बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

भक्तपुर – भक्तपुरका भूकम्प प्रभावितलाई तिहारपछि मात्रै अनुदान रकम वितरण गरिने भएको छ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना इकाइ कार्यालयले स्थानीय निकायमार्फत भूकम्प प्रभावितलाई पहिलो किस्ताबापतको रु ५० हजार तिहारपछि मात्रै वितरण गरिने भएको हो ।

भूकम्पीय आवास पुनर्निर्माण परियोजना, जिल्ला आयोजना कार्यान्वयन समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी धु्रवप्रसाद कोइरालाले लाभग्राहीको अन्तिम नामावली आउने क्रम जारी रहेकाले तिहार अगाडि अनुदान वितरण गर्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “शुक्रबारसम्म लाभग्राहीको अन्तिम नामावली आइपुग्छ, दाबी विरोध गर्नेसहितको एकसाताको म्याद सकिएलगत्तै अनुदान वितरण गर्छौँ ।”

तिहारलगत्तै जिल्लाका छ वटै नगरपालिकाकाको वडा कार्यालयमा नामावली टाँसेपछि त्यसको एकसातामै वडा कार्यालयबाट अनुदान वितरण गरिने भएको छ । भक्तपुरमा अहिलेसम्म २४ हजार ९०२ जना भूकम्प प्रभावितको पहिचान भएको समितिका उपसंयोजक दीपक पाठकले जानकारी दिनुभयो ।

यसमध्ये भक्तपुर नगरपालिकामा छ हजार ८८८, नगरकोट नगरपालिकामा चार हजार ९१९, अनन्तलिङ्गेश्वर नगरपालिकामा तीन हजार ५४, चाँगु नगरपालिकामा पाँच हजार २८४, सूर्यविनायक नगरपालिकामा तीन हजार ६१७ र मध्यपुरथिमि नगरपालिकामा एक हजार १४० जना लाभग्राहीको पहिचान भएको छ ।

तपाईको प्रतिक्रिया