शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौँ –  प्रधानमन्त्री पुष्पकमल दाहालले विज्ञान प्रविधिको समूचित उपयोग गरी राज्यको विकास र समृद्धि कायम गर्न सक्ने बताउनुभएको छ ।

नेपाल राष्ट्रिय इन्जिनियर सङ्गठनको प्रथम राष्ट्रिय सम्मेलन तथा एकता भेलाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले पूर्वाधार निर्माण तथा विकासमा प्राविधिकको महत्वपुर्ण भूमिका रहेको बताउनुभयो । उहाँले भूकम्पपछिको पुनःनिर्माणमा खटिएका इन्जिनियरको सुरक्षा र आवश्यकतालाई सरकारले विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले देशको समृद्धि र राजनीतिक गतिरोधका सन्दर्भमा सही सन्देश दिन पनि यस सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले मुलुकको विकासका लागि सबै दलको साझा दृष्टिकोणको खाँचो रहेको औँल्याउँदै प्राविधिक जनशक्तिलाई स्वदेशमा नै उपयोग गर्नुपर्ने बताउनुभयो ।

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले मुलुकलाई स्वाधीन र आत्मनिर्भर बनाउन दक्ष प्राविधिक जनशक्तिको आवश्यकता रहेको उल्लेख गर्दै निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमका लागि २४० इन्जिनियर र प्रत्येक निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र विकास कार्यक्रममा कम्तीमा एक र बढीमा तीन जनासम्म इन्जिनियरलाई रोजगारीको सिर्जना गरिएको बताउनुभयो ।

नेपाल इन्जिनियर एसोसिएसनका अध्यक्ष हरिराम श्रेष्ठ, वरिष्ठ इन्जिनियर डा जीवराज पोखरेललगायतले इन्जिनियरको क्षमता अभिवृद्धि गर्न व्यावसायिक तालिमको जरुरी रहेको विचार व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया