शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – संविधान संशोधन विधेयकविरुद्ध आन्दोलनरत विपक्षी दलका युवा–विद्यार्थी संगठनले शनिबार भारतीय दूतावास घेराउ गरेका छन् । प्रमुख प्रतिपक्षी दल एमाले समर्थित युवा संघ, अनेरास्ववियु लगायत अन्य विपक्षी दल निकट युवा र विद्यार्थी संगठनले बिहान दुई घन्टा भारतीय दूतावास घेराउ गरेका हुन् ।

सोही समूहले अपराह्न माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म सिठी जुलुस निकालेको हो । जुलुसमा नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेमकिपाका युवा–विद्यार्थी भ्रातृ संगठन सहभागी थिए । नेपालका लागि भारतीय राजदूत रञ्जित रायले कर्मचारीको हैसियतभन्दा माथि उठेर नेपालका राजनीतिक दलहरूलाई निर्देशित गर्ने गरी पदीय मर्यादा र आचरण विपरीत काम गरेको उनीहरूले आरोप लगाएका छन् । दूतावासभित्र मधेस केन्द्रित दलका नेताहरू भारतीय राजदूत रायसँग छलफल गरिररहेका बेला युवा–विद्यार्थी संगठनले दूतावास घेराउ गरेका हुन् । gherau

घेराउपछि कोणसभालाई सम्बोधन गर्दै युवा संघका प्रवक्ता प्रभात विक्रम कटुवाल र अनेरास्ववियुका सचिव आरसी लामिछानेले पदीय मर्यादा विपरीतका गतिविधि कायमै राखे राजदूत रायलाई नेपाली जनताले फिर्ता पठाउने चेतावनी दिए । त्यस्तै, अपराह्न सिठी जुलुश प्रदर्शन गर्दै उनीहरूले संशोधन विधेयक तत्काल फिर्ता लिएर जनताको भावनाको सम्मान गर्न सरकारसँग माग गरेका छन् ।

जुलुसपछि नयाँ बानेश्वरमा आयोजित कोणसभालाई युवा संघका उपाध्यक्ष रमेश पौडेल, अनेरास्ववियुकी अध्यक्ष नवीना लामा, प्रगतिशील युवा संघका अध्यक्ष लोकेन्द्र केसी लगायतले सम्बोधन गरेका थिए । विरोधका कार्यक्रमलाई आइतबार पनि निरन्तरता दिइने युवा संघ नेपालका प्रवक्ता कटुवालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया