शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

चुतुराले – सुत्केरी हुन नसकेर गर्भवती आमा र सङ्क्रमणबाट नवजात शिशुलाई अकाल मृत्युको मुखबाट जोगाउन जनचेतना र व्यवहारमा परिवर्तन गर्नु पर्ने रहेछ भन्ने उदाहरण यहाँका वलामी र दर्जी (नेपाली) समुदायले पुष्टि गरेका छन् ।

सुत्केरी हुन स्वास्थ्य संस्थामा अथवा दक्ष स्वास्थ्यकर्मीबाट नै गराउनुपर्छ र विशेष गरी पाँचवर्ष मुनिका बालबालिका बिरामी हुनेबित्तिकै स्वास्थ्य चौकीमा गइहाल्नुपर्छ भन्ने ज्ञान र सोअनुरुपको व्यवहार ती दुई अति विपन्न समुदायमा मौलाउँदै जाँदा पछिल्लो दुई दशकमा यहाँका एकजना पनि गर्भवती आमा र निमोनिया, मलेरिया, पखाला, कुपोषण र दादुराबाट पाँच वर्षमुनिका बालबालिका अकालमा मृत्यु हुन परेको छैन ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा स्वास्थ्य सेवा लिन आउने पाँच वर्षमुनिका बालबालिका मध्ये प्रत्येक चारजनामा तीनजना बालबालिका ती पाँच रोगमध्ये एकभन्दा बढी रोगबाट पीडित हुने गरेको पाइएको छ । अर्को तर्फ सङ्क्रमण, जन्मदा सास नफेर्नु वा नरुनु, समयअगावै जन्म तथा कम तौलजस्ता मुख्य कारणले नवजात शिशुको मृत्यु र गर्भवतीको अवस्थामा दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा नपाएकै कारण आउने विविध जटिलताबाट गर्भवती आमा पीडित हुने गर्छन् ।

यस गाविसका वडा नं २ र ९ मा ४५ घर वलामी र १० घर नेपालीको बस्ती रहेको छ । पछिल्लो समय यी दुई समुदायका महिला आफू गर्भवती भएको कुरा श्रीमान्, सासू, ससुरालाई भन्दा पहिला महिला स्वयम्सेविकालाई सुनाउँछन् ।

पारिलो घाममा सात महिनाको नवजात शिशुलाई तेल लगाइरहेकी सैलिना वलामीले लजाउँदै भनिन् “के गर्नु गर्भवती (बच्चा पाउने) भो भन्ने कुरा श्रीमान्, सासू, ससुरालाई पहिला भन्यो भने त झाँक्री खोज्न निस्किहाल्छन् । घरमा झाँक्री ल्याइहाल्छन् । झाँक्री देखायो भने देउदेउता खुसी हुन्छन् भन्छन्, मैले श्रीमान्लाई भन्दा महिला स्वयम्सेविका दिदीलाई महिनावारी रोकियो भनेँ ।”

गतवर्ष वलामी समुदायका चार र नेपाली समुदायका तीन गर्भवती महिलाले चतुराले स्वास्थ्य चौकीबाट प्रसूति सेवा लिएका थिए भने १२ भन्दा बढी बालबालिकाले खोप सेवा लिइरहेका छन् । चौकीका प्रमुख सिनियर अहेब जीवन भट्टराई भन्नुहुन्छ– “गर्भवती भएपछि स्वास्थ्य संस्थामा जाँच गराउनुपर्छ, घरमा प्रसूति हुँदा आउने जोखिम, शिशुमा लगाउनुपर्ने खोपको मात्रा, नवजात शिशु र बालबालिकासम्बन्धी रोगका विषयमा ती दुवै समुदायमा ज्ञान रहेको छ । स्वास्थ्य संस्थामा सेवा लिन आउन उनीहरु हिचकिचाउँदैनन् । सेवा लिन आउँछन् ।”

ती दुई वडामा पविता वलामी र सम्झना नेपालीले महिला स्वयम्सेविकाका रुपमा सेवा प्रदान गरिरहनुभएको छ । विसं २०५१ मा स्थापना भएको चतुरालेमा स्वास्थ्य चौकीलाई ती दुई समुदायबाट महिला स्वयम्सेविका तयार गर्न लामो समय लागेको थियो । महिला स्वयम्सेविका सम्झना नेपाली भन्नुहुन्छ– “लौन सम्झना के भो, के भो ? पेट दुख्छ, खान मन लाग्दैन, वाकवाकी हुन्छ, भनेर फोनमा कुरा गर्ने महिलाको घरमा गैहाल्छु । आफूले जानेका कुरा सिकाउँछु र स्वास्थ्य चौकीमा आफैँ लिएर जान्छु, अहिले यहाँका महिला गर्भवती भएको कुरा आफ्ना परिवारलाई भन्दा मलाई पहिले भन्नुहुन्छ ।”

उहाँले आफूलाई समुदायका आधारित नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन कार्यक्रमअन्तर्गत सेभ दि चिल्ड्रनले सुरक्षित प्रसूति सेवा खासगरी नाभी मलमको प्रयोग, नवजात शिशुको स्वास्थ्य स्थितिका बारेमा जानकारी लिन शिशुको पाइताला नाप र आमाको बिगौती दूधको महत्वका बारेमा तालिम दिएको बताउनुभयो । उहाँ भन्नुहुन्छ – “अहिले घरमा नै प्रसूति हुने महिला कोही हुनुहुन्न, प्रसूति हुन स्वास्थ्य चौकीमा नै जानुपर्छ र लानुपर्छ भन्ने महिला र पुरुष सबैमा जानकारी छ ।” उसो त चतुराले गाविसलाई शून्य ‘होमडेलिभर’ घोषणा गर्न लागिएको छ ।

तपाईको प्रतिक्रिया