शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौँ – साना ठूला विभन्न गुट र उपगुट रहेको एमालेमा संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमा भने एकमत देखिएको छ । प्रस्तावको पक्षमा पार्टीका अध्यक्ष केपी ओलीदेखि माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम लगायतका नेताहरु पक्षमा उभिएका छन् ।

अरु बिषयमा भिन्न मत भए पनि प्रस्तावको पक्षमा एक मत देखिएको स्रोतले बतायो । महाभियोग प्रस्ताव आउनु ठीक भएपनि अध्यक्षको कार्यशैली अनुसार त्यसलाई संस्थागत रुपमा अगाडि नबढाइएको भन्दै केही नेताले असन्तुष्टि जनाएका थिए । केही नेताले असन्तुष्टि जनाएपछि सस्थागत निर्णय लिन अध्यक्ष ओलीले मंगलबार संसदीय दलको कार्यलय सिंहदरवारमा स्थायी समितिको बैठक बोलाएका थिए । स्थायी समितिको बैठकमा अध्यक्ष ओलीले महाभियोग प्रस्ताव ल्याउनुको औचित्यमाथि प्रकाश पारेको एक नेताले बताए । बैठकमा नियम, कानुन, विधि र प्रक्रिया नमानेका कारण अख्तियार प्रमुख काकीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको ओलीले बताए । yamela

आफूलाई सर्वेसर्वा ठान्ने, नियोजित रुपमा प्रतिशोध लिने र अरुलाई अपमान गर्ने प्रवृत्तिका कारण अख्तियार प्रमुखविरुद्ध महाअभियोग दर्ता गरेको ओलीले बैठकलाई जानकारी दिए । मंगलबारको एमाले बैठकले महाअभियोग प्रस्तावको पक्षमा लाग्ने र अरु दलसँग कुरा गर्ने औपचारिक निर्णय गरेको छ । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीबिरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावको समर्थन गर्दै उक्त प्रस्तावलाई पारित गर्नका लागि व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग छलफल गर्दै प्रस्तावका पक्षमा सहमति निर्माण गर्ने निर्णय बैठकले गरेको छ ।’

बैठकले गरेको निर्णय जानकारी दिन प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया