शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

jhalanath-khanaljn-1टोकियो – नेपालका पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अहिले जापानमा हुनुहुन्छ । उहाँ मेट्रोपोली सिटीहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जापान आउनुभएको हो । पूर्व प्रधानमन्त्री खनालको स्वागतमा नेपाली दूतावासले बुधबार साँझ टोकियोमा एक भेटघाट तथा रात्रीभोजको आयोजना गर्‍यो । सो अवसरमा पूर्व प्रधानमन्त्री खनालसंग लोकमान प्रकरणका कारण देशमा उत्पन्न पछिल्लो राजनैतिक तरंग, संबिधान कार्यान्वयनमा देखिएका चुनौती, जापान लगायत थुप्रै मुलुकहरुमा राजदूत नियुक्तिमा भईरहेका ढिलाईका कारण, राजदूत नियुक्तिमा राजनैतिक भागबण्डाको सँस्कार, बिदेशमा बस्ने नेपालीहरुलाई मुलुक निर्माण अभियानमा कसरी जोड्न सकिन्छ भन्ने सवाल, नेता खनालको आगामी राजनीतिक जीवन र जिम्मेवारी लगायतका बिषयमा समुद्रपारि डट कमका लागि तिलक मल्लले गरेको कुराकानीको संपादित अंश :

यहाँले लोकमानसिंह प्रकरणलाई कसरी हेरिरहनुभएको छ ?
यो दुखद प्रकरण हो, लोकमानसिंह कार्कीलाई हामीले नै त्यो अत्यन्त गरिमामय ओहदामा पुर्‍याएका हौं । हामीले त्यो पदमा पुर्‍याउँदाखेरी देशमा स्वच्छ प्रशासन, सुशासन, सबैखाले विकृतिहरुबाट मुक्त प्रशासन बनाउने कुराहरुमा उहाँबाट योगदान पुग्ला भन्ने हाम्रो अपेक्षा थियो । तर त्यसका विपरित उहाँले संबिधानलाई मिच्ने, संबिधानका मर्म र भावनाका बिपरित जाने, सुशासनका अवधारणाहरु बिपरित जाने र त्यो संस्थालाई नराम्रो ढंगले दुरुपयोग गर्ने कामहरु गरेको हुनाले हामीले महाअभियोग लगाउनुपर्ने अवस्था सिर्जना भयो । यो महाअभियोगको प्रस्ताव दर्ता भईसकेको छ । संसदबाट सर्बसम्मतरुपमा महाअभियोग समिति गठन भैसकेको छ । यस सन्दर्भमा छलफल सुरु भैसकेको छ । मलाई पुरा बिश्वास छ उक्त सन्दर्भमा संसदमा भएका अधिकांश पार्टी एकताबद्ध हुनेछन् र दुईतिहाई भन्दा बढि बहुमतले यो प्रस्ताव पारित हुने छ । जहाँसम्म यो प्रस्ताव दर्ता गर्ने बेलाको कुरा छ, सबै पार्टीसंग वार्ता गर्न संभव थिएन, नेकपा एमालेले नेकपा माओबादी केन्द्र र नेपाली काँग्रेसका शीर्षस्थ नेताहरुसंग परामर्श गरेर ल्याएको हो । हरेक पार्टीको यो प्रस्तावलाई निर्णयमा पुर्‍याउने आ-आफ्नै प्रक्रियाहरु छन्, उहाँहरु सहमति निर्माण गर्दै हुनुहुन्छ, मलाई के बिश्वास छ भने अन्तमा सबै पार्टी यो प्रस्तावको पक्षमा उभिनुहुने छ र यो प्रस्ताव प्रचण्ड बहुमतले पारित हुने छ ।

लोकमानसिंह कार्कीलाई तपाईहरुले नै त्यो जिम्मेवारीमा नियुक्त गरेर गल्ती गरेको जस्तो लाग्दैन ?
हामीले जुन अपेक्षा र बिश्वासका साथ उहाँलाई त्यो गरिमामय जिम्मेवारीमा नियुक्त गरेका थियौं, त्यो अनुरुप काम नहुँदा गल्ती गरेको महशुस भईरहेको छ । तत्कालिन एमालेको अध्यक्षका हैसियतले म गल्ती भएको स्वीकार गरेको छु ।

लोकमानसिंह कार्की प्रकरणमा बैदेशिक शक्तिको हात छ कि छैन ? छैन भने आफैले नियुक्ती गरेको आयुक्तलाई कार्बाही गर्न राज्यनै लाग्नुपर्ने स्थिति किन ?
राष्ट्रिय हित र एकताको सवालमा हामी नेपालीहरु सँधै एक भएर उभिने गरेका छौं र हामी उभिन्छौ, यस प्रकरणमा जस्तोसुकै अन्तर्राष्ट्रिय शक्तिहरुको चलखेल भए पनि अब त्यो चलखेलले लोकमानसिंहलाई बचाउन संभव छैन । हामीले मुलुकलाई सुशासन तर्फ लैजान खोजिएको हो, हाम्रो संबिधानलाई कार्यान्वयन गर्न खोजिएको हो । यस कार्यमा आईपर्ने बाधा अवरोधसंग राष्ट्रियरुपमा एकता निर्माण गरी हामी अगाडि बढ्ने छौं ।

लोकमानसिंहलाई महाअभियोगको प्रस्तावबाट कार्बाही गर्दा उनले भ्रष्टाचारी भनेर कालोसूचीमा सूचीकृत गरेका भ्रष्टाचारीहरु त उम्कने मौका पाउने भए नि त ?
उनले जुन प्रकारका मानिसहरुलाई अपराधी भनेर घोषित गरेका छन् ती मानिसहरुकै बारेमा छानबिन गर्नुपर्ने स्थिति बनेको छ भने उनले जुन प्रकारले काम गरिरहेका छन् उनकै बारेमा पनि छानबिन गर्नुपर्ने अवस्था बनेको छ । अख्तियार दुरुपयोग निवारण आयोगलाई बिशुद्ध बनाउनुपर्दछ अनि मात्र सुशासनका कुराको परिकल्पना गर्न सक्दछौं ।

नेकपा माओबादी केन्द्र र नेपाली काँग्रेस गठबन्धन सरकारको कामकार्बाहीलाई कसरी हेरिरहनुभएको छ ?
नेकपा माओबादी केन्द्र र नेपाली काँग्रेस गठबन्धनको सरकारले अहिलेका समस्या हल गर्न सक्दैनन् । ऐतिहासिक जनआन्दोलन, राजतन्त्रको उन्मुलन र गणतन्त्रको स्थापना, संबिधान सभाको निर्बाचन, संबिधान निर्माण कार्य जस्ता ऐतिहासिक कार्यहरु देशका मुख्य शक्तिहरु मिलेर मात्र संभव भएको हो । अब मुलुकको कार्यभार भनेको संबिधानको सफल कार्यान्वयन हो, जसअनुरुप अबको १५ महिनाभित्र ३ वटा निर्बाचन सम्पन्न गरिसक्नुपर्दछ । स्थानीय निकाय, प्रदेश र राष्ट्रिय स्तरको निर्बाचन २०७४ माघ ७ गते भित्र गरिसक्नुपर्दछ । यदि यी निर्बाचनहरु गर्न सकेनौ भने संबिधान कार्यान्वयन गर्न सक्दैनौं । यसका निम्ति तीनवटा प्रमुख राजनीतिक पार्टीबीच एकता कायम हुनु जरुरी छ । अहिलेको गठबन्धनले मात्र यी कामहरु गर्न कुनै हालतले सक्दैन । एक्लै हिड्न खोजे मुलुक दुर्घटनामा जान्छ ।

संबिधानमा देखिएको मधेसको असन्तुष्टि के हो ? यसलाई कसरी सल्टाउने ?
सबै जातजाति, संप्रदाय र भूगोलका प्रतिनिधिहरु मिलेर बनाएको संबिधान भएकोले यो संबिधान नेपालको अहिलेसम्मकै उत्कृष्ट, लोकतान्त्रिक र प्रतिनिधिमुलक संबिधान हो । संबिधानमा केही बिषयलाई लिएर केही असन्तुष्टिहरु अवश्य छन् । यसलाई सिंगो मधेशको असन्तुष्टि भन्न मिल्दैन । संबिधान कार्यान्वयन गर्दै जाँदा मधेशका जायज मागहरुलाई पनि संबोधन गर्दै जानुपर्दछ । तर गलत कुरालाई संबोधन गर्नतिर लागेर संबिधानको कार्यान्वयन पक्षलाई पछि धकेल्नु नितान्त गलत हुन्छ । हामीले संबिधानलाई कार्यान्वयन पनि गर्दै जाने र सबैलाई समेट्दै अगाडि बढ्नुपर्दछ ।

रिक्त राजदूत नियुक्तिमा किन यसरी ढिलाई भएको हो ? भागबण्डा नमिलेर त होला नि ?
अन्य थुप्रै मित्रराष्ट्रहरु लगायत जापानजस्तो असल मित्र राष्ट्रका लागि राजदूत नियुक्तिमा कुनै पनि हालतले ढिलाई हुनुहुँदैनथ्यो । हाम्रो पार्टीको नेतृत्वको सरकारले जापान लगायत रिक्त मुलुकहरुका लागि राजदूत नियुक्तिको प्रक्रिया अगाडि बढाएको थियो । अहिलेको गठबन्धनको सरकारले त्यसलाई रद्द गरेको अवस्था छ । फेरि अरु नियुक्ति गर्न सकेको छैन । रिक्त मुलुकहरुमा अविलम्ब राजदूत नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराउन चाहान्छु । जहाँसम्म राजनैतिक नियुक्तिले समस्या आएको भन्ने छ, हाम्रो जस्तो देशमा राजनैतिक र कूटनैतिक दुवै पृष्ठभूमिका ब्यक्तिलाई राजदूत नियुक्ति गर्ने प्रचलन छ । यो ठिकै पनि यसरी छ कि, कतिपय अवस्थामा कूटनैतिक नियुक्तिले मात्र भनेजस्तो मापदण्ड अनुसारको आवश्यकता पुरा हुन नसक्ने भएकोले राजनैतिक नियुक्तिलाई पनि अन्यथा लिन हुँदैन । तर बिस्तारै कूटनैतिक पृष्ठभूमिबाट मात्र राजदूत नियुक्ति गर्ने सँस्कारको क्रमिक बिकास गर्न सकियो भने मात्र दिगो र स्थायी हुन्छ भन्ने मेरो मान्यता रहेको छ । यसमा हामी कन्भिन्स छौं ।

असहज परिस्थितिमा गुज्रिएको मुलुकको अबको राजनैतिक कोर्स कसरी अगाडि बढ्छ त ?
अबका दुई वर्ष हाम्रो मुलुकको लागि इतिहासमै अत्यन्त चुनौतीपूर्ण र संभावनापूर्ण वर्षकोरुपमा रहनेछन् । यो दुई वर्ष भित्रमा देशको संबिधानलाई कार्यान्वयन गरिसक्नुपर्ने छ । यो कार्यान्वयन गर्ने काममा फेरि एक पटक देशका सबै राजनीतिक पार्टीले संकल्प गर्न सक्नुपर्दछ र अग्नीपरीक्षामा पारित हुन सक्नुपर्दछ । त्यसका लागि उनीहरुले आफ्ना जतिसुकै बिमतिहरुलाई पनि थाँती राखेर राष्ट्रियताको साझा सवालमा एकताबद्ध हुनुपर्दछ । संबिधानलाई कार्यान्वयन गर्नुपर्दछ । यो संबिधानलाई कार्यान्वयन गर्नु भनेको नेपाललाई दिगोरुपमा स्वतन्त्र, सार्बभौमसत्ता सम्पन्न,  राष्ट्रिय अखण्डतायुक्त मुलुककारुपमा उभ्याउने र मुलुकमा आर्थिक बिकास, निर्माण र रुपान्तरणको दिशातर्फ मुलुकलाई अगाडि बढाउने एउटा बलियो आधार निर्माण गर्ने कुराको ग्यारेन्टी हो ।

डायस्पोराका विद्वत नेपालीहरुलाई मुलुक निर्माणको मुलधारमा जोड्ने कुरामा राज्यले चासो देखाएको पाईएन नि ?
मुलुकमा उपयुक्त रोजगारीका अवसरहरुको अभावमा युवा शक्तिको ठूलो हिस्सा बिदेशिन बाध्य छ । अब हामीले क्रान्ति, संघर्ष र उथलपुथलको युगलाई पार गरिसकेका छौं । हामीले ठुला ठुला उपलब्धिहरुलाई संस्थागत गर्दै संबिधान निर्माण गरेका छौं । अब स्थिररुपले बिकास, निर्माण र रुपान्तरणको युगमा प्रवेश गरिसकेका छौं । संबिधानलाई कार्यान्वयन गर्दै यो देशलाई रुपान्तरण र आर्थिक सम्पन्नताको नयाँ बाटो निर्माण गर्नुपर्दछ । त्यो बाटोमा स्वदेश तथा बिदेशमा रहनुभएका सम्पूर्ण युवाहरुलाई परिचालित गर्नुपर्दछ । बिदेशमा रहेका नेपालीहरुमा भएका अनुभव, सीप, साधन, कला र दक्षतालाई मुलुक निर्माणमा उपयोग गर्ने दिशामा जानुपर्दछ । त्यसका लागि हामी उपयुक्त वातावरण निर्माण गर्ने छौं, मुलुक निर्माण गर्ने साझा अभियानमा हातेमालो गर्न बिदेशमा रहनुभएका समस्त नेपालीहरुमा अपिल गर्दछु । जापानमा रहनुभएका नेपालीहरुलाई पनि म के अपिल गर्न चाहान्छु भने यहाँको उच्च प्रविधियुक्त सीप सिक्नुस र नेपाल लगेर अधिकतम योगदान गर्नुस् ।

नेताहरुले सपना बाँडेको धेरै भयो, नेपाली जनताहरुमा चरम निराशा ब्याप्त छ, कहिलेसम्म यो क्रम चलिरहन्छ ?
निराशाको सम्पूर्ण चक्रब्युहहरुलाई समाप्त गर्नुपर्छ । हामी आशाबादले ओतप्रोत हुनुपर्छ । हामी यो दुनियाँको सुन्दरतम मुलुकमा छौं । हामीसंग सर्बोच्च हिमशृङ्खलाहरु छन् र राम्रो उब्जाउ हुने मैदानी फाँटहरु छन् । हामीकहाँ १ सय २५ वटा जातजाति र १ सय २३ वटा भाषाभाषी बोलिने विविधताभित्रको समाजमा छ, एकता छ । १० वटा धर्मावलम्बीहरु भएको नेपालीहरु मिलेर बसेको उदाहरण छ । निराशाका भावनाहरु अब त्याग्नुपर्छ । नेपाललाई सम्पन्न र समृद्ध मुलुककारुपमा बिकास गर्न संभव छ । सबैमा आशाबादी जगाउनुपर्छ । अब नयाँ संकल्प लिएर हामी सबै अगाडि बढ्नुपर्छ । अबको कोर्स मुलुकलाई सम्पन्न बढाउनेमा केन्द्रित हुने हो ।

अब यहाँको राजनैतिक जीवनका आगामी योजना के छन् ?
म यो देश र नेपाली जनताका लागि काम लाग्ने कुनै पनि काम गर्नका लागि म अहिले पनि सक्रिय छु, म निष्क्रिय छैन । मैले हाम्रो पार्टीलाई चार पटक नेतृत्व गरेर आएँ । यो देशको प्रधानमन्त्री पनि भएँ । अब आवश्यक पर्‍यो भने म राष्ट्रपती पनि हुन सक्छु, फेरि हाम्रो पार्टीको अध्यक्ष पनि हुन सक्छु । फेरि पनि म प्रधानमन्त्री पनि हुन सक्छु । आईपर्ने जिम्मेवारीका निम्ति म जहिले पनि तयार छु । तर कुनै पद प्राप्तीको महत्वाकाँक्षा लिएर काम गर्न म कहिलै तयार छैन । देश र जनताले सुम्पने जिम्मेवारी पुरा गर्न भने म जहिले पनि तयार छु ।

बिकसित मुलुकहरुमा जस्तै प्रधानमन्त्री भईसकेको मान्छे सो भन्दा तलको जिम्मेवारी आईलाग्यो भने के तयार हुनुहुन्छ ?
मैलै माथि नै भनिसके देश र जनताले दिएको जस्तोसुकै जिम्मेवारी पनि निर्बाह गर्न तयार हुने छु ।

अन्तमा जापानबासी नेपालीहरुलाई केही भन्नु छ कि ?
जापानजस्तो सुन्दर मुलुकमा बस्नुभएको छ, आफुलाई स्थापित गर्नुहोस्, संगसंगै मुलुक बनाउने जिम्मेवारीलाई पनि नबिर्सनुहोस् । ढिलै भए पनि बडा दसैंको र आउँदै गरेको ठुलाठुला चाड पर्वहरु तिहार, छठ, इद, न्हुदय भिन्तुना, ल्होसारको हार्दिक शुभकामना ब्यक्त गर्न चाहान्छु । मेरा आफ्ना भनाईहरु राख्ने अवसर दिनुभएकोमा जापानबाट सञ्चालित लोकप्रिय अनलाइन समुद्रपारि डट कमलाई धन्यबाद दिन चाहान्छु । ***

तपाईको प्रतिक्रिया