शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

जापान जस्तो बिकसित तथा ब्यस्त मुलुक जहाँ ६० हजार नेपालीहरु रहेका छन्, हाम्रो जस्तो देश जहाँबाट दैनिक हजारौ युवाहरु खाडी मुलुकमा रोजगारका लागि जाने गर्दछन । यो मानेमा जापान आउनेहरु आफैमा भाग्यशाली ठान्नु तथा अरुको नजरमा त्यो लाग्नु स्वभाविक हो । जापान गएर टन्न धन कमाएर आफ्नो सुन्दर भविष्य कोर्ने सपना बोकेर आएका नेपालीहरु जापानमा ६० हजार भन्दा बढी भैसकेका छन् । जो जापानमा बिभिन्न कोणबाट स्थापित भएका छन् । ब्यबसायमा अग्रस्थान हासिल गर्नेहरु संगै शिक्षा क्षेत्रमा संगै अध्ययन र रोजगारीमा रहेका छन् ।

बागलुङ जिल्लाको पश्चिममा अबस्थित गल्कोट क्षेत्रबाट जापान आएर बिगत ३५/४० बर्ष पहिले देखि जापानमा बसोबास गर्दै आएका अग्रजहरु देखि पछिल्लो समयमा कुकहरुसंगै बिद्यार्थीको रुपमा पनि जापान आएर स्थापित गल्कोटेहरु सबै बीच साझा फुलबारी बनाउने उदेश्यका साथ २००६ सालमा परिकल्पना गरिएको फुलबारी हो गल्कोट समाज जापान । गल्कोट समाज जापान सांच्चिकै गल्कोट अनि गल्कोटेको फरक परिचय बनाइदिने एउटा बगान हो, यहाँ बिभिन्न किसिमका फुलहरु फुलिरहेका छन् यसलाई हुर्काउन जापानबासी गल्कोटे अझ जापानबासी नेपालीहरुले मलजल गरिरहेका छन् भन्दा फरक नपर्ला ।

आफ्नो स्थापना संगै बिभिन्न तरिकाले सामाजिक क्षेत्रमा सहभागी हुंदै आएको समाजले आफ्नो स्थापना लगतै च्यालेन्जको रुपमा नेपालमा जापानबाट एम्बुलेन्स पठाउने काम समेत सफल भयो तर प्राबिधिक रुपमा त्यो विफल हुन पुग्यो त्यसलाई गल्कोट समाजले एउटा पाठको रुपमा लियो ।

म त भन्छु, समाज स्थापना हुंदा चलेका हल्लाहरु, जापानमा अन्य नेपालीले गल्कोटेलाई हेर्ने दृष्टिकोण परिवर्तन गराउन सफल एक नेतृत्वकारी संस्था हो गल्कोट समाज । गल्कोटेहरुलाई कुकहरुबाट समाजसेवीमा परिणत गरिदिनमा ठुलो हात छ गल्कोट समाज जापानको, यो मानेमा मैले गल्कोट समाज जापानको परिकल्पना गर्ने र स्थापनाभर अहोरात्र खट्ने सम्पूर्ण संस्थाका संस्थापकहरु प्रति हार्दिक नमन व्यक्त गर्दछु ।

बिचको केहि समय विविध कारणले सुस्ताएको संस्था जब २०१२ सालमा आएर आफ्नो सक्रियता बढायो, सुरुमा जापानमा भैपरिआएका घटनामा सक्रिय रुपमा उभिएको समाजले जब जापानमा प्राय: कम मात्रामा गरिने सांगीतिक कार्यक्रम नेपालबाट ४/५ जना कलाकार ल्याएर जापानका प्रमुख ४ सहरमा सांगीतिक धमाकाको उद्घोष गर्यो त्यो बेला गल्कोट समाज जापान एक्कासी किन यसरी सबै तिर कार्यक्रम आयोजना गर्यो भनेर दंग पर्नेहरु बाक्लै थिए । त्यो बेलासम्म जापानमा शृंखलाबद्ध कार्यक्रम आयोजना गरेको सायद त्यो पहिलो थियो । जापानका ४ सहरमा नै ब्यापक दर्शक उपस्थितिका बीच जब गल्कोट समाज जापानले भब्य रुपमा कार्यक्रम सम्पन्न गर्यो त्यसले थप उत्साह र हौसला प्रदान गरयो ।

पछिल्लो समयमा जापानमा सामाजिक संघसंस्था भेगीय, क्षेत्रिय, जातीय उत्तिकै बढेका छन्, जति संघसंस्था बढे पनि सबैको एकै उद्देश्य छ सामाजिक काम गर्ने । पछिल्लो संस्थाहरुको बढ्दो उपस्थित संगै जापानमा बिभिन्न चाड पर्वहरुमा गरिने नेपाल र नेपालीहरुसंग सम्बन्धित कार्यक्रम बढ्नु स्वभाबिक रहन्छ नै । तर पछिल्लो समयमा तीज, अंग्रेजी नयाँ बर्षमा जापानमा कार्यक्रम अत्यधिक हुने हुंदा यसले नजानिँदो रुपमा अनावश्यक प्रतिस्पर्धा पनि निम्त्याएको छ भन्दा फरक नपर्ला ।
गल्कोट समाज जापानले बिशुध्द सामाजिक हिसाबले २०१३ सालदेखि अंग्रेजी नयाँ बर्षको कार्यक्रम गर्दै आएको र प्रत्येक कार्यक्रमबाट नेपालमा सार्बजनिक रुपमा सामाजिक काम गर्ने उद्घोष गर्दै आएको छ र त्यो सम्पन्न पश्चात हिसाबकिताब सार्बजनिक गर्ने गरेको सर्बबिदितै छ ।

हुन त, पछिल्लो समयमा सामाजिकसंगै ब्यबसायिक कार्यक्रम पनि आयोजना बढ्दो छ । त्यो आफ्नै मानेमा सहि छ गलत भनिरहन मिल्दैन पनि । सामाजिक संस्था बढ्दो संगै यससंग सम्बन्धित गतिबिधि बढ्नु स्वभाबिक हो, संगै संस्थाले गरेका हरेक गतिबिधिक पारदर्शी हुनुपर्छ र पारिनु पनि पर्छ ।

सन्दर्भ परिवर्तन गरौ:
गल्कोट समाज जापान यतिखेर जापानमा प्रमुख ३ सहरमा सांगीतिक कार्यक्रमको तयारी गरिरहेको छ । नेपालका ख्यातीप्राप्त कलाकारहरु सर्बाधिक माग रहेका अहिलेका चर्चित गायक शिब परियार, लोक गायिका देबी घर्ती, लोक गायक तथा सर्जक बसन्त थापा तथा हास्यकलाकार कमल गाउंले सहित अहिले गल्कोट समाज जापानले जापानका मुख्य ३ सहरमा कार्यक्रम गर्न लागेको छ ।

म यहाँहरु सम्पूर्णमा के अबगत गराउन चाहन्छु भने बिगतका बर्षहरुमा शिक्षा स्वास्थ क्षेत्रमा सहयोग गरेको गल्कोट समाजले अहिले अलि पृथक र महत्वाकांक्षी योजनाका साथ जापानबासी नेपालीमा बिशेष अनुरोध गर्न पुगेको छ । नजानिँदो तरिकाले गल्कोट समाज जापान गल्कोट मात्र केन्द्रित हो भन्ने कता कता आरोप लागिरहेको अवस्थामा समाजको अहिलेको योजनाले बास्तवमा गल्कोट समाज जापान गल्कोट बाहिर पनि सामाजिक काममा उत्तिकै सक्रिय छ भन्ने प्रष्ट पार्दछ ।

जसअनुसार अहिले शिक्षा क्षेत्रको सहयोग लिएर बिकट तथा भूकम्प प्रभावित क्षेत्रमा ७ कोठे पक्की भवन बनाउने जुन लक्ष सार्बजनिक गरेको छ यसलाई सबैले राम्रो रुपमा लिएका छन् । संगै गल्कोट क्षेत्रको पर्यटन प्रबर्धनका लागि समेत गल्कोट समाज जापानले काम गर्ने उद्घोष गरेको छ ।

यसो भनिरहंदा गल्कोट तथा आसपासका क्षेत्रमा पनि बिद्यालय तथा शिक्षा क्षेत्रमा समस्या नभएका होइनन, समाजले त्यो मनन नगरेको पनि होइन, तर बास्तबिकता तिर जाने हो भने अझ बिकट तथा कतिपय भूकम्प प्रभावित क्षेत्रमा समेत बिद्यालय भबनको बिकराल समस्या छ, यसो भनिरहदा पूर्ण समाधान त समाजले गर्ने होइन तथापि कुनै एक ठाउंमा गल्कोट समाज जापानले सानो मलम लगाउन सकेमा पनि यो सामाजिक क्षेत्रमा उदाहरणीय काम हुने छ भन्ने पनि हो । हामी सामाजिक कामको नयां अध्याय अति बिकट तथा प्रभावित क्षेत्रमा जहाँ बास्तबिक समस्या छ त्यहाँ पुग्ने भरपुर कोशिश गर्ने छौ, र अहिले हामीले सोहिअनुसार स्थलगत अध्ययनको चरणमा समेत छौं ।

समाजले मनोरन्जन संगै दर्शकहरुमा थप उत्साह होस भन्ने हेतुले लक्की ड्र समेत राखेको छ, जसमा ३ जनालाई दुईतर्फी हवाईटिकट, ३ जनालाई आइप्याड र ३ जनालाई स्मार्ट फोन प्रदान गर्ने भएको छ । तसर्थ प्रत्येक दर्शकले तिर्ने टिकटको मुल्य मनोरन्जन, सामाजिक सेवा संगै भाग्य परिक्षा समेत हुने छ ।

यसबाट हामी के प्रष्ट पार्न चाहन्छौ भने गल्कोट समाज जापान गल्कोटेहरुको साझा संस्था भएता पनि हामी र हाम्रो कार्यक्षेत्र गल्कोट मात्र होइन । हामी जापानमा भैपरि आएका घटनामा होस् या देशले प्राकृतिक प्रकोप खेपिरहेको बेला होस् हामीले कहिले क्षेत्र हेरेनौ मात्र हेरयौं प्रभावित छ या छैन, भूकम्पले देश हल्लाईरहंदा राहत लिएर गाउं पुगेको गल्कोट समाज जापान आज फेरी बिद्यालय भबन बोकेर बिकट गाउं जांदै छ आशा छ अबश्य यहाँहरु सबैको साथ र माया पाउने छ । गत बर्षहरुमा जस्तै अपार माया र साथले हाम्रो यो अभियान सम्पन्न गर्न सहज हुने छ । हामी आशा गरेका छौं यो पटक हामीले लिएको लक्ष सहज हासिल गर्न सक्ने छौं त्यसमा यहाँको साथ हुने छ भन्ने बिश्वास लिएका छौं ।

अहिलेसम्म गल्कोट समाज जापानले भैपरि आउने घटना बाहेक, गल्कोट क्षेत्रमा आफ्नै नामको एम्बुलेन्स गुडाएर त्यहाँका बिरामीलाई सेवा दिईरहेको छ । शिक्षा क्षेत्रमा ५ बिद्यालयलाई आर्थिक सहयोग गरिसकेको छ । स्वास्थ क्षेत्रको महत्वपूर्ण काम गल्कोट क्षेत्रका स्वास्थ केन्द्रहरुमा स्वास्थ उपकरण तथा स्वास्थ सामाग्री हस्तान्तारण संगै बिशाल स्वास्थ शिबिर सम्पन्न गरेको छ जसमा ८ हजार ५ सय बिरामीले प्रत्यक्ष स्वास्थ लाभ लिए भने १ सय ३३ बिरामी जसले आंखा देख्ने भए ।
सबै सामाजिक रुपमा आफ्ना आफ्ना उद्देश्य राखेर कार्यक्रमको आयोजना गरेका छौ, जापानमा जति पनि कार्यक्रम हुन्छन सबैमा राम्रा राम्रा स्थापित कलाकारहरु आमन्त्रित हुने गर्दछन । सांच्चिकै भन्ने हो भने बिदाको दिन हुने कार्यक्रम त्यो माथि पनि ख्यातीप्राप्त कलाकार आमन्त्रण गरि गर्ने हुंदा सबैको सहभागी हुने ईच्छा रहन्छ । तसर्थ जापानमा सामाजिक संस्था बढ्दो संगै सामाजिक तथा संस्थागत भाइचारा अझ बलियो र बिकास हुनुपर्दछ भन्ने मान्यता राख्नुपर्छ र सोहि अनुसार सकभर जापानमा गरिने यस्ता कार्यक्रमहरु नजुधाऔं यदि त्यस्तो परिस्थिति सिर्जना भएको खण्डमा कमसेकम आपसी सल्लाहले कमसेकम समय फरक पारौं ता कि दर्शकहरुलाई अन्यौल नहोस । कार्यक्रम जुधाउने नजुधाउने भन्दा पनि नियतमा प्रष्ट र क्लियर भैयो भने सबै चिज संभब हुन्छ भन्ने ध्येय पनि सम्पूर्ण आयोजकले दिनुपर्छ भन्ने पनि लागेको हो । सबै मिलि सबै कार्यक्रम सफल पारौ, हामी मिले सबै संभब छ, सबैका सामाजिक उध्देश्य सफल पार्नुछ त्यो संगै दर्शकले पनि मनोरन्जन लिनुछ त्यो बुझ्नु जरुरी छ ।
अन्तमा: जापानमा रहेका सम्पूर्ण संघसंस्थाहरुलाई जापानमा नेपाली गतिबिधिहरु सबै संगै समन्वय गरेर गरौ, तंछाड मछाडले सबैलाई बेफाईदा गर्छ, सबै पारदर्शी बनौ, सबैले आटेको लक्ष पुरा गरौ र त्यसको लागि सबैको साथ सहयोग र समर्थन लिने वातावरण सिर्जना गरौ, संस्थाहरु बीच पृथक सम्बन्धको बिकास गरौं भन्ने आग्रह गर्न चाहन्छु ।  र नजिकिदै गरेको अग्रेजी नयाँ बर्षको अग्रिम शुभकामना समेत व्यक्त गर्दछु ।
धन्यबाद।

कला संस्कृति र सभ्यताको जगेर्ना गरौं,  गल्कोट समाज जापानको सांगीतिक धमाका २०१७ सफल पारौं !!!

(लेखक पन्त गल्कोट समाज जापानका उपाध्यक्ष हुन्)

तपाईको प्रतिक्रिया