शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

g-2टोकियो – आखिर मान्छे जन्मेर जीवनभरि दुखैदुख गर्न र टेन्शनै टेन्शन र पीडामा बिताउने हो भने त जीवनको अर्थ नै के रह्यो र ? त्यसकारण म चाहान्छु हामी मान्छे भएर अलिकति चेतना जगाऔं । तर खाली प्रवचन र भाषणले मान्छेको चेतना र जीवन परिवर्तन गर्न सकिदैन । मान्छे परिवर्तन हुन सबैभन्दा पहिले भित्रैबाट महसुश हुने गरी परिवर्तन हुन सक्नुपर्दछ । जीवन जिउनका लागि हो, भने दुख जीवनको साथी हो । दुखलाई साथी मानेर अघि बढ्न सक्यो भने मात्र जीवन सहज बनिदिन्छ । यी भनाईहरु हुन् – हेभन्ली निर्वाणा पाथका प्रवर्तक तथा प्रेमबादी दर्शनका सूत्रधार नेपालका आध्यात्मिक गुरु माष्टर गड्याञ्जलको अर्थात ओमनन्दको ।

आउँदो आइतवार टोकियोमा हुन गईरहको एक दिवसीय ध्यान तथा आशिर्वचन कार्यक्रमका लागि उहाँ जापान आउनुभएको छ । आफ्नो सारा घरगृहस्थी जीवन, बैबाहिक तथा निजी जिन्दगी, सांसारिक सुखसयल, धनसम्पत्ति जस्ता सबै त्यागेर प्रेमबाद दर्शनको सन्देश बिश्वभरि फैलाउने अभियानमा लाग्नुभएका उहाँले बाचुञ्जेल अरुलाई सकेको सेवा र सहयोग गर्ने, जीवन र जगतको बारेमा आफुमा भएका ज्ञानगुणका कुरा बाँड्ने र अरुलाई पटक्कै दुख नदिने संकल्प गर्नुभएको छ । यसको मतलव आफुलाई सबैले मानून्, ढोगून्, पूजा गरुन् भन्ने आशय पटक्कै नरहेको उहाँको धारणा छ ।

१२ वर्षको कलिलो उमेरमै मृत्युको रहष्यबोध एवम ईश्वरीय शक्तिको ज्ञान हासिल गर्नुभएको भनिने मास्टर गड्याञ्जलले उक्त प्रेमबादको दर्शनलाई फैलाउने क्रममा बिश्वका ८० भन्दा बढि मुलुकहरुको भ्रमण गरिसक्नुभएको छ । आफुलाई सन्याशी यात्री भन्न रुचाउने उहाँ अगाडि भन्नुहुन्छ – प्रवचन र भाषणले मान्छेको चेतना र जीवन परिवर्तन गर्न सकिदैन । मान्छे परिवर्तन हुन सबैभन्दा पहिले आफै भित्रैबाटै परिवर्तन हुन सक्नुपर्दछ । भित्रैबाट फिल हुने गरी परिवर्तन हुन ध्यान नै सबैभन्दा अचुक उपाय हो । ध्यानले मानिसको जीवनमा धेरै राम्रो गर्दछ, यसमा अदम्य तागत छ ।

प्रेमबादको दर्शनबाट हजारौं हजार मानिसहरुलाई जाँडरक्सीको कुलतबाट छुटाउन सकेकोमा उहां अहिलेसम्मकै ठूलो उपलब्धि मान्नुहुन्छ भने सुसाइड गर्ने अन्तिम निर्णयमा पुगेका दूर्ब्यसनकारी सयौं फ्रष्ट्रेड नवयुवाहरुलाई बचाएकोमा सबैभन्दा सन्तुष्टि मान्नुहुन्छ ।

उहाँको हेभन्ली निर्वाणा पाथ, प्रेमबादमा आधारित दर्शनको बिश्वब्यापी अभियान र उहाँको सन्याशी जीवनका विविध पाटाहरुका बारेमा केन्द्रित रहेर गरिएको कुराकानी यसप्रकार छ ।

यहाँको परिचय कसरी दिने गर्नुभएको छ ?
म एउटा सामान्य सन्याशी हुँ । जो संग एउटा प्रेमभाव हामी मान्छेमाझ भयो भने मात्र समाजमा शान्ति र खुशी छाउन सक्छ, हामीलाई धनसम्पत्ति र मानले खुशी दिने हैन, हामीलाई खुशी दिने सन्तोषमनले हो, त्यो खालको भावना हामी सबैमा फैलिनुपर्छ अनि बाचुञ्जेससम्म जतिसक्दो अरुको सेवा गर्नुपर्दछ, हामी आफ्नो लागि मात्र होईन, अरुको लागि पनि जिउनुपर्दछ, मावनताको कुराका साथै पशुपन्छी प्राणीलाई पनि माया गर्नुपर्छ ।अहिलेको संसारमा प्रेमभाव नै सबैभन्दा ठूलो कुरा हो भन्ने खालको विचार लिएर हिंड्ने एक जना सामान्य सन्याशी यात्री हुँ म । मलाई ओमनन्द भनेर पनि चिन्नुहुन्छ ।

प्रेमबाद धर्म हो कि दर्शन ?
यो धर्म भन्दा पनि सर्बधर्मको मान्यता म राख्दछु । सारा धर्महरुमा भएका राम्रा ज्ञानहरु जीवनमा लागु गर्नुपर्छ । यो धर्म सानो र त्यो धर्म ठूलो भनेर कहिलै भन्नुहुदैन । मान्छेमा हुनुपर्ने गुण नै एकअर्कालाई आफु जस्तै पनि हेर्न सक्नुपर्दछ । सबै धर्मलाई आफ्नो प्रकारले हेर्न सक्नुपर्दछ अनि धर्मभन्दा पर रहेर पनि हामीले मानवताका कुरा. सेवाका कुराहरु सबै मिलेर गर्नुपर्दछ । त्यसैले एक हिसाबमा यो सर्बधर्म जस्तो हो तर अर्को हिसाबमा दर्शन जस्तो मात्र पनि हो किनभने यहाँ धर्मको मात्र कुरा हुँदैन । यहाँ जीवन र जगतको बिषयमा धेरै कुराहरु हुन्छन् ।

यो दर्शनको बिकास र बिस्तार कसरी सुरु भयो ?
यो दर्शनलाई अगाडि सार्ने सन्दर्भमा संख्यात्मक भन्दा गुणात्म हिसाबले हेरिने गरिन्छ । मासलाई भन्दा आवश्यकतालाई ध्यानमा राखेर त्यहाँ पुग्ने गरेको छु । मैले सानैदेखि ध्यान तपस्याहरु गर्ने गर्थे । त्यतिबेलासम्म मलाई मृत्यू के हो भन्ने कुरा थाहा थिएन । एक दिनको कुरा हो मलाई बोकेर डुलाउँने छिमेकको एक जना अंकलको अकास्मात मृत्यु भयो । त्यसपछि मलाई मृत्यू के हो भन्ने कुराले नराम्रोसंग झस्कायो ।अघिल्लो दिनसम्म मलाई बोकेर डुलाउने अंकल कहाँ जानुभयो त ? यो प्रश्नले मलाई अति नै सताउन थाल्यो । यसको चित्तबुझ्दो जबाफ कसैबाट पाउन सकिन । माकुरा मरेको देख्दा पनि बडो दुख लाग्थ्यो, किन यस्तो हुन्छहोला भनेर रुन्थे । यो मृत्यु भन्ने कुराले मलाई निकै पीडा दिन्थ्यो, यसैको जबाफको खोजीमा सानो बच्चाकालदेखि अनायसै तपस्या र ध्यानमा लिन हुन थालें । जब म आँखा बन्द गरेर ध्यानमा तल्लिन हुन्थे मलाई स्वर्णिम आनन्द प्राप्त हुन्थ्यो भने यो अनुत्तरित जिज्ञासाहरुको उत्तर भेट्टाएजस्तो लाग्थ्यो अनि मनमा एक किसिमको खुशी नै खुशी र आनन्द प्राप्त हुन्थ्यो । जब ध्यान र तपस्याको माध्यमबाट मैले नसोचेको तागत र ज्ञान प्राप्त गर्न थाले त्यसपछि मैले त्यसलाई बाँड्न कमण्डलु बोकेर गाउँभरि हिंड्न थाले । हिड्दै जाँदा सबैभन्दा पहिले परिवार र समाजमा हुने झैझगण्डा र कलहको बिउ जाँडरक्सी सेबन हो भन्ने कुरा पत्ता लगाएँ । दिनभरि काम गरेर थाकेर आएका महिला दिदीबहिनीहरुमाथि श्रीमानहरुले गर्ने ज्यादती र गाउँघरमा पर्ने अनिकालको कारण पनि जाँडरक्सी हो भन्ने ठहर गरें । त्यसको रोकथामका लागि जाँडरक्सी सेवन गर्न हुँदैन भन्ने अभियान चलाएँ र ईश्वरका नाममा गरिने बलिप्रथा पनि सही होइन भनेर चेतना फैलाउने काम गरें । समयक्रममा यसले ब्यापकता पनि पाउँदै गयो ।

यो दर्शनको मुख्य उद्देश्य के त ?
मानिसहरुमा रहेको चेतनाको बिकास गर्नु, उनीहरुमा प्रेमभाव फैलाउनु र समाज सुधार गर्नु हो ।यसैअनुसार नेपाल लगायत बिश्वका धेरै मुलुकहरु जहाँ नेपालीहरु हुनुहुन्छ, त्यहाँ पुगेर आफ्नो विचार पस्कने गरेको छु । लभिङहोम, अनाथालय केन्द्रहरुको बिस्तार गर्ने अभियानमा लागिरहेको छौं ।

’हेभन्ली निर्वाणा पाथ’ नाम कसरी जुराईयो ?
प्रेम र शान्तिको सन्देश फैलाउन बिभिन्न राष्ट्रहरुमा गएर कार्यक्रम गर्न र कानुनी प्रक्रियामा जान कुनै न कुनै नामको आवश्यकता परेपछि लामो सोच र चिन्तनपछि यो नाम जुराईएको हो, यसको आफ्नै अर्थ छ । हरेक धर्मले मान्दै आएको एउटै तथ्य भनेको मृत्युपर्यन्त स्वर्गको अभिलाषा हो अर्थात परमधाम वा ब्रम्हालोक नै हो । आध्यात्मिकताको हिसाबले भन्नुपर्दा स्वर्ग सबै धर्म मान्नेहरुको साझा गन्तब्य हो । यसबारेमा सुक्ष्मरुपले जानकारी गराउने दर्शनको नाम हेभन्ली निर्वाणा पाथ राखिएको हो । यसको अर्थ, कुनै धर्मसंग नजिक र कुनै धर्मसंग टाढाको सम्बन्ध भन्ने होईन न त यसमा कुनै ग्रुपिजमको गन्ध नै छ । हाम्रो सबै धर्मसंग बराबर सम्मान रहेको छ । किन कि बिश्वका सात अरव मानिसहरु सबैको साझा धर्म न त हिन्दु हुन सक्छ, न त क्रिष्चियन, न त मुस्लिम, न त बुद्ध, न त अरु कुनै धर्म । नास्तिकहरु बाहेक सबै धर्महरुको अन्तिम लक्ष स्वर्ग अर्थात हेभन प्राप्ती नै हो भन्ने हाम्रो मान्यता हो । स्वर्ग प्राप्तीको प्रमुख आधार प्रेम हो । त्यसैले प्रेमभाव सबैमा जाग्नुपर्छ । सबैजना प्रेममा जिउन जान्नुपर्दछ, असल र राम्रो मान्छे बन्नका लागि पनि प्रेम नै एकमात्र आधार हो । त्यही प्रेमभाव फैलाउने दर्शनको नाम हेभन्लि निर्वाणा पाथ हो । यो सबै धर्महरुको समिकरण हो, साझा हो । यद्यपि यसले धर्मको मात्र कुरा गर्दैन ।

यहाँलाई सम्बोधन गरिने मास्टर गड्याञ्जल भनेको कस्तो उपाधि हो ?
अमेरिका, बेलायत लगायत बिश्वका थुप्रै देशका विद्वानहको उपस्थिति रहेको भारतको मुम्बईमा भएको एउटा इन्टर शो कन्फेरेन्शमा मैले दिएको प्रवचन राम्रो लागेकोले मलाई यो उपाधि दिईएको हो । कम उमेरमा यति धेरै आध्यात्मिक ज्ञान रहेछ भनेर उहाँहरुले दिनुभएको एउटा टाईटल हो । त्यसपछि सबैबाट त्यसैको प्रयोग हुन लागेको हो, मेरो चाहना होईन । मेरो नाम ओमनन्द नै हो ।

यहाँलाई भविष्यवेत्ताको रुपमा पनि चित्रण गरिन्छ नि ?
हो मैले भविष्यवाणी पनि गर्छु, २०५८ सालमा राजदरबार हत्यकाण्ड हुने कुरा गर्दा मलाई प्रशासनले पाँचथरमा जेल हालेको थियो । रातीको २ बजे प्रहरीहरु आएर मलाई गिरफ्तार गरेर नराम्रोसंग घिसार्दै लगेका थिए । कुटाई त कति खाईयो, खाईयो । त्यतिबेला लागेको चोटको दाम मेरो शरीरमा अहिले पनि छ । ध्यान र तपस्यामा लिन हुँदा दरबारबाट पुरा रगतको खोलो बगेको देखेपछि मैले त्यो भविष्यबाणी गरेको थिए । त्यस्तै ठूला ठूला अप्रिय घटना हुनुपूर्व मलाई सपनामा संकेत मिल्ने गरेको छ । त्यसैको आधारमा गरिएको भविष्यबाणीहरु सत्य साबित हुँदै आएका छन् ।

देशको अवस्था बारे पनि भविष्यवाणी गर्न सकिदैन ?
मलाई लाग्छ नेपालको सन्दर्भमा आध्यात्मिक हिसाबले भविष्यबाणी गर्नै पर्दैन । हामी सबैले क्यालकुलेशन गरेर हेर्न सक्छौ, चित्र प्रष्ट छ कि नेपाल धेरै पछाडि परिसकेको छ । अझै पछाडि पर्ने संकेतहरु देखिएका छन् । कतिपय अवस्थामा देश राम्रो हुनका लागि गतिलो राजनेता जन्मिनुपर्दछ । कुनै दल बिशेष र पार्टी राम्रो भएर मात्र देश नबन्ने रहेछ, नेता (ब्यक्ति) राम्रो हुनुपर्दो रहेछ भन्ने कुरा सिंगापुर, मलेसिया, थाईल्याउण्डबाट सिक्न सकिन्छ । नेपाली जनतामा चेतनाको बिकास हुन धेरै ढिलाई भईरहेकोले पनि मुलुकले खोजेजस्तो नेता नजन्मेको हुन सक्छ ।

यहाँको प्रेमबादको दर्शन बिस्तारका क्रममा बिश्वका ८० मुलुकपछि बल्ल जापानलाई सम्झनुभयो, यसको कारण ?
त्यस्तो खासै कारण त केही छैन । यसअघि पनि पटक पटक गरेर ५, ६ पटक जापान आएको छु । तर ब्यवस्थित र अलि तयारीका साथ कार्यक्रम गर्ने उपयुक्त वातावरण मिलेको थिएन । सामान्य भेटघाट कार्यक्रमहरु हुने गरेकै हुन् । यसपटक अलि तयारीका साथ कार्यक्रम हुन लागेकोले पहिलोपटक जस्तो लागेको हो । मलाई बिश्वास छ जापानबासी नेपालीहरुले आइतबार टोकियो रोधी क्लवको सभा हलमा  हुन गईरहेको ध्यान तथा आशिर्वचन कार्यक्रममा भाग लिएर प्राप्त अवसरको भरपुर उपयोग गर्नुहुने छ ।
g-3यो कस्तो खालको कार्यक्रम हो ?
अहिलेको घडिमा मान्छेहरुलाई के चाहिएको हो जस्तो लाग्छ भने उनीहरुलाई धन, सम्पत्ति मात्र चाहिएको छैन । उनीहरुलाई चाहिएको एउटै कुरा भनेको पिस हो । हामी आफुभित्रै शान्ति र चैन छैन । खाली पैसाको पछाडि काम, धन्दा, ब्यापार, ब्यवसाय, यो वा त्यो भन्दै ज्यान दुखाई दुखाई डौडधूप गरिरहेका हुन्छौं, त्यसैका कारण अधिकांश समय टेन्सनै टेन्सन र स्ट्रेसमा हुन्छौं । थोरै समय निकालेर मनलाई शान्त बनाएर काम गर्न सकिरहेका छैनौ । यसो गरिरहँदा हाम्रो आयु पनि कम हुँदै गईरहेको पत्तै पाएका छैनौं । आखिर मान्छे जन्मेर जीवनभरि दुखैदुख गर्न र टेन्शनै टेन्शन र पीडामा बिताउने हो भने त जीवनको अर्थ नै के रह्यो र ? त्यसो भएको हुनाले म चाहान्छु हामी मान्छे भएर अलिकति चेतना जगाऔं । तर खाली प्रवचन र भाषणले मान्छेको चेतना र जीवन परिवर्तन गर्न सकिदैन । मान्छे परिवर्तन हुन सबैभन्दा पहिले भित्रैबाट महसुश हुने गरी परिवर्तन हुन सक्नुपर्दछ, बाहिरबाट मात्र हैन । सुनेको र फिल गरेकोमा धेरै फरक पर्दछ । भित्रैबाट फिल हुने गरी परिवर्तन हुन ध्यान नै सबैभन्दा अचुक उपाय हो । ध्यानले मानिसको जीवनमा धेरै राम्रो गर्दछ, यसमा अदम्य तागत छ । हेभन्ली निर्वाणा पाथ जापानको आयोजनामा आइतवार हुने कार्यक्रममा यसैको बारेमा अलि बढि जोड दिइने छ । मेरो भनाईको मतलव काम नगर्नु, ब्यस्त नहुनु भन्न खोजेको होईन । तर काम गर्दाखेरी पनि एक खालको खुशी भएर काम गर्न सकौं । त्यो खालको चेतना हामीमा जाग्यो भने जति नै काम गरे पनि हामीलाई थकाई लाग्दैन, हामीभित्रको ऊर्जा खर्च भएजस्तो पनि हुँदैन, एक खालको आनन्द र मनोरञ्जनमै काम गरिरहेका हुन्छौं । ***

सम्बन्धित समाचार 
टोकियोमा एक दिवसीय ध्यान तथा आशिर्वचन कार्यक्रम हुने 

तपाईको प्रतिक्रिया