बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौँ – व्यवस्थापिका–संसद्को बैठक १५ दिनपछि बस्ने गरी स्थगित भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीबिरुद्ध महाअभियोग प्रस्तावमाथिको छलफल मंगलबारदेखि सुरु भए पनि त्यसलाई १५ दिनसम्म पर धकेलिएको छ ।

छलफलमा बोल्न धेरै सांसदले नाम लेखाए पनि सभामुखले २५ कात्तिकसम्मका लागि बैठक स्थगित गरेकी हुन् । तर, सभामुख ओनसरी घर्तीमगर एक्लैले यति लामोसमयसम्म बैठक सार्ने निर्णय भने लिएकी होइनन् । प्रमुख दलहरूकै सुझावमा सभामुखले वैठक पर सारेकी हुन् । नजिकिँदै गरेको तिहार, छठ पर्वलगायत कारण देखाउँदै संसद् बैठक १५ दिनपछि बोलाइएको हो ।

तर, सत्तारूढ दल काँग्रेससँग सहमति नभएका कारण संसद् बैठक लामो समयलाई स्थगित गरिएको हो । संसद्को सबैभन्दा ठूला दल कांग्रेसले महाअभियोगको विषयमा आफ्नो निर्णय गर्न समय लगाएपछि संसद्मा महाअभियोगको छलफल पनि सरेको नेताहरूले बताएका छन् ।

राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले चाडबाड पनि परेको र दलहरूबीच सहमति जुटाउन पनि समय आवश्यक परेकाले बैठक पर सारेको जानकारी दिए । आजको राजधानी दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया