बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

pranab-mukherjee_president-of-india

काठमाडौं – भारतका राष्ट्रपति प्रणव मुखर्जी १७ कात्तिकमा तीनदिने राजकीय भ्रमणका क्रममा नेपाल आउँदै हुनुहुन्छ । भारतीय विदेश मन्त्रालयले बिहीबार मुखर्जीको भ्रमण सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा आउन लाग्नुभएका मुखर्जीले जनकपुर र पोखराको समेत भ्रमण गर्ने कार्यक्रम छ । तीनदिने नेपाल भ्रमणका क्रममा मुखर्जीको व्यस्त तालिका भने अझै सार्वजनिक गरिएको छैन ।

राष्ट्रपति मुखर्जी विशेष विमानबाट १७ कात्तिक बिहान साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नु हुनेछ । उहाँ १९ कात्तिक साँझ ५ बजे दिल्ली प्रस्थान गर्नु हुनेछ । मुखर्जी र उहाँसँग आउने भारतीय उच्च अधिकारीलाई होटेल हायात बौद्धमा बस्ने व्यवस्था मिलाइएको छ । राष्ट्रपति मुखर्जीसँग भारतीय मन्त्री, सांसदसहितका उच्च पदाधिकारी आउँदै छन् ।

आएकै दिन राष्ट्रपतिसँग भेटवार्ता र रात्रिभोज
मुखर्जी काठमाडौं अवतरण भएलगत्तै शीतलनिवासमा राष्ट्रपति भण्डारीसँग भेटवार्ता तय भएको छ । ‘१७ गते नै राष्ट्रपतिसँग भेटवार्ता हुनेछ, त्यही साँझ होटेल सोल्टीमा राष्ट्रपति विद्या भण्डारीले मुखर्जीको सम्मानमा रात्रिभोज आयोजना गर्नुभएको छ,’ सम्बद्ध कूटनीतिक अधिकारीले नयाँ पत्रिकासँग भने । मुखर्जीसँग १८ कात्तिकमा प्रधानमन्त्रीसहित सबै मुख्य दलका शीर्ष नेताले होटेल हायातमै शिष्टाचार भेटवार्ता गर्नु हुनेछ ।

मुखर्जीको व्यस्त तालिका
१७ कात्तिक : भारतीय राष्ट्रपति प्रणव मुखर्जी मध्याह्न १२ः३० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नु हुनेछ। त्यसलगत्तै उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नु हुनेछ। साँझ सोल्टी होटेलमा राष्ट्रपति भण्डारीले भारतीय समकक्षीको सम्मानमा रात्रिभोज आयोजना गर्नु हुनेछ । मुखर्जी बस्ने व्यवस्था होटेल हायातमा गरिएको छ ।

१८ कात्तिक : राष्ट्रपति मुखर्जी काठमाडौंमा हुने दुई कार्यक्रममा सहभागी हुनु हुनेछ । त्रिभुवन विश्वविद्यालयले एक कार्यक्रमबीच उहाँलाई मानार्थ विद्यावारिधि उपाधिबाट सम्मान गर्नेछ । उहाँले कार्यक्रमलाई सम्बोधन पनि गर्नु हुनेछ । मुखर्जीलाई काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन गर्ने कार्यक्रम पनि रहेको छ । त्यही दिन बेलुका प्रमुख दलका शीर्ष नेताहरूले होटेल हायातमै मुखर्जीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

१९ कात्तिक : तेस्रो दिन बिहान १० बजेतिर राष्ट्रपति मुखर्जी जनकपुर जाने कार्यक्रम छ । त्यहाँ उहाँको अभिनन्दन गर्ने कार्यक्रम छ । जनकपुरबाट उहाँ पोखरा लाग्नु हुनेछ । त्यहाँमा उहाँले भारतीय गोर्खा सैनिकलाई सम्बोधन गर्नुका साथै फेवाताल घुम्ने कार्यक्रम छ । पोखराबाट काठमाडौं फर्केर उहाँ साँझ ५ बजे दिल्ली फर्किनु हुनेछ ।

नयाँ पत्रिका दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया