मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

अन्तर्राष्ट्रिय रुपमा प्रचलित क्यालेण्डर इस्वी संवतको २०१६ हामीबाट विदाइ भएर गईसकेको छ । अघिल्लो वर्षभरि भएका उपलब्धीहरुको लेखाजोखा गर्दै नयाँ वर्षमा नयाँ उमंगका साथ नयाँ नयाँ योजना व्यक्तिदेखि राष्ट्रसम्मले बनाउनु स्वभाविक प्रक्रिया हो । हामी प्रवासमा बस्ने नेपालीहरु बसाई जहाँ भए पनि चिन्ता र चासो भने नेपालकै बढी छ ।आफू बसेको मुलुकको प्रगतिलाई टुलुटुलु हेर्ने मात्र नभएर कतिपय अवस्थामा तिनका अंग पनि हामी नेपालीहरु बनिरहेका छौं । राजनीतिक गतिविधि विकासका तौरतरिका अनि जनताका लगनशीलता र इमान्दारिताबाट धेरै शिक्षा हामी नेपालीहरुले पनि पक्कै लिएका छौं । तर ति अनुभवहरुलाई समग्र राष्ट्रहितका निम्ति प्रयोग गर्ने र देश विकासका मोडलहरु बनाउने वातावरण बन्न सकेको देखिदैंन ।

सकारात्मक परिवर्तनका लागि देशका सरकार राजनीतिक दल प्रशासन लगायत जिम्मेवार निकायलाई खवरदारी गर्दै जनतालाई सचेत गराउनु आवश्यक छ । यसो गर्न सकियो भने मात्र देशबाहिर बस्ने नेपालीहरुले कल्पना गरे अनुसार देशले समृध्दिको बाटो समात्न सक्छ । तर संगठित रुपमा यो अभियानलाई कसरी अगाडि बढाउने भन्ने चुनौती आफ्नै ठाउँमा छ । गैरआवासीय नेपाली संघ नै यस कार्यका लागि एकमात्र उपयुक्त संस्था हो । तर यो संस्था पनि नीतिगत तहमा आफ्नो उपस्थिति देखाउने गरी सक्रिय हुन सकेको छैन । नेपालकै राजनीतिक दलहरुकै कार्यशैली र प्रकृतिसंग यो संघको गतिविधि मिल्दोजुल्दो देखिनु निराशाजनक अवस्था हो ।

नेपालमा किन विकासको गति जनअपेक्षा अनुसार हुन सकिरहेको छैन भन्ने बहस नै सही ढंगबाट हुन सकिरहेको देखिदैन । काम हुनु त परैको कुरा हो । राजनीतिक दलहरु राजनीतिक मुद्दाहरुको मात्रै पनि सही व्यवस्थापन गर्न सकिरहेका छैनन् । अधिकांश साना ठूला सबै दल यस संक्रमणको कालखण्डमा सत्ता र प्रतिपक्षको अनुभव बटुलेका छन् । तर पनि सँधै एक आपसमा आरोप प्रत्यारोपको फोहरी खेल बाहेक केही देखिदैन । मिलेर राष्ट्रहितमा लागिपर्ने वास्तविक अठोट सहितको सक्रियता कसैले देखाउन सकेको छैन । महान उद्देश्यका साथ ज्यानको बाजी लगाएर परिवर्तनको शंखघोष गर्नेहरु पदीय भागवण्डा र सत्ताको लोभलालचले छिन्न भिन्न भएका छन् । भाइ भाइ फुटेका छन् ।

कुनै समय टाउकाको मोल तोक्नेहरु र तिनलाई ज्यानै लिने उद्देश्य साथ धराप थाप्दै हिंड्नेहरु बीच सहकार्य चलिरहेको छ । आपसमा शत्रुवत व्यवहार गर्नेहरु पनि देशहितका लागि एकै ठाउँमा उभिनु सुखद संयोग हो । तर देशको कुन स्वार्थले तिनलाई फुटाउने र मिलाउने गरेको छ भन्ने कहीं कतै देख्न सकिएको छैन । वर्ष नयाँ नयाँ आईरहेका छन् गईरहेका छन् तर हामी जहाँको तहीं छौं भन्दा अत्युक्ति हुने अवस्था छैन । वर्षौदेखिका समस्या र राजनीतिक मुद्दाहरु जस्ताका तस्तै छन् । अव पनि सँधै यसरी नै दिन गुजार्दै जानुहुँदैन । सबैले गम्भीरतापूर्वक सोच्नु जरुरी छ ।

देशभित्र समस्या भए बाहिरकाले समाधानमा पहल गर्नुपर्‍यो । देश बाहिर बसेकाहरुको ज्ञान, सीप र पूँजीलाई अधिकतम उपयोग गर्ने गरी देशभित्र वातावरण बनाउनुपर्‍यो । नयाँ वर्ष २०१७ नेपाल र नेपालीको सही अर्थमा समृध्दि तर्फो ठोस पाईला चाल्ने वर्ष बन्न सकोस् हाम्रो यही छ शुभकामना । ***

तपाईको प्रतिक्रिया