बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

गौशाला – जलेश्वर नगरपालिका–१३ धबौलीस्थित दलित बस्तीमा झाडापखालाबाट एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जलेश्वर–१३ बस्ने श्रवण सदाकी छोरी दुई वर्षीया राधिका सदा रहेको जिल्ला जनस्वास्थ्य निरीक्षक सन्तोष ठाकुरले बताउनुभयो । झाडापाखालाबाट सिकिस्त भएकी राधिकालाई उपचारका लागि गएराति जिल्ला अस्पताल जलेश्वर ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । झाडापाखालाबाट सो वडाको दलित बस्तीमा ५२ जना प्रभावित भएको पनि उहाँले जानकारी दिनुभयो ।
चार दिनदेखि धबौलीमा झाडापाखालाको प्रकोप देखिएको र त्यसबाट गम्भीर रुपमा प्रभावित कमलेश सदा, उनकी आमा राजवती सदा, छोराहरु विवेक सदा र अमर सदाका साथै छिमेकी आलसी सदा, ज्ञानेन्द्र सदा, विकास सदा र विन्दिया सदालगायत आठजनाको उपचार जलेश्वर अस्पतालमा भइरहेको छ ।
सो बस्तीका बासिन्दाले पाँच दिनअघि घर नजिकै रहेको एउटै खाल्डोबाट दूषित माछा र घोँघी खाएपछि उनीहरु झाडापाखालाबाट प्रभावित भएका थिए । जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरको नेतृत्वमा गएको चिकित्सकको टोलीले सो क्षेत्रमा औषधि समेत लगेर उपचार गरिरहेको र प्रभावितको अवस्था सामान्य भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया