शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

टोकियो- कानूनी रुपमा तोकिएको समय भन्दा अत्याधिक बढी काम गर्ने ३ जना नेपाली बिद्यार्थी सहित काममा लगाउने २ जना जापानी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने नेपाली बिद्यार्थीहरुमा फुकुसिमास्थित सिनसिराकावा इन्टरनेशनल एजुकेशन एकेडेमीमा अध्ययनरत विद्यार्थीहरू रहेको स्थानीय संचार माध्यामले प्रकाशित गरेको छ ।

त्यसैगरी बिद्यार्थीहरुलाई बढी काम गर्नको लागि उत्प्रेरित गरेको अभियोगमा सो एकेडेमीका प्रमुख आचुसिओ सातो र उनकी श्रीमती तथा स्कुलकी उप-प्रमुख एमिकोलाई पनि प्रहरीले पक्राउ गरेको छ । स्कुलका प्रमुख सातो फुकुसिमा केनको साइगो गाउंपालिका सदस्य समेत रहेको समाचारमा उल्लेख छ । उनीहरुले आफ्ना बिद्यार्थीहरुलाई स्थानीय खाध्य उत्पादन कम्पनी तथा रेष्टुरेन्टहरुमा काम लगाउने गरेको बताईएको छ । प्रहरीको अनुसन्धानको क्रममा उनीहरुले आफ्ना बिद्यार्थीले तोकिएको भन्दा बढी काम गरेको थाहा नभएको बताउंदै आएका छन । पक्राउ परेका बिद्यार्थीहरुले हप्तामा बढीमा ६१ घण्टासम्म काम गर्ने गरेको थाहा लागेको प्रहरीले जनाएको छ । जबकी, बिद्यार्थीहरुलाई हप्तामा अधिकतम २८ घण्टासम्म काम गर्ने कानूनी रुपमा अनुमति दिइएको हुन्छ । यस अघि पनि फुकुओकास्थित एक बिद्यालयको संचालकलाई पनि यहि प्रकृतिको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

यसरी अबैधानिक रुपमा काम गर्ने गराउने जापानी भाषा बिद्यालयहरु पछिल्लो समयमा प्रहरी र इमिग्रेशनको अनुसन्धानको घेरामा पर्दै आएका छन । त्यस्ता बिद्यालयहरुलाई इमिग्रेशनले कालो सूचीमा राख्ने गरेको र उनीहरु मार्फत भिसा नवीकरणको लागि आवेदन दिएका बिद्यार्थीहरु भिसा नवीकरण नभएको पनि बेला बेलामा सुन्नमा आउने गरेका छन ।***

तपाईको प्रतिक्रिया