कलाकारहरुको राजनीति मोह (सम्पादकीय)

नेपाली राजनीतिमा कलाकारहरुको प्रवेशको बिषयले निकै चर्चा पाउने गर्दछ । केही हप्ता अगाडि मात्र एक कालखण्डकी चर्चित लोकगायिका कोमल वली राप्रपामा प्रवेश गरेकीछिन् । गायिका वलीको पदचाप पछ्याउँदै लगत्तै समकालिन सिनेजगतकी चर्चित नायिका रेखा थापा पनि राप्रपामा प्रवेश गरेकीछिन् । उसो त उनको नाम तत्कालिन एनेकपा माओबादीदेखि नै परिवर्तित सोही पार्टीसंग जोडिदै आएको भए पनि हाल नयाँ क्याम्प परिवर्तन गरेर फेरि थप चर्चामा आएकी हुन् । उसो त गत संबिधान सभाको निर्बाचनताका नै नाम चलेका कलाकारहरुलाई सभासदका लागि टिकट दिएर वा समानुपातिकमा राखेर आफुतिर तान्ने कसरत दलहरुले अन्तिमसम्म गरेकै हुन् ।
नेपालका नाम चलेका कलाकारहरु मध्य कतिपय घरगृहस्थीतिर लागेका छन् भने कतिपय परदेशमा हराउन पुगेका छन् । सरोज खनाल जस्ता कतिपय भने दशकौ बिदेश बसेर पनि फेरि नेपाल फर्केर राजनीतिमै रमाउन थालेका छन् । यसैगरी नाम चलेका केही कलाकारहरु आफ्नो ढल्कदो उमेरलाई पनि ख्याल गर्दै कलाकारिताबाट आर्जन गरेको फेस भ्यालुलाई राजनीतिमा उपयोग गर्ने मनस्थिति बनाएर पार्टी प्रवेश गरिरहेका छन् । कतिपय भने आफु राजनीतिमा जोडिन पटक्कै रुचाउँदैनन् ।

नेपालका थोरै तर उत्कृष्ट र सफल कलाकारहरु राजनीतिमा खुलेर लाग्नुले नेपाली समाजमा ठुलो अर्थ राख्दछ । भुवन केसीले यसअघि नै आफुलाई एमालेसंग जोडेका छन् भने करिश्मा मानन्धर नयाँ शक्तिमा प्रवेश गरेको धेरै भईसकेको छ । पछिल्ला दिनमा गायिका कोमल र रेखा राप्रपामा प्रवेश गरेसंगै कलाकारहरु पनि सिंगो देशप्रतिको जिम्मेवारीमा मुल प्रवाहसंग जोडिनुपर्छ भन्ने नयाँ सन्देश दिएका छन् ।

कला क्षेत्रले चाहने हो भने समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्न सक्दछ । तर हामीकहाँ यस्तो अभ्यास त्यति हुन सकेको छैन, जति अपेक्षित छ । राजनीतिलाई समृद्ध र मर्यादित बनाउन कलाकारहरुले सक्रियता बढाउनु सकारात्मक र स्वागतयोग्य कुरा हो । कलालाई सम्मान गर्नु राजनीतिको दायित्व हो तर यो सँस्कृति हामीकहाँ अझै मौलाएको छैन । राजनीतिमा आवश्यक परेको बेला कलाक्षेत्र भरपुर प्रयोग हुँदै आएको छ, जसअनुसार चुनावका बेला कलाकारहरु पार्टीको झण्डा बोकेर खुलायम प्रचारप्रसारमा गाउँदै नाच्दै हिडेको देख्न सकिन्छ । यसप्रकारको क्रियाकलापलाई नेपाली समाजले त्यति सजिलै पचाउन भने सकेको देखिदैंन । कलाकारहरु एउटा निश्चित बिन्दुसम्म सबैको साझा हुन सक्नुपर्दछ न कि, कुनै दलबिशेष वा नेताको हनुमानी । एउटा समय आएपछि घोषितरुपमै कुनै दलबिशेषको जिम्मेवार सदस्य बन्न सबैलाई छुट छ, जसरी कोमल र रेखाले गरेका छन् ।

अहिलेसम्मको अभ्यासलाई हेर्दा राजनीतिले कला क्षेत्रलाई भरपुर उपयोग गरेको भए पनि कला क्षेत्रमा विद्यमान समस्या र यसभित्रका फोहर सफा गर्नतिर भने राजनीति गर्नेहरुको कहिलै ध्यान गएको देखिदैंन । हुन त यसमा कलाकारहरु पनि उत्तिकै जिम्मेवार छन् । समाजलाई सँधै चलायमान बनाईराख्ने एवं सजगताको खबरदारी गर्ने सचेत कलाकारहरु कुनै पनि बहानामा ’युज एण्ड थ्रो’ हुनुहुंदैन । यसले नेपाली कला क्षेत्रलाई पटक्कै फाईदा गर्दैन ।

२०७४ सालको माघभित्रै तीनवटै चरणका निर्बाचन गरिसक्नुपर्ने संबैधानिक ब्यवस्था छ । आगामी निर्बाचनसम्ममा नेपाली कला क्षेत्रका नाम चलेका अरु थुप्रै कलाकारहरु राजनीतिमा प्रवेश गर्ने संभावनालाई नकार्न सकिदैंन । अब हुने तीनै तहको निर्बाचनमा ठूलो हिस्सा युवाहरुको सहभागिता रहने देखिन्छ । जसमा सबै क्षेत्र र वर्गको प्रतिनिधित्व हुने अपेक्षा गर्न सकिन्छ, जसले नयाँ नेपालको झल्को दिन सकोस् ।***

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित