शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

mahendra-kiranटोकियो – नेकपा एमालेका नेता किरण गुरुङले हालको रुपान्तरित संसदलाई संबिधान संशोधन गर्ने अधिकार नभएकोले तत्काललाई संबिधान संशोधन नहुने बताउनुभएको छ । एमाले स्थायी समितिका सदस्य एवं प्रस्तावित प्रदेश नं ४ का ईन्चार्ज समेत रहनुभएका नेता गुरुङले जनताका ९० प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरी जारी गरिएको संबिधानको सर्बोच्चतालाई स्वीकार्दै यसको कार्यान्वयनमा जानु अहिलेको मुख्य कार्यभार भएको बताउनुभयो । उहाँले अब हुने निर्बाचनबाट दुईतिहाई बहुमत प्राप्त संसदले मात्र संबिधान संशोधन गर्न सक्ने बताउँदै हालको रुपान्तरित संसदलाई संबिधान संशोधन गर्ने कुनै अधिकार नभएकोले तत्कालका लागि कसैको बहकाउमा संबिधान संशोधन नहुने ठोकुवा गर्नुभयो । उहाँले भन्नुभयो – ’त्यसकारण नेकपा एमाले संबिधान संशोधनको बिपक्षमा उभिन्छ ।’

संबिधान जारी गर्ने बेलामा पनि प्रमुख राजनीतिक दलहरुबिच लामो रस्साकस्सी पछि अन्तमा सहमतिमा जारी गरिएको र कार्यान्वयनमा लैजाने जिम्मेवारी पनि प्रमुख राजनीतिक दलहरुकै भएकोले संबिधानको कार्यान्वयनका लागि संबिधानमा संशोधन गरिनुपर्ने प्रस्ताव काँग्रेस, माओबादी केन्द्र लगायतका सत्तारुढ दलहरुबाट आईरहेकै बेला नेता गुरुङले प्रतिपक्षमा रहेको आफ्नो पार्टी नेकपा एमाले उक्त प्रस्तावको बिपक्षमा उभिने र कुनै हालतमा उक्त प्रस्ताव पारित नहुने ठोकुवा गर्नुभएको हो ।

नेपाली राजनीतिमा अहिलेको सबैभन्दा पेचिलो बिषय बनेको संबिधान संशोधनको बिपक्षमा एमाले उभिएपछि उत्पन्न राजनैतिक जटिलताको निकास बारे पत्रकारहरुको जिज्ञासामा नेता गुरुङले वर्तमान सरकारको विकल्पबारे सोचिने संकेत गर्नुभयो । उहाँले भन्नुभयो – ’काम गर्न नसक्ने सरकारले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ । मधेशकेन्द्रित दलहरुलाई समेत आश्वस्त पारेर नेकपा एमालेले संबिधान कार्यान्वयन गरेर देखाउने हैसियत राख्दछ ।’

’राजनीति गर्न मन भए नेपालमै आएर गर्नुस्’
टोकियोमा आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा एक फरक प्रसंगमा बोल्दै नेता गुरुङले बिदेशमा नेपालीहरुले राजनीति नगर्न अपिल पनि गर्नुभयो । उहाँले भन्नुभयो – ’राजनीति गर्न मन छ भने नेपालमै आएर गर्नुस् बिदेशमा त नेपालीहरु मिलेर पो बस्नुपर्छ ।’ पूर्वमन्त्री समेत रहनुभएका नेता गुरुङ नेकपा एमालेको जापानस्थित भ्रात्तृसंगठन प्रवासी नेपाली मञ्चको गत साता भएको २० औं अधिवेशनमा भाग लिन जापान आउनुभएको हो । mahendra-1

मञ्चले अब जापानमा देखिने गरी काम गरेर देखाउँछ mahendra
प्रवासी नेपाली मञ्चले आयोजना गरेको उक्त पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुको जिज्ञासा मेटाउँदै मञ्चका नवविर्वाचित अध्यक्ष महेन्द्र श्रेष्ठले आफ्नो संगठनले अब जापानको नेपाली समुदायमा सबैले महशुस गर्ने गरी काम गरेर देखाउने ठोकुवा गर्नुभयो । उहाँले भन्नुभयो – ’मञ्चले अब जापानमा सबैले देखिने गरी, सबैले बुझिने गरी, सबैले सुनिने गरी र सबैले चिनिने गरी काम गरेर देखाउने छ । नेपाल जापान सम्बन्धलाई थप सुदृढ बनाउने खालका कार्यहरु गर्ने, नेपालको पर्यटन पवर्द्धनमा टेवा पुर्‍याउने, जापानका संघसंस्थाहरुसंग सहकार्य एवं समन्वयकारी भूमिका निर्बाह गर्ने, नेपाली कला, संस्कृति र पहिचानलाई जापानमा प्रबर्द्धन गर्ने लगायतका कार्ययोजनाहरुका साथ मञ्च अगाडि बढ्ने छ’ – अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
मञ्चका अध्यक्ष श्रेष्ठको सभापतित्वमा भएको सो पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष कुलचन्द्र खरेलको स्वागत मन्तब्य रहेको थियो भने महासचिव सुरेश केसीले सञ्चालन गर्नुभएको थियो ।

पत्रकार भेटघाट कार्यक्रममा अघिल्लो साता टोकियोमा सम्पन्न मञ्चको २० औं अधिवेशनले महेन्द्र श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत २७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको जानकारी पनि गराईएको थियो ।***

तपाईको प्रतिक्रिया