बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – राष्ट्रिय राजनीतिमा अहिले दुई राप्रपाबीचको एकताले राम्रै चर्चा पाईरहेको छ । कमल थापा नेतृत्वको राप्रपा नेपाल र पशुपति शमशेर नेतृत्वको राप्रपा एकता गरी राष्ट्रिय प्रजातन्त्र पार्टी बनाएसँगै संसदमा पनि पार्टीको बर्चश्व बढेको छ । एकतापछि संसदमा राप्रपाको सिट ३७ पुगेको छ । दुई राप्रपाको एकतापछि अबको चुनावमा राप्रपाले कुन स्थान बनाउला, हिन्दू राज्यको मुद्धा के गर्ला, लोकमान प्रकरणमा के निर्णय गर्ला ? सबैको चासोको बिषय बनेको छ । यीनै बिषयमा केन्द्रित रहेर समुद्रपारि डटकमका लागि सहकर्मी गोविन्द मरासिनीले राप्रपाका नेता राजेन्द्र लिङदेङसँग गर्नुभएको कुराकानीः untitled-2-tif

राप्रपाको एकीकरण बाध्यता हो कि आवश्यकता ?
एकीकरण बाध्यता भन्दा पनि आवश्यकता थियो । देशलाई एउटा बैकल्पिक, प्रजातान्त्रिक राष्ट्रबादी शक्ति दिनुपर्ने आजको आवश्यकता थियो । आम जनताको, कार्यकर्ताको चाहना र माग पनि त्यै थियो त्यसलाई मूर्त रुप दिन समयको आवश्यकता अनुसार दुई राप्रपा एक भएको हो । समयले मागेको पनि हो, एजेण्डा त मिल्ने नै भयो ।

पार्टी एकीकरण हुनु अघिका केही सर्त भन्न मिल्छ ?
मुल कुरा त हामीले बलियो प्रजातन्त्रिक राष्ट्रवादी शक्ति देशलाई प्रदान गर्ने, निरन्तरता सहितको परिवर्तनलाई आत्मसाथ गरेर जाने र हिन्दूत्वलाई मूल आधार बनाउने र त्यसको जगमा नेपाली जनतालाई आर्थिक समृद्धि प्रदान गर्ने यीनै मुद्धामा हामी सहमत भएका हौं । जसले एकीकरण सम्मको बाटोमा ल्याइदियो ।

अब राष्ट्रिय प्रजातन्त्र पार्टी कसरी अघि बढ्छ ?
यीनै मुद्धाहरुलाई लिएर केन्द्रीय तहमा छलफल चल्छ । अब जिल्ला तह र स्थानीय तहमा समेत एकीकरणको कामहरु सम्पन्न गर्न बाँकी छ । यी समग्र कामहरु सम्पन्न गर्दै मूल रुपमा प्रजातन्त्रलाई सुदृढ बनाउने राष्ट्रियतालाई बलियो बनाउने र नेपाली जनतालाई के गर्दा आर्थिक समृद्धि प्रदान गर्न सकिन्छ त्यसमा केन्द्रित भएर राप्रपा अघि बढ्छ ।

पार्टीमा पद व्यवस्थापन कसरी हुन्छ ?
सजिलो ढंगले नै अगाडि बढ्छ त्यस्तो कठिनाई केही पर्दैन । एकताको आधारपत्रहरु तयार भएको छ, त्यसमा प्रष्ट ढंगले उल्लेख छ । त्यसकारण समस्या छैन–समझदारीमै अगाडि बढ्छ ।

अब पार्टीले हिन्दू राज्यको एजेण्डा कसरी उठाउँछ ? पहिलाको जस्तै सरकारमा गएपछि बिर्सने त हुँदैन ?
सरकारमा जाने नजानेसँग यसले खासै अर्थ राख्दैन । सत्ता गौण कुरा हो । हिन्दू राष्ट्रको मुद्धा निरन्तर रुपमा उठाइरहन्छौं । हिन्दू राष्ट्रको एजेण्डा र सत्तामा जाने नजानेबीच कुनै सम्बन्ध रहन्न ।

सरकारमा जाने बिषयमा के हुन्छ ?
आवश्यकता र प्राथमिकताको आधारमा पार्टीले छलफल गरेर निर्णय गर्छ । केन्द्रीय समितिमा पनि छलफल हुन्छ । आवश्यक देखियो भने सत्तामा जाँदा देश जनताको भलो हुने, पार्टीलाई पनि बल पुग्ने देखियो भने सरकारमा जान पनि सक्छौं । सरकारको गतिविधि, देश/जनताको अनुुकुल देखिएन, विगतको जस्तै खाली सरकारमा मात्र जाने भैरह्यो र राष्ट्रिय हित विपरितका गतिविधिहरु बढे भने भएका साथीहरुलाई पनि सरकारबाट फिर्ता बोलाउने पनि हुन सक्छ ।Rajendra

चुनावी एजेण्डा र चुनावी चिन्हको बारेमा पार्टी भित्र छलफल भयो ?
हामीले आगामी दिनका केन्द्रीय समितिका बैठकहरु अर्थात महाधिवेशनमा चिन्हको बारेमा टुंगो लगाउँछौं । चुनावी मुद्धाका बिषयमा भन्नुपर्दा त्यै न हो राष्ट्रियता, प्रजातन्त्र, हिन्दूत्व र नेपाली जनताको आर्थिक समृद्धि नै हाम्रा मुल नारा हुन् ।

राप्रपाले अब संविधान संशोधनलाई जरुरी ठान्छ कि ठान्दैन ?
संविधान चाहिँ आफैंमा गीता होइन । गीता, महाभारत, पुराण पो शंसोधन गर्न मिल्दैन । संविधान भन्ने चीज त्यसको नेचर र स्वभावले नै जनताले आवश्यक ठानेको बेला जुनसुकै बेला संशोधन गर्न सकिन्छ । त्यो असंशोधनीय बिषय होइन । तर, अहिले संशोधनको कुरा जो उठिरहेछ त्यो केका लागि हो ? एउटा के कुरा प्रष्ट हो भने बजारमा आईरहेको अंगीकृत नागरिकलाई राष्ट्र प्रमुख बनाउने, सरकार प्रमुख बनाउने, संवैधानिक आयोगको प्रमुखहरु समेत बनाउन सकिने गरी संविधान संशोधनको प्रस्ताव आउँदैछ भन्ने जुन हल्ला आएको छ त्यसको विपक्षमा राप्रपा उभिन्छ ।

मधेसी मोर्चाको मागको बिषयमा राप्रपाले के गर्छ त ?
मधेसी मोर्चाको हकमा पनि हाम्रो प्रष्ट धारणा छ । मधेशको समस्या समाधान गरेर जानुपर्छ । मलाई व्यक्तिगत रुपमा भन्नुहुन्छ भने मधेसले अहिले जे समस्या उठाईरहेको छ त्यो भन्दा पनि मधेसको समस्या त्यहाँको अविकसितता र त्यहाँ रहेको भ्रष्टाचार चाहिँ मुख्य समस्या हो । तसर्थ, त्यसको निदानका कार्यक्रमहरु ल्याउन जरुरी छ । सिमाङ्कनका कुराहरु पनि उठेका छन् । अहिले उठिरहेका कतिपय कुराहरु अत्यन्तै असान्दर्भिक पनि छन् । त्यसका बाबजुद पनि मधेस समस्यालाई सम्बोधन गरेर मिलाएर जानुको विकल्प छैन ।

राप्रपाले लोकमानलाई हटाउन नचाहेको हो र ? पार्टीको आधिकारिक धारणा के हो ?
पार्टीले के निर्णय गर्छ भन्दा पनि लोकमानसिंह कार्कीलाई के अभियोग लगाईएको हो ? महाअभियोगमा केके कुराहरु उल्लेख छन् ? त्यसका तथ्यहरु के हुन् ? प्रमाणहरु के हुन् ? त्यसका सबै प्रमाणका बिषयहरु अभियोगकर्ताले हाम्रो पार्टीलाई प्रष्ट सँग नबुझाएको, भनि नसकेको र अभियोगका प्रमाणित हुने कुराहरु सार्बजनिक रुपमा नआइसकेको अवस्थामा हामीले पक्ष वा विपक्षमा उभिने निर्णय गर्न मिल्दैन । संसदमा पनि त्यसमा छलफल जारी छ त्यसपछि समितिमा आएर समितिको धारणा सार्वजनिक भैसकेपछि हाम्रो पार्टीले आफ्नो धारणा बनाउँछ । तर, जुन प्रकारले कार्की विरुद्ध महाअभियोग प्रस्ताव आयो त्यो आश्चर्यजनक छ र ठूला भ्रष्टाचारीहरु आयोगको कारबाहीबाट बच्नका लागि ल्याईएको हो कि भन्ने हाम्रो ठहर छ ।

राप्रपामा आस्था राख्ने लाखौं नागरिक प्रवासमा छन् । उनीहरुलाई समेट्न प्रवास संगठन बिस्तार कसरी अघि बढ्छ ?
एकीकरण भन्दा पूर्व पनि संसारका धेरै देशहरुमा हामीले प्रवासी नेपाली एकता समाजका नाममा संगठन बिस्तार गरिरहेका थियौं । यसलाई अब अझ सशक्त ढंगले बिस्तार गर्दै जानेछौं । विदेशमा रहेर पनि नेपालको हित चाहनुहुने र देशको चिन्ता गरिरहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई राष्ट्रियता, प्रजातन्त्रको यो अभियानमा एक भएर सहभागी हुन आह्वान गर्दछौं ।

तपाईको प्रतिक्रिया