शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

भक्तपुर – नेकपा (एमाले)का नेता एवम् पूर्वसञ्चारमन्त्री शेरधन राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका-संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावको विपक्षमा कुनै पनि राजनैतिक दल जान नसक्ने बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेता राईले महाअभियोगका पक्षमा जनमत रहेकाले यसकाबिरुद्ध कुनै पनि दल जान नसक्ने बताउनुभयो । उहाँले महाअभियोगका विपक्षमा जाने दललाई जनताले माफी नदिने बताउँदै “यदि कुनै राजनीतिक दलले त्यस्तो निर्णय लिएमा त्यो दललाई नेपाली जनताले कारबाही गर्छन् र जनस्तरबाट सजाय दिन्छन् भन्नुभयो ।”

नेता राईले काँग्रेसले समेत महाअभियोगको पक्षमा निर्णय लिने विश्वास व्यक्तगर्दै विभिन्न शक्ति केन्द्र संविधान कार्यान्वयन हुन नदिन सक्रिय भएको र सरकार त्यसको चङ्गुलमा फस्दै गएको आरोप लगाउनुभयो । एमाले नयाँ सत्ता समीकरणमा नलागेको स्पष्ट पार्दै उहाँले संविधानको सफल कार्यान्वयन र तोकिएको समयमा कसरी निर्वाचन गर्ने रु भन्ने सवालमा एमाले चिन्तित रहेको छ भन्नुभयो ।

नेता राईले प्रधानमन्त्री दाहालले आफू चौघेरामा घेरिएको भनाइ सार्वजनिक गर्नु देशकै लागि घातक साबित हुन सक्ने बताउँदै उहाँ के कारणले चौघेरामा परेका हुन् त्यसबारे जनतालाई जानकारी दिनुपर्दछ भन्नुभयो । संविधान गतिशील र समयको अवश्यकताअनुसार संशोधन गर्न सकिने भएपनि औचित्य बिनाको संशोधन एमालेका लागि स्वीकार्य छैन बताउनुभयो ।

तपाईको प्रतिक्रिया