बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – कोलम्बियामा भएको विमान दुर्घटनामा ६ जना बाँच्न सफल भएको कोलम्बियाली अधिकारीहरूले बताएका छन् । ब्राजिलको श्यापेकोएन्सी क्लबका खेलाडीहरू कोपा सुदअमेरिकानाको फाइनल म्याच खेल्ने तयारीमा थिए ।

मेदेइन सहरमा अवतरणको तयारीमा रहेको विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार ८१ जनामध्ये धेरैको ज्यान गएको छ । चार्टर गरिएको अर्थात भाडामा लिइएको सो विमानमा चालकदल, ब्राजिलको श्यापेकोएन्सी क्लबका खेलाडी र पत्रकार सवार थिए । उक्त विमान मेदेइन नगरमा ओलर्ने तयारीमा रहेको बेला पहाडी क्षेत्रमा दुर्घटनामा परेको थियो । फुटबल टोलीका गोलकिपरसहित तीन खेलाडी दुर्घटनामा बाँच्न सफल भएका छन् ।

Colombia Air Crash

कोलम्बियाका अधिकारीहरूले विमानमा विद्युत सम्बन्धि समस्या आएको भन्ने विषयमा अनुसन्धान भइरहेको बताएका छन् । विमानमा इन्धन सकिएको हुन सक्ने अनुमान पनि गरिएको छ । ब्रिटिश एरोस्पेसको एभ्रो विमानलाई लामिया नाम गरेको कम्पनीको सञ्चालनमा थियो । त्यो विमान बोलिभियाको सान्ता क्रुजबाट उडेको थियो । अर्जेन्टिनाको टिमलाई गत साता पराजित गर्दै उक्त टोली अन्तिम दुईमा पुगेको थियो । ब्रजिल छोड्नुअघि श्यापेकोएन्सीका व्यवस्थापकले मेदेइनमा हुने खेल अत्यन्त महत्वपूर्ण हुने बताएका थिए ।

दुई लाख जनसंख्या भएको सान्ता कातारिना नगरको प्रतिनिधित्व गर्ने श्यापेकोएन्सीका लागि कोपा सुदअमेरिकानाको फाइनल खेलको यात्रा साँच्चै नै गौरवपूर्ण थियो । श्यापेकोइन्सी सन् २०१४ मा मात्रै ब्रजिलको पहिलो डिभिजनमा उक्लिएको थियो । स्पेनी क्लब रियल म्याड्रिड र बार्सेलोनाले आफ्ना प्रशिक्षण खेल सुरू हुनुअघि एक मिनेट मौनधारण गरेका छन् । यो दुर्घटनापछि ब्राजिल सरकारले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया