बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बैतडी – बैतडीमा पहिलोपटक बिहीबारदेखि स्वास्थ्य बीमाको दर्ता प्रक्रिया सुरु हुने भएको छ ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति बैतडीले बुधबार पत्रकारसम्मेलनको आयोजना गरी स्वास्थ्य बीमाको दर्ता प्रक्रिया सुरु हुने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा. गुणराज लोहनीले गरिब नागरिकको स्वास्थ्य सेवामा पहुँच पु¥याउनका लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याइएको बताउनुभयो ।

देशका तीन जिल्ला कैलाली, बाग्लुङ र इलाममा सञ्चालन गरिएको यो कार्यक्रम सुदूरपश्चिमका बैतडी र अछामसहित २५ जिल्लामा विस्तार गरिने उहाँले बताउनुभयो ।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँचजनाको परिवारले दुई हजार पाँच सय जम्मा गर्नुपर्ने र एक वर्षसम्म ५० हजार उपचार निःशूल्क रुपमा प्राप्त गर्ने निर्देशक लोहनीले जानकारी दिनुभयो ।

यस्तै, पाँचजना भन्दा बढी परिवारका सदस्य भएमा चार सय २५ रुपैयाँका दरले थप शूल्क तिर्नुपर्ने उहाँले बताउनुभयो ।

बैतडीमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि ७० जना दर्ता कर्मचारी छनौट गरिएको र उनीहरुले प्रत्येक घरदैलोमा गएर स्वास्थ्य बीमाका बारेमा जानकारी गराउनाका साथै सदस्यता वितरण गर्ने सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति बैतडीले जनाएको छ । पुस महिनाभरि दर्ता भएकाले फागुनदेखि स्वास्थ्य बीमाको सेवा पाउने बताइएको छ ।

तपाईको प्रतिक्रिया