मन्त्री गिरीको भनाई छ ।

पर्याप्त स्रोत साधन, जनशक्ति, खतरायुक्त ठाउँको पहिचानका लागि गहिरो अध्ययन गरेर कार्यक्रमलाई प्रभावकारी बनाउनतर्फ लाग्न उहाँले निर्देशन दिनुभयो । यो योजनाको कुल अवधि १० बर्षसम्म रहने प्रारम्भिक अनुमान छ ।

जोखिमयुक्त पहिरोहरुको पहिचान, अध्ययन र गुरुयोजना तयारी गर्ने, पहिरोको व्यवस्थापन कार्यका साथै जनचेतनामूलक कार्यहरु सञ्चालन गर्न ५० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको विभागका उपमहानिर्देशक प्रदिप थापाले बताउनुभयो । पहिरो तथा भूक्षयबाट भइरहेको जोखिम, नोक्सानी न्यूनीकरण भई मानववस्ती, कृषियोग्य जमिन र निर्मित भौतिक पूर्वाधारहरुको सुरक्षा गर्ने कार्यक्रमको लक्ष्य रहेको छ ।

कार्यक्रम प्रमुख कौशलकिशोर झाको सभापतित्वमा भएको कार्यक्रममा सिंचाई राज्यमन्त्री सुरेन्द्रराज आचार्य, कृषि तथा जलस्रोत समितिका सभापति मोहन बराल, सांसद् मदनबहादुर अमात्य, सिंचाई मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुर, सिंचाई विभागका महानिर्देशक राजेन्द्रप्रसाद अधिकारी, जलउत्पन्न प्रकोप व्यवस्थापन विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारी लगायतले बोल्नुभएको थियो ।

तपाईको प्रतिक्रिया