शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – चर्चित हास्यकलाकार दम्पती सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) अहिले समाजसेवामा सक्रिय छन । कलाकारितालाई केही समय विश्राम गराएर गोरखा भूकम्पपछि काभ्रेमा लोपोन्मुख पहरी जातीका एकीकृत बस्ती निर्माण र हालसालै सिन्धुपाल्चोकको गिरान्चौरमा बस्ती निर्माण गरेर उनीहरुले देश तथा बिदेशबाट स्याबासी पाईरहेका छन ।

हालै मात्र उनीहरुले महोत्तरी जिल्लाको मुसहर बस्ती निर्माण गर्ने घोषणा गरिसकेका छन भने सिंगो देशलाई बालमैत्री बनाउने अभियानका साथ बिभिन्न जिल्लाहरुमा आफूहरुले निर्माण गरेको चलचित्र ‘ज्योती’ प्रदर्शन पनि गरिरहेका छन । यसै बिषयमा केन्द्रित रहेर समुद्रपारि डटकमका लागि सहकर्मी गोविन्द मरासिनीले उनै कलाकार धुर्मुससँग गरेको कुराकानी : गिरान्चौर बस्ती निर्माण त सकियो, अहिले के गर्दै हुनुहुन्छ ?
अहिले हामी सिंगो देश बालमैत्री हुनुपर्छ र देश बालमैत्री भईसकेपछि मात्र अहिलेको जस्तो अराजकता हुँदैन, स्थीर राजनीति हुन्छ र देश बन्छ र बनाउनुपर्छ भन्ने सोचका साथ अघि बढिरहेका छौं । अब पनि हामीले देश बनाउने तर्फ उन्मुख भएर सोचेनौं भने अब आउने नयाँ पुस्ताहरुलाई पनि निकै गाह्रो हुन्छ । आज बन्ला, भोली बन्ला भन्दाभन्दै देश नबनेको अवस्थामा बिशेषतः हामी युवाहरु र बालबालिकाबाटै देशको भविष्य खोजिनुपर्छ भनेर सिंगो देशलाई बालमैत्री बनाउने अभियान अन्तर्गतको हामीले निर्माण गरेको ‘ज्योती’ नामक बालचलचित्र प्रदर्शनीको क्रममा बिभिन्न जिल्लामा दौडिरहेका छौं ।

अबको योजना यहि नै हो ?
हाम्रो मात्र नभई समग्र नेपाली दाजुभाइ दिदीबहिनीको एउटा सपना साकार गर्न देशलाई बालमैत्री कुनै पनि हालतमा बनाउनुपर्छ र त्यसका मुख्य अभियान्ता भएर हामी लागे पनि हाम्रो अभियानमा सबै एकजुट भएर लाग्नुपर्छ भन्ने हाम्रो मुख्य योजना हो । यसबाहेक हामीले हालसालै तेस्रो एकीकृत बस्ती निर्माण पनि घोषणा गरेका छौं । जसअनुरुप हामीले महोत्तरी जिल्लाको मुसहर बस्ती बनाउने छौं ।

कलाकारिता छाडेर के का लागि समाजसेवा तिर ?
कलाकारिता पूरै छाडेको होईन, राष्ट्र निर्माणका लागि नयाँ अभियानहरुको सुरुवात गरेको हो । समाजसेवातिर लाग्नुमा केही स्वार्थ छ भने त्यो राष्ट्र निर्माणका लागि मात्र हो अरु कुनै स्वार्थ छैन ।

राजनीतिमा जाँदै हुनुहुन्छ भन्ने सुन्यौं नि ?
त्यस्तो कुनै मनसायले कलाकारिता गरेको थिईन र त्यै मनसायले कलाकारिताबाट अगाडी बढेर समाजसेवातिर लागेको पनि हैन । अहिले जति पनि कामहरु गरिएका छन्, भोलिका दिनमा राजनीतिमा आउनका लागि भनेर गरिएका पनि होइनन् । देश काल परिस्थिति अनुसार देश दुखेका बेलामा सहयोगी बन्नुपर्छ भनेर नै अगाडी बढिएको हो । यद्यपी देशलाई कुशल नेतृत्वको खाँचो भने छ, देश बनाउने अभियान्ताको खाँचो छ । भोलिका दिनहरुमा नेपाली दाजुभाइ दिदीबहिनीले देश बनाउने अभियान र नेतृत्व लिनेमा योग्य, कुशल ब्यक्तिको छनोट गर्ने क्रममा हामीलाई त्यसको अफर आयो भने गर्न नसक्ने चाहिँ होइन । तर, तत्कालै कुनै राजनीतिक पार्टीमा आबद्ध भएर चुनाव लड्ने र राजनीतिमै आउने सोचाईमा यी काम गरिएका भने होइनन् ।

बस्ती निर्माण गरेबापत नाम त खुबै कमाउनु भयो, दाम चाहिँ कत्तिको कमाईयो ?
यो बस्ती निर्माण कुनै दाम कमाउनलाई गरिएको थिएन । कलाकारिताबाट नामसँगै केही दाम कमाएका थियौं । जुन दर्शकले दिएको उपहार दाम थियो, त्यसले हामीले एउटा घर बनाएका थियौं त्यो घरपनि भूकम्पपीडितका लागि सहयोग गर्नकै लागि बेच्यौ । यहाँहरुलाई थाहा नै छ, हामी अहिले सानो जग्गामा घर बनाएर बसेका छौं । हामीलाई ठूलो दाम कमाउँ ऐशआराम गरौं, पीडितका लागि राजनीति गरौं अथवा पीडितका नाममा उठेको पैसा दुरुपयोग गरौं, महल ठड्याऔं भन्ने अपराधी दिमाखले कहिल्यै पनि अगाडी बढेका होइनौं । र, बस्ती बनाईसकेपछि सबभन्दा ठूलो आशिर्वाद पायौं ।

गिरान्चौर बनाउँदाको आम्दानी र खर्च विवरण कहिले सार्वजनिक हुन्छ ?
एक त हस्तारन्तरण कै दिन पनि सार्वजनिक भएको हो । ५ करोड पुरा भैसकेपछि हामी पैसा लिन्नौं भनेका थियौं । तर हामीलाई धेरै विश्वास गरेर सहयोगी हातहरुका कारण हाम्रो एकाउण्टमा ६ करोड १७ लाख जम्मा भयो र ५ करोड १३ लाख त्यो बस्ती निर्माणमा खर्च भयो । त्यसको अडिट रिपोर्ट पनि तयार भइरहेको छ छिट्टै अडिट रिपोर्ट पनि सार्वजनिक गर्छौं । 

अहिले तपाईको फाउण्डेशनमा कति पैसा छ ?
लगभग १ करोड पैसा फाउण्डेशनमा बाँकी छ । त्यो एक करोडले भोलिका दिनमा हामीले के गर्ने भन्ने बिषयमा छलफल गरिरहेका छौं । त्यो रकमबाट पनि अर्थपूर्ण काम गर्ने सोच छ ।

तपाईले गरेका कार्यले कोहि कसैलाई प्रोत्साहन मिल्यो कि मिलेन ?
कोही कसैलाई प्रोत्साहन भन्दा पनि हामीले जुन एकीकृत बस्तीको अवधारणा ल्याएका थियौं त्यो एकीकृत बस्ती बिकास गर्नका लागि बिभिन्न जिल्लामा आफै नै स्थानीय महानुभावहरु सक्रिय भएर रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे लगायतका ठाउँहरुमा एकीकृत बस्ती बिकासको सुरुवात गर्नका लागि समाज एकीकरण हुँदै अगाडी बढेको देख्दा अत्यन्तै खुसी लाग्यो ।

अब नयाँ टेलिसिरियलबारे के छ योजना ?
मेरी बास्सै हाम्रो कारणले रोकिएको होइन । नेपाल टेलिभिजन र मिडिया हबको आन्तरिक लेनदेनको कारणले रोकिएको हो । अब उहाँहरुको लेनदेन मिलिसकेपछि मात्रै हामी अगाडी बढ्ने बाटो खुल्छ ।

समाजसेवी सहित अब दर्शकले कहिले देख्न पाउलान त टेलिसिरियलमा ?
चाँडै देख्नुहुन्छ । हाम्रो धुमुर्स–सुन्तली डट कम युटुब च्यानलबाट पनि हामीले समसामयिक बिषयहरु समेटेर अगाडी जाने बिचारमा छौं । मेरी बास्सै चाँडै खुल्ला त्यसमा पनि हामी आइएला आशा गरौं । समग्रमा एउटा चलचित्र बनाएर अगाडी बढ्ने कि भन्ने सोच पनि बनाउँदै छौं । हाम्रो मुख्य पेशा नै यही भएकाले कलाकारिता पेशाबाट टाढा हुन सक्दैनौं । हाम्रो यात्रा कलाकारितासँगै समाजसेवा निरन्तर हुन्छ र अन्तिम गोल भनेको राष्ट्र निर्माण गर्ने नै हो ।

तपाईकै सहकर्मी दिपक/दिपाले चलचित्रबाट करोडौं कमाए । तपाईलाई कहिँकतै पछुतो त लागेको छैन नी ?
हामीलाई त्यस्तो केही पनि पछुतो छैन । हामी जे गरिरहेका छौं त्यो देशको हितका निम्ती गरिरहेका छौं । हामी तत्कालै ब्यबसायिक हिसाबमा यसरी बढ्नुपथ्र्यो, यति कमाउनुपथ्र्यो भनेर हामी कहिल्यै पैसामुखी भएर अगाडी बढेका पनि हैनौं । झन् हाम्रो आदरणीय दाइहरुले निर्माण गरेको र हामी पनि सहभागी भएको फिल्मले करोडौं कमाइरहँदा खुसी लागेको छ ।

अन्त्यमा, प्रवासमा रहने नेपालीहरुको सहयोग कस्तो रह्यो ?
प्रवासमा रहने नेपालीबाट यति धेरै सहायता भयो । त्यो सहायताले प्रवासमा रहने नेपालीहरु यति धेरै मनकारी, सहयोगी र देशप्रेमी हुनुहँुदो रहेछ भन्ने पुष्टि भयो । यसको अर्थ स्वदेशमा बस्ने हुनुहुन्न भन्न खोजेको चाहिँ होइन । बिशेषतः यो अभियानलाई आफ्नै अभियान सम्झेर, आफ्ना देशका ब्यक्तिहरु पीडामा हुँदा एक छाक कटाएर कतिले चाहि आफ्नै घर भत्कदा पनि गिरान्चौर बन्नुपर्छ भनेर सहायता गर्नुभा’छ सबैलाई धन्यवाद र आभार प्रकट गर्न चाहान्छु । भोलीका दिनमा पनि हाम्रा हरेक अभियानहरुमा हाम्रा हरेक पाइलामा यहाँहरुको सहयोग हुने छ भन्ने बिश्वास लिएका छौं । हामीले भन्दै आएका छौं ‘राष्ट्र निर्माण तपाई हाम्रो अभियान’ तपाई हामीले अब देश बनाउने बेला आएको छ ।

तपाईको प्रतिक्रिया