शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – सत्तारुढ कांग्रेस–माओवादी केन्द्रले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक संसदीय प्रक्रियाअनुसार नै अगाडि बढाउने भएका छन् ।

मधेसी मोर्चाका नेताहरूसँग प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको छलफलमा सत्तारुढ दल संशोधन प्रक्रिया अगाडि बढाउने निष्कर्षमा पुगेका हुन् ।

प्रमुख प्रतिपक्षी एमालेलगायतका दलले विधेयक फिर्ता लिन गरिरहेको आग्रहलाई अस्वीकार गर्दै सत्तापक्षले संसद्को निर्णय स्विकार्ने गरी संशोधन प्रस्ताव संसदीय प्रक्रियामा लैजाने विश्वास मधेसी मोर्चाका नेताहरूलाई दिएका हुन् ।

‘तपाईंहरू ढुक्क हुनुहोस, विधेयक फिर्ता पनि हुन्न, थाती पनि राखिँदैन, प्रक्रियामा अगाडि बढाइन्छ,’ बैठकमा प्रधानमन्त्री प्रचण्डको भनाई उद्धृत गर्दै राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले भन्नुभयो, ‘विधेयक फिर्ता लिने, थाती राख्ने विषयमा कोही–कसैसँग सम्झौता गरिँदैन ।’

मोर्चासँगको छलफलपछि सत्तारुढ कांग्रेस–माओवादीले संविधान संशोधन विधेयक संसदीय प्रक्रियाअनुसार कार्यसूचीमा लैजान सभामुखलाई आग्रह गर्ने भएका छन् ।

विधेयक पारित भए वा नभए पनि अगाडि बढाउने निर्णय भएको बैठकपछि माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया