शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

jamuna-b२०६३ सालमा एसएलसी पास गरेपछि तानसेनको मिशन अस्पतालमा स्टाफ नर्समा नाम निकालेर पनि पढ्न छोडेर गीत गाउन हिडेकी जमुना सनम आज एक स्थापित गायिका मानिन्छन् । परिवारमा बिद्रोह गरेर गायिका बनेकी जमुनाको संघर्षमय साँगीतिक यात्रा अनेकौं घुम्ती र कष्टपूर्ण शृङ्खलाहरुले भरिएका छन् । पढ्न पठाएकी छोरी दोहोरी गाउन हिडेपछि ६ महिनासम्म बुवा र ७ वर्षसम्म भाइ नबोलेको तीतो अनुभव पनि छ जमुनासंग ।

उनी तिनै जमुना हुन् जसको नाम आज साँगीतिक बजारमा चर्चाको शिखरमा छ, अहिले उनलाई देशबिदेशमा भ्याई-नभ्याई छ । पछिल्लो समयमा सर्बाधिक रुचाईएको लोकदोहोरी ’रातो घलेकीमा……’ दोहोरीका पारखीहरुको जनजिब्रोमा झुण्डिएको लोकप्रिय गीत हो । उसो त उनका तीजका गीत ’ओइ सुन्तली’ र ’रातो साडी सप्को काँधमा’, ’बग्यो खोली सागर भेट्नलाई’, ’माया भुल्ने के होला दबाई -’ जस्ता चर्चित गीतहरु गाएर जमुनाले लाखौं दर्शक-स्रोताहरुको मन जित्न सफल छिन् । अहिलेसम्म दुई सय भन्दा बढि गीतमा आफ्नो आवाज भरिसकेकी गायिका जमुना रहरै रहरले गीत गाउन थालेको बताउँछिन् । उनी भन्छिन् – गाउँदै जाँदा यहाँसम्म पुगिएला भनेर सोचेकै थिईनँ । न त यो पेशाप्रतिको आकर्षणले नै मैले यो क्षेत्र रोजेकी हुँ । मैले गाएको गीत स्रोता दर्शकहरुले मन पराईदिनुभयो जसको प्रेरणाले आज म यो ठाउँसम्म आएकी छु ।’

असाध्यै सांगीतिक माहौल भएको अर्घाखाँचीको खन गाबिसको वाड नं १ मा जन्मेकी जमुना केटाकेटी हुँदा गाउँका दाजु-दिदीहरुसंग तीजको मेला हेर्न जाने गर्थिन् । मेला jamuna-4हेर्न जाने क्रममा अलि अलि मादल बजाउन अनि गीत गाउन सिकेको बताउने जमुनाले ६, ७ कक्षामा पढ्ने भईसकेपछि गाउँ तथा जिल्लातिर प्रतियोगितात्मक कार्यक्रमहरु हुने लहर चलेसंगै २०६१ सालमा अर्घाखाँचीको सदरमुकाम सन्धीखर्कमा पहिलोचोटी माइक समातेर गीत गाउन सुरु गरेको बताउँछिन् । उनी भन्छिन् – २०६३ सालदेखि भने ब्यवसायिक हिसाबले गीत गाउन सुरु गरेकी हुँ ।’

जमुनाको पहिलो गीत भने २०६२ सालमा तीजको अडियो गीत बुटवलबाट निकालेकी थिईन् । कतिपयले अझै तीजको गायिका भनेर चिनिने जमुनाले हरेक वर्षको तीजमा तीजको गीत बजारमा ल्याउने गरेकीछिन् ।
पुराना दिनहरु सम्झदै जमुना भन्छिन् – ’१२, १४ वर्ष अगाडिको लोकदोहोरी र अहिलेको लोकदोहोरी तथा कलाकारहरुमा आकाश जमीनको फरक छ । सुरुमा रहरले लागिए पनि दुई चारवटा गीत निकालेर केही दर्शक स्रोताले चिन्ने भएपछि त झन करले पनि अरु थप राम्रो गर्न बाध्य भइँदोरहेछ ।’

jamuna-2साँगीतिक यात्राका प्रारम्भिक दिनहरु बुटवल र पाल्पाबाट सुरु गरेर करिव ४ वर्ष त्यहाँ संघर्ष गरेपछि २०६६ सालमा राजधानी झरेकी जमुनाले लगत्तै २०६७ सालमा आफैले सिर्जना गरेको तीजको गीत ’ओई सुन्तली..’ ले आफुलाई जमुना भनेर चिनाएको बताउँछिन् । उक्त गीत हिट भएपछि जमुनालाई चिनाउनुका साथै उनको जीवनशैली नै परिवर्तन गरायो । ’त्यसपछि झन यो भन्दा अझ राम्रा गीतहरु गाउनुपर्छ भन्ने अरु जिम्मेवारी थपिएको अनुभव भयो’ – उनले भनिन् । यद्यपि उनले यो गीत यति धेरै हिट होला भन्ने अपेक्षा भने गरेकी थिइनन् ।

लोक दोहोरीको महत्व, यसले बोक्नुपर्ने भाव र समेट्नुपर्ने बिषयबस्तुका बारेमा जमुना भन्छिन् – म त्यति धेरै विज्ञ मान्छे त होइन, यद्यपि यसै क्षेत्रमा अनवरत संघर्षरत गायिकाको हैसियतले भन्नुपर्दा नेपाली पन र नेपाली मनको अन्तर्हृदयको भावनालाई अभिब्यक्त गर्ने अन्तर्मनको एउटा भाका हो लोक दोहोरी । लोकले मन पराउने भएर नै लोक दोहोरी भनिएको हो । गीत संगीतमा हुने तागत र ऊर्जाले मानिसको जीवनमा पार्ने विलक्षण प्रभाव आफ्नै खालको हुन्छ । खुशीमा होस् या पीडामा मान्छे संगीतको सहारा लिन चाहन्छ र संगीतमा हराउन मन पराउँछ । मनको भावनालाई दिमाखी खेलको माध्यमबाट लयमा उनेर तत्काल प्रस्फुटन गरिने एउटा रमाईलो कला हो लोकदोहारी ।’

मेला महोत्सव तथा जात्रामात्राहरुमा हुने प्रतियोगिताबाटै लोकदोहारीको गायन यात्रा सुरु गरेको बताउने जमुनाले आफ्नो स्वर र उमेरले साथ दिएसम्म यही क्षेत्रमा निरन्तर लागिरहने बताउँछिन् ।

दोहोरीमा मायाप्रीतिका कुरा र साली फकाउने कुराले मात्र स्थान पाउनु, समाज परिवर्तन र सन्देशमुलक बिषयवस्तु समेटिन नसक्नु बारे जमुनाको धारणा भने यस्तो छ – ’हाम्रो साँगीतिक बजारको मागका कारण यस्तो भएको हो । सन्देशमुलक गीतहरु पनि नबनेका होईनन् तर उनीहरुले खासै बजार पाउन सक्दैनन् र सँधै ओझेलमा पर्दछन् । त्यसैले कलाकर्मीहरुले बाध्य भएर बजारमा जस्तो गीतको माग छ त्यस्तै गीत उत्पादन गर्नतिर लाग्नु स्वभाविकै हो ।’jamuna-1

लोक दोहोरीको भविष्य बारे जमुनाको आफ्नै तर्क छ । उनी भन्छिन् – आजभन्दा दश वर्ष पहिलेभन्दा अहिले लोकदोहोरी मन पराउनेको संख्या दोब्बर छ । त्यतिबेला क्यासेटको जमाना थियो, गाउँघरमा टेपरिकर्डरमा बज्ने र रेडियो, एफएमहरुमा गीत बजेको आधारमा सर्जकहरुलाई चिनिन र प्रगति गर्न गाह्रो थियो, समय लाग्थ्यो । हदै विक्रि भए ४०, ५० हजारको संख्यामा क्यासेट विक्री हुन्थे, त्यतिनै संख्याका स्रोताहरुमाझ पुग्न सकिन्थ्यो । तर अहिले एउटा राम्रो गीत बजारमा ल्याउन सक्ने हो भने सूचना र प्रविधिको सुबिधाले गर्दा रातारात बिसौ लाख, तिसौं लाख दर्शक स्रोता माझ पुग्न सकिन्छ । सोही अनुपातमा दोहोरीको दर्शक स्रोताको संख्या पनि तिब्र गतिमा बढिरहेकै हुन्छन् । उनीहरु कहिं न कतै दोहोरीको मजा लिन लालायित भईरहेका हुन्छन् । बिश्वका जुनसुकै मुलुकमा पुगे पनि नेपालीहरु लोक दोहोरीका कलाकारहरु बोलाएर कार्यक्रम गर्ने प्रचलन अति बढेको छ । लाइभ दोहोरी गाउन सक्ने राम्रो कलाकार बिश्वका जुनसुकै मुलुकमा कुनै पनि बेला बोलाईन सक्छन् र उनीहरु त्यहाँ पुगेर आफ्नो प्रतिभा देखाउन सक्ने अवसरहरु बढेर गएका छन् । त्यसैले उचित ब्यवस्थापन गरेर लैजान सक्ने हो भने दोहोरीको भविष्य उज्वल छ ।’

रातारात चर्चामा आउनका लागि हुने कतिपय अवाञ्छित गतिबिधिका कारण लोक दोहोरीको क्षेत्रमा विकृति र विसंगति भित्रिएको जमुना स्वीकार्छिन् । उनी भन्छिन् – यही क्षेत्रलाई क्यारियर बनाएर संघर्षशील लामो यात्राको गन्तब्य तय गरेका वास्तविक कलाकारहरु भने यस्तो बाटो अपनाउँदैनन् । कलाकार बन्ने ध्याउन्नमा क्षणिक चर्चा बटुलेर आफ्नो अभिष्ट पुरा गर्न अपनाईने अनैतिक क्रियाकलापका कारण दोहोरी क्षेत्र कहिलेकाँही बदनाम हुने गरेको छ । यसो गरिनु सर्बथा गलत छ ।’

’कलाकारिताको सेन्सर बोर्ड भनेको आफ्नै मन हो । आफ्नो मनले मैले के गर्दै छु भन्ने थाहा पाउनुपर्दछ । मैले यसो गर्न हुँदैन भन्ने आफैको मनको सेन्सर लगाएपछि अर्को कुनै सेन्सर बोर्डको आवश्यक पर्दैन जस्तो लाग्छ – जमुना भन्छिन् – ’आफै नांगिएपछि समाजमा आफ्नो अस्तित्व खोज्न कहाँ जाने ? तर पनि दुःख लाग्छ हाम्रा मिडियाहरुले आँखै अगाडि वर्षौदेखि संघर्षरत सर्जकहरु देख्दैनन् त्यस्तै उच्छृङ्खल गीत गाउने सर्जकहरुलाई खोजीखोजी प्राथमिकतामा राखिन्छ ।’

jamuna-5दोहोरी कलाकारलाई समाजले हेर्ने दृष्टिकोणका बारेमा कोट्याउँदा उनले गायन यात्राका सुरुवाती दिनहरुको स्मरण गर्दै भनिन् – अर्घाखाँचीको मेरो घरनजिकै शान्तिबगैंचामा ठाकुर गन्धर्वसंग दोहोरी गाउँदै थिएँ, तिम्रो छोरी शान्तिबगैचामा गाइनेसंग गीत गाउँदैछे भनेर घरमा कुरा पुगेपछि घरपरिवार र समाजबाट बिभिन्न खालका चेतावनीहरु झेल्नुपरेको थियो । ती सबै कुराहरुलाई सामना गर्दै अगाडिको यात्रा रोकिएनन् । गाउँघरमा लेखपढ् गर्न नसकेका केटाकेटीहरु नाच्न गाउन लैदिए हुन्थ्यो भन्ने खालको उनीहरुका बाबुआमाले गर्ने निम्नकोटीको टिप्पणीहरु पनि निकै सुन्नुपर्दछ, कतिपय ठाउँमा लोकदोहोरी गाउने मान्छेलाई लोके भनेर हेप्ने गर्दछन् त्यतिबेला असाध्यै चित्त दुखेर आउँछ, बिझ्ने गर्दछ । लोक दोहोरीको भेलबाट आधुनिक गीतहरु बग्न थालेका हुन् । लोकगीतलाई हाम्रो समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आउन जरुरी छ ।

’मैलै मुक्तिनाथ एफएममा पनि काम गरिसकेकीले गुल्मी, अर्घाखांची, पाल्पा र आसपासका जिल्लाहरुमा दर्शक स्रोताहरुले मलाई कार्यक्रम सञ्चालिका भनेर पनि चिन्ने गर्छन् । मुक्तिनाथ एफएममा काम गर्दादेखि चिन्थे भन्ने मान्छेहरु जापानमा पनि भेटें, खुशी लाग्छ – जमुनाले मिडियासंगको सामिप्यताको बारेमा पनि मनको पोको फुकाईन् ।

लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिको उपाध्यक्ष समेत रहेकी जमुनाले यस क्षेत्रमा विद्यमान विकृतिहरुलाई सुधार्न प्रतिष्ठान प्रयासरत रहेको बताईन् । उनले १, २ जनाले गर्दा लोकदोहोरी क्षेत्र बदनाम भएको स्वीकार्दै लोकदोहोरीलाई हेर्ने दृष्टिकोणमा भने अहिले निकै फरक आएको ठोकुवा गरिन् ।

दोहोरी क्षेत्रका कलाकारहरुको अवस्था बारे उनी भन्छिन् – ’गीत गाएर मात्र बाँच्ने अवस्था छैन, त्यसमाथि उमेर ढल्किदै गएपछि कलाकारको भविष्य सुरक्षित छैन । त्यसकारण दोहोरी क्षेत्रका कलाकारहरुले आफ्नो भविष्य सुरक्षित गर्ने हो भने वैकल्पिक पेशा पनि अँगाल्नुपर्दछ ।’

’आज म जे छु जहाँ छु र जस्तो छु ठिकै छु जस्तो लाग्छ त्यसैले त सन्तुष्ट छु – जमुनाले भनिन् – मरेर गए पनि आफ्ना सिर्जना त छोडेर गईन्छ नि, हामी कलाकारहरुको कमाई भनेको त्यही त हो, अनि मर्ने बेलामा थुप्रै मलामी ।’

मादल, हार्मोनियम, अक्टोप्याड जस्ता बाद्यबादनमा पनि दखल राख्ने जमुनाको अनुभवमा गीत गाएर खान सजिलो छैन । उनी भन्छिन् – बरु ५० किलो भारी बोक्दा गाह्रो भए बिसाउन पाइन्छ, तिर्खा लागे पानी खान पाईन्छ । कसैले यस्तो र उस्तो भन्लान भन्ने डर हुदैन । हजारौं मान्छेको अगाडि उभिएर उनीहरुलाई कसरी आकर्षित गर्ने भन्ने जिम्मेवारी एकातिर हुन्छ, अर्कोतिर ३० सेकेण्डदेखि १ मिनेटभित्र अर्को गीत सोचेर गाईसक्नुपर्ने हुन्छ ।’jamuna-3

दोहोरी कस्तो गाउने भन्ने सवालमा उनी भन्छिन् – मान्छेहरुलाई क्षणिक मनोरञ्जन दिने नाममा उत्ताउला गीत गाएर भोलिपल्टदेखि मान्छेहरुले कुरा काट्ने खालको काम म कहिलै गर्दिन ।’

जमुना सनमको चर्चाको शिखरमा रहेको बिरहले भरिपूर्ण सदाबहार गीत ’बग्यो खोली सागर भेट्नलाई….’ भन्ने गीत आफ्ना बाबुको निधनपछि वियोगान्त घडिमा रहेकी आमाको बेदनामा आधारित भएर आफैले लेखेको र गाएको उनी बताउँछिन् ।

साँगीतिक यात्राका क्रममा नेपालका ३६ भन्दा बढि जिल्ला टेकेकी जमुना दुबाई र म्यान्मार एक-एक पटक, बेलायत चार पटक र जापान दुई पटक आएकी छन् । आउँदो तीजमा उनी युरोपतिर जाने कार्यक्रम तय भईसकेको बताउँछिन् ।

कलाकारहरुको बिदेश पलायनबारे पनि उनको आफ्नै धारणा छ । गाउने बेला स्वदेशमै केही गरे सुन फल्छ भन्ने अनि आफै बिदेश भासिनु राम्रो नहुने बताउने जमुनाको भने बिदेश ताक्ने कुनै योजना नरहेको खुलासा गरिन् ।

दोहोरी गाउने क्रममा थुप्रै प्रेम प्रस्तावहरु आउने र मरिहत्ते गर्ने भए पनि त्यस्ता कुरालाई कहिलै सिरियस्ली लिने नगरेको र लिएर साध्य पनि नहुने जमुनाको तर्क छ ।

जमुनाको बुझाई र भोगाईअनुसार मानिसको जिन्दगीको परिभाषा भनेको नियालेर हेर्दा निरन्तर बग्ने खोला हो, बग्दै जाँदा कहाँ पुगिन्छ केही थाहा छैन । कहिले ठोक्किन्छ, कहिले लडिन्छ, कहिले भिडिन्छ, आफु कुन भेलमा बगेर कहाँसम्म बग्ने भन्ने कुरा मुख्य हो । जिन्दगी एक बारको हो, आफु दुखेर भए पनि अरुलाई दुखाउनु हुन्न भन्ने चाहना राख्नु जीवनको सार हो ।

अर्काको मुलुक बिदेशमा आएर पनि लोकदोहोरीलाई धेरै माया गर्ने दर्शक स्रोताहरु जापानमा थुप्रै भेटेकी छु, असाध्यै खुशी लाग्छ । लोकदोहोरीको तिर्सना मेटाउन पहिले पहिले नेपालै पुग्नुपर्थ्यो, धेरै कष्ट गरेर अहिले जापानमै टोकियो रोधी क्लव सञ्चालन गर्नुभएको छ, म जस्ता थुप्रै कलाकारहरुले यहाँ आएर आफ्नो प्रतिभा देखाउने अवसर पाउनुभएको छ । यसका लागि सञ्चालकज्यूहरु सबैलाई धन्यबाद दिन चाहान्छु । जापानमा नेपालीहरुले निकै दुख गर्ने गरेको पाएकी छु । दैनिक १५, १६ घण्टा काम गर्ने नेपालीहरु प्रशस्त हुनुहुन्छ । साउदी, कतारमा भन्दा पनि कडा मिहिनेतको परिणामलाई भरपुर सदुपयोग गर्नुहोला । आफु जन्मेको गाउँ, ठाउँ र माटोलाई कहिल्यै नभुल्नुहोला । नेपाली गीत, संगीत र लोकदोहोरीलाई सँधै माया गर्नुहोला । अन्तमा, मेरा केही भनाईहरु राख्ने अवसर प्रदान गर्नुभएकोमा जापानबाट सञ्चालित लोकप्रिय अनलाइन समुद्रपारि डट कम परिवारप्रति आभार ब्यक्त गर्न चाहान्छु । *** (गायिका जमुनासंग समुद्रपारिले गरेको कुराकानीमा आधारित)

(गायिका जमुना केही समयका लागि हाल टोकियो रोधी क्लवमा कार्यरत छिन्)

तपाईको प्रतिक्रिया