बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – अमेरिकामा रहेका एनआरएन नेपालीले प्रवर्द्धन गरेको स्टार्टअप कम्पनी सगुनले मिनीआइपिओ जारी गर्ने तयारी गरिरहँदा एनआरएन नेपाली माझ त्यसको चर्चा हुन थालेको छ । नेपालबाट कानुनी रुपमा विदेशमा लगानी गर्न नपाएपनि विदेशमा रहेका एनआरएनहरुमा भने सगुनमा गर्ने लगानीको अवसरका बिषयमा चर्चा हुन थालेको छ ।

एनआरएनले प्रवद्र्धन गरेको सगुन अमेरिकी कानुन अनुसार मिनि आइपिओ जारी गर्न लागेको सम्भवतः पहिलो कम्पनी हो । सामाजिक सञ्जाल सगुनमा लगानीको अवसर खुल्ने चर्चासँगै जापानमा रहेका नेपालीहरुमा पनि कौतुहलता देखिएको छ । जापानमा रहेका नेपालीहरु अध्ययन र विभिन्न पेशामा संलग्न छन् । त्यस अतिरिक्त उद्यमी र व्यवसायीका रुपमा पनि नेपालीहरु जापानमा चिनिन्छन् । जापानमा रेष्टुरेण्ट व्यवसायमा धेरै नेपालीहरु संलग्न रहँदैं आएका छन् । जापानमै रेष्टुरेण्ट व्यवसायमा संलग्न अञ्जु पाण्डे आफूहरु पनि सगुनमा लगानीको लागि प्रतिक्षारत रहेको बताउँछिन् । जापानमै क्यूएस रेमिटका सञ्चालका रहेका शुरेस गिरीले आफूहरुको रेमिट्यान्समा पनि सगुनमा लगानीको लागि चासो राखेर सोध्नेहरु आएको बताउँछन् ।

सन् २०१४ मा सुरु भएको सगुन मिनि आइपिओ जारी गर्ने पहिलो सामाजिक सञ्जाल पनि हुने भएको छ । यसअघि अमेरिकी कानुन ‘रेगुलेसन ए–प्लस’ अन्तर्गत अरु सामाजिक सञ्जालले आइपिओ जारी गरेका छैनन् । यति मात्रै होइन, सगुनले मिनि आइपिओमा पनि एनआरएनहरुलाई नै प्राथमिकतामा राखेको देखिएको छ । एनआरएनहरुको अत्याधिक स्वामित्व भएको सामाजिक सञ्चालको रुपमा सगुनलाई ग्लोबल कम्पनी बनाउने उद्धेश्यले एनआरएनहरुलाई नै मिनि आइपिओमा लगानीको लागि प्राथमिकतामा राखि प्रेरित गरिएको सगुनले बताउँदै आएको छ।

सगुनले ‘मिनी आइपीओ’ जारी गर्नको लागि अमेरिकी ‘सेक्युरिटी एक्चेन्ज कमिसन’मा आवेदन गरेपछि यसको प्रक्रिया शुरु भइसकेको छ। अमेरिकाले सन् २०१२ मा प्राइभेट कम्पनीले पनि सर्वसाधारणबाट लगानी जुटाउन सक्ने कानुन ल्याएको थियो । त्यही कानुनको अधिनमा रहि स्टार्टअप कम्पनीको रुपमा सुरु भएको सगुन विश्वभरीबाट सर्वसाधारणको लगानी जुटाएर ग्लोबल कम्पनी बन्न लागेको हो । 

कस्तो सामाजिक सञ्जाल हो सगुन ?

‘कनेक्ट, शेयर, अर्न’लाई मूख्य स्लोगन बनाएको सगुन सामाजिक सञ्जालकै रुपमा आए पनि यसको प्रकृति भने अलग रहेको छ । झट्ट हेर्दा अहिले चर्चामा रहेका सामाजिक सञ्जाल फेसबुक, ट्वीटर जस्तै लागेपनि यसको प्रयोग गर्ने शैली भने भिन्न छ । फेसबुक र ट्वीटरले विशेषगरी स्टाटस र फोटो शेयर गरेर व्यक्तिलाई सेलिब्रेटी र लोकप्रिय बनाउने गर्दछ भने सगुनले भने ‘नलेज शेयर’ गर्ने र आफ्नो दैनिकी व्यवस्थापनलाई सहज बनाउने गर्दछ । यति मात्रै होइन, सगुनमा समय विताउने आफ्ना प्रयोगकर्तालाई उसले केही मात्रामा आम्दानी पनि गर्न वाड्ने नविनतम योजना ल्याएको छ । प्रयोगकर्ताले गरेको आम्दानी ‘डिजिटल सोसल स्मार्ट कार्ड’ मार्फत भुक्तानी पाउन सक्ने कम्पनीको योजनामा उल्लेख छ ।

यसरी शुरु भयो सगुनको यात्रा

अमेरिकी सुरक्षा निकाय पेन्टागनमा करिब १२ वर्ष काम गरेका नेपाली गोविन्द गिरीले सन् २०१३ बाट सुरु गरेको सगुनको पहिलो संस्करण सन् २०१४ मा वलिउडकी नायिका मनिषा कोइरालाले अमेरिकाबाट लञ्च गरेकी थिइन । सन् २०१५ को नोभेम्वरमा यसको दोस्रो संस्करण नेपालका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले लञ्च गरेका थिए । प्रधानमन्त्रीले दोस्रो संस्करण लञ्च गरेयता सगुनमा नेपालीहरुको चासो निकै बढेको सगुनका प्रतिनिधिहरुले बताएका छन् । अमेरिका र भारतको नयाँ दिल्लीमा कार्यालय स्थापना गरेको सगुनले नेपालमा पनि आफ्नो कार्यालय स्थापना गरेको छ । सगुनले चाँडै आफ्नो एप्स पनि सार्वजनिक गर्न लागेको बताएको छ ।

सगुनले जारी गर्न लागेको मिनिआईपिओ के हो ?

मिनि आइपिओ एक प्रकारको आइपिओ (प्रारम्भिक सार्वजनिक प्रस्ताव) नै हो । नीजिस्तरका कम्पनीहरुले अमेरिकी जब्स एक्ट २०१२ अनुसार प्रतिबर्ष सर्वसाधारणबाट ५० मिलियन डलर (५ अर्ब रुपैयाँ) लगानी जुटाउन सक्छ । यहि प्रक्रिया अन्तर्गत हुने सार्वजनिक आह्वानलाई मिनिआइपिओ भनिएको हो । सगुनले मिनिआइपिओ मार्फत सगुनले यो बर्ष २० मिलियन डलर अर्थात २ अर्ब रुपैयाँ भन्दा बढी रकम सर्वसाधारणबाट उठाउने लक्ष्य राखेको छ । यसका लागि सगुनले कम्तीमा २९९ डलरको कम्तिमा १३ कित्ता शेयर खरिद गर्नुपर्ने शर्त राखेको छ । त्यसभन्दा माथि भने व्यक्ति इच्छा र क्षमता अनुसार लगानी गर्न सकिने बताइएको छ ।

तर, अमेरिकी मिनिआइपिओमा नेपालको आइपिओमा जस्तो पहिले इच्छुकहरुको लगानी प्रस्ताव लिने र पछि दामासाहीले बाड्ने भने हुँदैन । मिनि आइपिओमा तोकिएको न्यूनतम लगानीभन्दा बढी जति लगानी गर्‍यो त्यति मूल्यकै शेयर पर्छ । यसको मतलब दामासाहीमा नभई लगानीकर्ताले मागेजति शेयर पाउँछन् । कम्पनीले आफूले चाहेको लगानी उठ्नेवित्तीकै मिनिआइपिओ बन्द गर्नुपर्ने अमेरिकी नियम छ । तर, अमेरिकी नियम अनुसार कम्पनीमा लगानी गर्न चाहने मध्ये कसको लगानी स्वीकार गर्ने कसको स्वीकार नगर्ने भन्ने अन्तिम निर्णय गर्ने अधिकार कम्पनीको प्रवद्र्धकसँग हुन्छ ।

यसरी हुँदैछ ‘वाटर टेस्टिङ’

सगुनले मिनिआइपिओ जारी गर्ने दिन आउनुभन्दा अगाडि नै सगुनमा लगानी गर्न चाहने व्यक्तिलाई इच्छा जाहेर गर्न भनेको छ । यसरी सुरुमा नै लगानी गर्न चाहने व्यक्तिहरुको बारेमा बुझ्नुलाई ‘वाटर टेस्टिङ’ भनिन्छ । संगुनका संस्थापक गोविन्द गिरीले सगुनका सबै प्रयोगकर्तालाई इमेल नै पठाएर सगुनमा लगानी गर्न आह्वान गरेका छन् । बुधवारसम्म सगुनको www.sagoon.com/invest पेजमा १ हजार ५ सय भन्दा बढीले करिव २० लाख डलर लगानी गर्ने इच्छा व्यक्त गरिसकेका छन् ।

एनआरएनलाई अवसर

सगुन अमेरिकामा दर्ता भएको स्टार्टअप कम्पनी हो । सगुनले मिनिआइपिओमा एनआरएन लगानीकर्तालाई बढी प्राथमिकता दिने बताएको छ । कम्पनीको कसको लगानी लिने कसको नलिने निर्णय गर्ने अधिकार कम्पनीको प्रवर्दकसँग हुने भएकाले सगुनले यसमा लगानी गर्न चाहने एनआरएनलाई पहिलो प्राथमिकतामा राख्ने बताएको छ । नेपालको कानुनले नेपालीलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लगाएको छ । यसको सिधा फाइदा भने विदेशमा बस्ने ४० लाख भन्दा बढी एनआरएनले पाउन सक्छन् । एनआरएनको स्वामित्वमा प्रविधि क्षेत्रको ग्लोवल कम्पनी बनाएर नेपाल र नेपालीको दक्षता विश्वभर फैलाउने प्रयासमा रहेको सगुनका संस्थापकहरुले बताइरहँदा प्रवासमा रहेका एनआरएनहरु यसबाट लाभान्वित हुनसक्ने जानकारहरु बताउँछन् ।

स्मार्ट कार्डमा चासो  

सगुनले आफ्नो मुनाफा प्रयोगकर्ताहरुलाई बाड्ने बताएको छ । यसको लागि प्रयोगकर्ताहरुलाई सहज बनाउन डिजिटल स्मार्ट कार्ड बनाउने र त्यसैमार्फत भुक्तानी गर्ने उदेश्य सगुनले राखेको छ । सोसल स्मार्ट कार्ड मार्फत प्रयोगकर्तालाई मुनाफा बाड्ने योजना सगुनले सार्वजनिक गरेको छ । सगुनमा अकाउन्ट खोलेकाहरुलाई सन् २०१७को अन्त्यदेखि २०१८को मध्यसम्म स्मार्ट कार्ड दिने तयारीमा रहेको बताइएको छ । प्रयोगकर्ताले सगुनबाट गरेको आम्दानी त्यही स्मार्ट कार्डमा जम्मा हुँदै जान्छ र त्यसलाई सगुनले तोकेको मार्ट वा सुपर मार्केटबाट आफूले चाहेको बस्तु खरिद गरेर प्राप्त गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया