शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – प्रेमनारायण प्रेमीको नाटक सङ्ग्रह ‘रगत, पसिना र आँसु’ नाटक सङ्ग्रह विमोचन गरिएको छ । सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले संयुक्तरुपमा नाटक सङ्ग्रहको विमोचन गर्नुभएको हो ।

विमोचन गर्दै सञ्चारमन्त्री कार्कीले नाटकले समाजको यथार्थलाई उतारेको भन्दै साहित्य एउटा समाज सुधारको बाटो रहेको बताउनुभयो । उहाँले लेखक प्रेमीका नाटकले नेपाली समाजलाई चित्रण गर्ने उल्लेख गर्दै प्रस्तुत कृतिमा सरल भाषामा ओखलढुङ्गाको परिवेशलाई चित्रण गरिएको छ भन्नुभयो ।

मन्त्री कार्कीले आफूलाई राजनीतिपछि साहित्य प्यारो भएको भन्दै साहित्य सिर्जनामा लाग्ने बताउनुभयो । प्रतिष्ठानका कुलपति उप्रेतीले लेखक प्रेमीले आफ्ना अनुभव र सर्वसाधारणको सङ्घर्षलाई नाटकको रुपमा चित्रण गरेको बताउनुभयो ।

नाटक सङ्ग्रहको समीक्षा गर्दै साहित्यकार जीवनाथ चापागाईले पूर्वेली ठेट भाषामा लेखिएको नाटक जीवन्त रहेको बताउनुभयो । उहाँले शोषण पीडित, भेदभावले छटपटिएका वास्तविक पात्रलाई नाटकीय रुपमा प्रस्तुत गरिएको बताउनुभयो ।

सो अवसरमा लेखक प्रेमीले २०२१ सालतिर घटेका घटनालाई नाटकमा समेटिएको जानकारी गराउनुभयो । उहाँले धेरै सङ्र्घष गरेपनि परिवर्तनको अनुभूति पाउन नसकेको जनताले फेरि परिवर्तनका लागि सङ्घर्ष गर्नु परेको कुरालाई नाटकमा उल्लेख गरिएको बताउनुभयो ।  सङ्ग्रहमा विभिन्न १२ वटा नाटक समावेश गरिएका छन् । ***

तपाईको प्रतिक्रिया