बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

पोखरा – सहारा क्लब पोखराको आयोजनामा यही माघ ४ देखि १५ गतेसम्म पोखरा रङ्गशालामा हुने १५ औँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगितामा अमेरिकाको एकसहित १२ टोलीको सहभागिता रहने भएको छ ।

पोखरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार अमेरिकाको अना युएसए फुटबल टिम, बंगलादेशको फरासगन्ज एससी र भारतको युनाइटेड सिक्किम फुटबल क्लबले भाग लिने छन् ।

त्यस्तै आयोजक सहारा क्लब, सुदूरपश्चिम ११ स्पोर्टिङ क्लब, धरान फुटबल क्लब, नेपाल एपिएफ क्लब, रमपम झापा ११, संकटा क्लब, नेपाल पुलिस क्लब, लक्ष्मी हुन्डाई मनाङ मस्याङदी क्लब र त्रिभुवन आर्मी क्लब छन् ।

प्रतियोगिताको विजेता टोलीले ५ लाख १ हजार १ रुपैयाँ र उपविजेताले २ लाख ५१ हजार १ रुपैयाँसहित सिल्ड, पदक र प्रमाणपत्र पाउने क्लबका महासचिव केशवराज बरालले जानकारी दिनुभयो ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई नेपाल जनरल मार्केटिङ प्रालिद्वारा प्रायोजित एक थान ड्यास हिरो स्कुटर, प्रतियोगिता अवधिभर टिकट काटी अवलोकन गर्ने दर्शकमध्ये एक जनालाई गोलाप्रथाद्वारा एक तोला सुनको सिक्का र एलजी टेलिभिजन प्रदान गरिने क्लबका अध्यक्ष वीरभद्र आचार्यले बताउनुभयो ।

यस्तै बेस्ट किपर, डिफेन्स, मिड फिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई पनि नगद पुरस्कार दिइने छ । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिद्वारा उत्पादित एक लाख रुपैयाँ बराबरको रारा तथा अन्य विभिन्न चाउचाउ पनि टिकटका दर्शकलाई वितरण गरिने कार्यक्रम छ ।

हङकङ निवासी समाजसेवी देव गुरुङले क्लबलाई ५१ हजार एक सय ११ रुपैयाँ सहारा क्लबलाई सहयोग गर्नुभएको छ । ‘रेडियो अन्नपूर्ण’का कार्यकारी प्रमुख दीपेन्द्र श्रेष्ठले आइतबार उक्त रकम बराबरको चेक क्लबका अध्यक्ष वीरभद्र आचार्यलाई हस्तान्तरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया