शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – लैनचौरका २० वर्षीय विवेक पढाइमा अब्बल थिए । एसएलसीसम्म उनी आफ्नो विद्यालयमा प्रथम भए । कलेज पढ्न थालेपछि भने उनको पढाइ कमजोर हुँदै गयो । राजधानीकै एउटा चर्चित कलेजमा विज्ञान विषय अध्ययन गरिरहेका लामाको १२ कक्षामा विषय ब्याक लाग्यो ।

बुबा–आमा व्यापारी भएकाले उनका लागि राम्रो कलेजमा अध्ययन गर्नु र महँगो मोटरसाइकल चढ्नु नयाँ कुरा थिएन । अभिभावकले पनि एक्लो छोराको पढाइ राम्रो होस् भन्नका लागि प्रायः सबै माग पूरा गरिदिएका थिए । छोराका क्रियाकलापबारेमा पटक्कै ध्यान दिएका थिएनन् ।

अभिभावकले छोराका क्रियाकलापसम्बन्धमा हेक्का नराख्दा कलेज पढ्दै गरेका विवेक अहिले मासिक १२ हजार शुल्क तिर्नेगरी कलेज नभई सुधार–गृहमा पु-याइएका छन् |  लागू औषधको कुलतमा फसेका विवेक यतिखेर अभिभावकका लागि दुःख र पीडाका भारी बनेका छन् ।

त्यस्तैं, काठमाडौँको महाराजगञ्जमा रहेको शिक्षण अस्पतालमा स्टाफ नर्सको पदमा कार्यरत एउटी आमाको पीडा पनि विवेकका आमा–बुबाको भन्दा कम छैन । आफू डाक्टर बन्न नसके पनि छोरा–छोरीलाई डाक्टर बनाउने उनको सपना विपनामा परिणत हुन सकेन ।

पढाइ राम्रो हुने आशले ‘बोर्डस’ गरेका छोरा र छोरी लागू औषधको कुलतमा फसेपछि व्यापारको सिलसिलामा अष्ट्रेलियामा रहेका श्रीमानलाई समेत फिर्ता बोलाएर छोराछोरीलाई कुलतबाट छुटाउन विदेश पठाउने निर्णयमा उनी पुगिन ।

त्यो निर्णय कार्यान्वयन हुन सकेन । अन्ततः सुधार–गृहमा पठाउनुपर्ने बाध्यता आइलाग्यो । यी दुई घटना लागू औषधको कुलतमा फसेका युवाका परिवारले भोग्नुपरेका पीडाका उदाहरण मात्र हुन् ।

काठमाडौंमा मात्र करिब ८० हजार युवायुवती लागू औषधको कुलतमा फसेको तथ्याङ्क सार्वजनिक भएको छ । आर्थिकरूपले अवस्था कमजोर भएकाभन्दा पनि राम्रो भएका परिवारका छोराछोरी कुलतमा फस्ने समस्या बढी देखिएको छ । अभिभावकले छोराछोरीका क्रियाकलापमा समयमै चासो नदिँदा घरपरिवार उजाड जस्तै बन्नेगरेका छन् ।

छोराछोरीको उज्ज्वल भविष्यका लागि दुःख गर्ने अभिभावकले आफ्ना सन्तानका क्रियाकलापप्रति समय–समयमा चासो नराख्दा लागू औषधको कुलतमा फस्ने समस्या बढेको हो । प्रहरी प्रधान कार्यालय, लागू औषध नियन्त्रण ब्युरोमा कार्यरत प्रहरी नायब उपरीक्षक अपिल बोहरा भन्छन् , “लागू औषधले कतिपयको घर–परिवार उजाड बनेको छ । ”

तपाईको प्रतिक्रिया