बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

कोलम्बिया – ब्राजिलको फुटबल क्लब चापेकोएन्सेका खेलाडी चढेको विमान इन्धन अभावका कारण भएको कुरा सार्वजनिक भएको छ । लिक भएको अडियो रेकर्डिङ्गका अनुसार विमानमा इन्धन सकिएको थियो र यही कारण दुर्घटना भएको हो ।

अडियो रेकर्डिङ्गमा पाइलटले बारम्बार इलेक्ट्रि फेलियर तथा इन्धन सकिएका कारण विमान अवतरणका लागि स्वीकृति मागेको सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

एयर ट्राफिक टावरबाट प्राप्त भएको टेपमा ति पाइलटले विमान दुर्घटना हुनु अघिसम्म पनि इन्धन सकिएको भन्दै अवतरणका लागि इजाजत मागेको सुनिएको छ ।दुर्घटना हुनु पूर्व विमान ९ हजार फिटको उचाइमा रहेको टेपबाट खुलेको छ । पाइलटले कोलम्बियाको एयर ट्राफिकसँग गरेको कुराकानीको टेप लिक भएको हो ।

टेपमा पाइलटले टोटल इलेक्ट्रिक फेलियर र इन्धन सकिएको चेतावनी दिएको सुनिन्छ । दुर्घटनापछि विस्फोट नभएका कारण पनि विमानमा इन्धन नरहेको कुरा पुष्टि गर्न सक्ने एक कोलम्बियन सैनिक अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

यो घटना निकै शंकापूर्ण रहेको एएफपीले उल्लेख गरेको छ । तर विमानमा इन्धन लिक भएका कारण वा उड्ने बेलामै कम भएकाले इन्धन सकिएको भन्ने खुलेको छैन ।दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ । ६८ यात्रु र चालक दलका ९ सदस्य गरी ७७ जना रहेको जहाज कोलम्बियामा मंगलबार दुर्घटना भएको हो ।

कोलम्बियाको मेडेल्लिन शहर नजिक ब्राजिलको फुटबल क्लब चापेकोएन्सेका खेलाडीसहितका यात्रु रहेको विमान दुर्घटना भएको हो । दुर्घटना भएको विमानमा २१ जना पत्रकार पनि थिए । दुर्घटनामा ६ जना बाँच्न सफल भएका छन् । ज्यान गुमाउनेमा १९ जना खेलाडी तथा २० जना पत्रकार छन् ।

तपाईको प्रतिक्रिया