बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

टोकियो – जापान सरकारको औपचारिक निमन्त्रणामा जापान आउनुभएका नेपाली काँग्रेसका वरिष्ठ नेता तथा नेपाल जापान मैत्रीपूर्ण संसदीय समितिका अध्यक्ष रामचन्द्र पौडेलले जापानका भौतिक, यातायात तथा पर्यटन उपमन्त्री यासुतादा ओनोसंग बुधबार शिष्टाचार भेटघाट तथा छलफल गर्नुभएको छ ।

भेटका अवसरमा नेता पौडेलले नेपालको आधारभुत संरचना र पर्यटन बिकासमा जापानको अनुभव र सहयोग प्रशंसनीय रहेको बताउनुभयो । प्रत्युत्तरमा उपमन्त्री ओनोले नेपाल ऐतिहासिक सम्बन्ध भएको देश भएकोले नेपालको हरेक प्रयासमा सहयोगी भूमिका निर्बाह गर्न जापान तयार रहेको बताउनुभयो ।

9 तत्पश्चात एलडिपीका महासचिव तोसिरो निकाईसंगको भेटमा नेता पौडेलले नेपालको भूकम्प पश्चात जापान सरकार र जापानी जनताले गरेको स्वतःस्फुर्त सहयोगको प्रशंसा गर्नुका साथै धन्यबाद ब्यक्त गर्दै नेपालको पुनर्स्थापना र पुनर्संरचनामा जापानले पुर्‍याएको सहयोग प्रति आभार ब्यक्त गर्नुभयो ।

उहाँले जापानको प्राकृतिक बिपत्तिप्रतिको अनुभव र प्रविधि सहयोग नेपालले पनि अनुकरण गर्नुपर्ने र जापानको सानो सहयोग पनि नेपाल र नेपालीका लागि महत्वपूर्ण हुने बिचार ब्यक्त गर्नुभयो । साथै उहाँले तनहुँमा श्वासप्रश्वास अस्पताल र सप्तगण्डकी जलबिद्युत आयोजनाको संभाब्यताको अध्ययन एवं सहयोग गर्न अनुरोध गर्नुभयो । प्रत्युत्तरमा नेता निकाईले नेपाललाई सहयोग गर्न पाउनु खुशीको कुरो हुने बताउनुभयो ।

नेता पौडेलको सम्मानमा परराष्ट्र राज्यमन्त्री नोबु किसीले दिवाभोजको आयोजना गर्नुभएको थियो । सो अवसरमा नेपाल जापान सम्बन्धका बिषयमा छलफल भएको थियो । सो अवसरमा नेता पौडेलले नेपालको सामाजिक, आर्थिक बिकासमा जापानले गरेको सहयोग प्रशंसनीय रहेको उल्लेख गर्दै धन्यबाद ज्ञापन गर्नुभएको थियो । उक्त अवसरमा नेता पौडेलले स्वासप्रश्वास अस्पताल, सप्तगण्डकी जलबिद्युत र तनहुँ जलविद्युतमा सहयोग गर्न गर्नुभएको अनुरोधमा बिदेश राज्यमन्त्री किशीले नेपालको बिकासमा सहयोग गर्न तयार रहेको बताउँदै नेपालको राजनैतिक स्थिरता र शान्ति सुरक्षाको प्रत्याभूति हुने वातावरण बनाउन अनुरोध गर्नुभएको थियो ।

यसैगरी नेता पौडेलले जापानका पूर्व प्रधानमन्त्री रियुतारो हासिमोतोका पुत्र समेत रहनुभएका स्वास्थ्य, श्रम तथा कल्याण राज्यमन्त्री गाकु हासिमोतोसंग पनि शिष्टाचार भेटघाट गर्नुभएको थियो । सो अवसरमा नेता पौडेलले उहाँको पिताको नेपालप्रतिको अगाढ स्नेह र सम्बन्धका बिषयमा चर्चा गर्नुहुँदा राज्यमन्त्री हासिमोतो भावुक बन्नुभएको थियो । प्रत्युत्तरमा मन्त्री हासिमोतोले आफ्नो पिताले तिसौपटक नेपालको भ्रमण गरेको र नेपाललाई गरेको सहयोग स्मरणीय रहेको बताउनुभयो । उहाँले पिताको प्रिय देश नेपाललाई उहाँले गरेको सहयोगलाई आफुले पनि निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।

नेता पौडेलले हिजै जाइकाका अध्यक्ष शिनिची किताओकासंग पनि भेटवार्ता गर्नुभएको थियो । भेटका अवसरमा भूकम्प पीडितहरुका लागि लगायत नेपालको आर्थिक बिकासमा जाइकाले पुर्‍याएको सहयोगका लागि प्रशंसा गर्नुभएको थियो । जबाफमा जाइका अध्यक्ष किताओले नेपालको बिकासमा सहयोगी भूमिका निर्बाह गर्न जाइका तत्पर रहेको बताउनुभएको थियो ।

उक्त सबै भेटघाट कार्यक्रमहरुमा नेता पौडेलसंगै नेपालबाट आउनुभएका प्रतिनिधी मण्डलका सदस्य नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा सभासद राजन केसी र जापानका लागि कार्यबाहक नेपाली राजदूत कृष्णचन्द्र अर्यालको सहभागिता रहेको थियो ।

यस प्रतिनिधि मण्डलको जापान भ्रमणबाट नेपाल जापान दुईदेश बीचको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने र नेपालको आर्थिक बिकासमा जापानको सहयोग अभिबृद्धि गराउन मदत पुग्ने अपेक्षा गरिएको छ । ***
10 11

तपाईको प्रतिक्रिया