बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – परराष्ट्रमन्त्री डा प्रकाशशरण महत नयाँ दिल्लीमा बिहीबार आयोजित नेपाल भारत संयुक्त आयोगको बैठक सम्पन्न गरी आज स्वदेश फर्किनुभयो ।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री डा महतले सो बैठक सफल र उपलब्धिमूलक रहेको जानकारी दिनुभयो । उहाँले पत्रकारसँग भन्नुभयो– “बैठक उपलब्धिमूलक रह्यो, विगतमा भएका सम्झौता, आयोजना एवम् सहयोगको कार्यान्वयन गर्ने पक्षमा हामीले ठोस रुपमा कुरा राख्यौँ र भारतीय पक्षबाट पनि सकारात्मक जवाफ पाएका छौँ, यसको परिणाम चाँडै देखिनेछ ।” विगतमा सहमति भएर पनि कार्यान्वयनमा आउन नसकेका कैयौँ आयोजना र सम्झौतामाथि बृहत् समीक्षा गरी तिनको कार्यान्वयनका लागि दुवै पक्षबाट जुटेको सहमतिको माइन्युटमा हस्ताक्षर गरी आदानप्रदान गरिएको उहाँले बताउनुभयो ।
विद्युत् व्यापारको सुनिश्चितता, त्यस सम्बन्धमा भारतको आन्तरिक कानुनी प्रावधान अन्त्य गर्ने विषय, विशाखापट्नममा फिल्ड कार्यालय खोल्ने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई दुवै पक्षले अन्तिम रुप दिने, विकास आयोजनासम्बन्धी सबै समस्या शीघ्रातिशीघ्र समाधान गर्नेलगायत विषयमा गहन छलफल भएको र धेरै विषयमा सहमति जुटेकाले कार्यान्वयनको प्रक्रिया छिट्टै नै अघि बढ्ने जानकारी पनि उहाँले दिनुभयो ।
भूकम्पपीडितको सहायतार्थ भारतले उपलब्ध गराएको सहुलियत ऋणको उपयोग तथा महाकाली पुल र सडक तथा सिँचाइ परियोजना कार्यान्वयनका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने सहमति सो बैठकमा भएको थियो । हुलाकी सडक, ढल्केबार हेटौँडा सबस्टेसन निर्माण, सीमा क्षेत्रमा हुने गरेका डुबानका विषय, सीमा सुनिश्चितता, गण्डक सम्झौताबमोजिम नेपालले पाउनुपर्ने पानी वा संरचनागत सुविधा, रेलमार्गलाई नेपालसँग जोड्ने, भारतले आफ्ना कर्मचारीलाई दिइआएको सहुलियतपूर्ण भ्रमणमा नेपाललाई पनि गन्तव्य देशका रुपमा राख्न र भारतीयलाई बहुप्रवेश भिसाको व्यवस्था गर्नुपर्नेजस्ता विषयमा पनि नेपालका तर्फबाट ठोस रुपमा कुरा उठाएको उहाँले जानकारी दिनुभयो ।
उहाँले ठूला आयोजनादेखि जनतासँग प्रत्यक्ष रुपमा सरोकार राख्ने सानातिना विषयवस्तुमा पहिलो पटक यसरी उच्च तहमा र ठोस रुपमा उठाइएको जानकारी पनि दिनुभयो ।

तपाईको प्रतिक्रिया