बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौँ – राजधानीको बल्खु, कुलेश्वर, कालीमाटी, ताहचल र त्रिपुरेश्वरलगायत क्षेत्रमा चोरी, डकैती, लुटपाट, ठगी र लागूऔषध प्रयोग तथा कारोबार नियन्त्रण गर्न प्रहरीले अभियान सञ्चालन गरेको छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटीले अभियान सञ्चालन गरेको हप्ता दिनमा विभिन्न मन्दिरबाट चोरी भएका पुरातात्विक मूर्ति १२ थान, आठ किलो चरेस, विषाक्त मदिरा १८ हजार लिटर, गरगहना लुटेरा र साइकल चोरलाई नियन्त्रणमा लिएको छ ।
वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज अधिकारीले सर्वसाधारणको गुनासोभन्दा पनि शङ्कास्पद व्यक्तिमाथि निगरानी, गल्ली तथा बस्तीहरू खानतलासी गर्नेक्रममा यस्ता अवैध कार्यमा संलग्न व्यक्ति रङ्गेहात पक्राउ परेको जानकारी दिनुभयो ।

कालीमाटी तरकारी बजारक्षेत्र आसपास लागूऔषध सेवन हुने गरेको सुराकीका आधारमा नियमित चेकजाँचका क्रममा प्रहरीले चरेस बनाउन प्रयोग हुने कच्चापदार्थ एक किलोसहित मकवानपुर टिस्टुङका सुजन तामाङलाई नियन्त्रणमा लिएको छ ।

उनको पक्राउसँगै चन्द्रागिरिस्थित तामाङको कोठामा छापा मार्दा थप सात किलो चरेस बनाउन तयार पारिएको कच्चापदार्थ बरामद भएको जानकारी वृत्त प्रमुख अधिकारीले दिए । उनको पक्राउसँगै कालीमाटी तरकारी बजार आसपासका क्षेत्रमा चरेस सेवन घटनामा कमी आएको प्रहरीको दाबी छ ।

तपाईको प्रतिक्रिया