शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौँ – नजिकँदो तिहार पर्वका लागि यस वर्ष भारतबाट रु ६० लाख मूल्य बराबरको सयपत्री फूलको माला आयात गर्ने योजना छ । गत बर्ष तिहारमा रु. एक लाख ५० हजार माला आयात गरेकोमा यस वर्ष दुई लाख माला आयात गर्ने योजना रहेकोे फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताउनुभयो ।

तिहारमा सबैभन्दा बढी फूलको आयात हुने गरेको छ, अध्यक्ष श्रेष्ठले भन्नुभयो गत वर्ष उपभोक्ताले फूलको प्रतिमाला रु एक सयदेखि एक २० सम्म तिर्नुपरेकोमा यो वर्ष बढीमा रु ८० सम्ममा तिर्नुपर्ने हुन्छ । पछिल्लो समय मुलुकले गोदावरी र मखमली फूलमा आत्मनिर्भर भइसकेको छ भने अहिले पनि सयपत्री फूलमा मुलुक आत्मनिर्भर हुन सकेको छैन् । तिहारका वेला हरेक वर्ष भारतबाट सयपत्री फूल आयात गर्नुपर्ने हुन्छ । mala

हरेक वर्ष झन्डै रु डेढ अर्ब मूल्य बराबरको फूलको कारोबार हुने गरेको छ । तिहारमा मात्र मुलुकभर करिब ११ लाख मालाको कारोबार हुने गरेको छ । तीमध्ये नौ लाख माला नेपालमै उत्पादन भएको फूलबाट बनेका हुन्छन् । नेपालमा प्रयोग हुने मालाको ४० प्रतिशत खपत काठमाडौँ उपत्यका नै हुने गरेको एसोसिएसनले जनाएको छ । एसोसिएसनका अनुसार मुलुकभर तिहारमा मात्र झन्डै रु सात करोड मूल्य बराबरको फूलको कारोबार हुने गरेको छ । नेपालमा सन् १९५० बाट सामान्यस्तरमा सुरु भएको पुष्प व्यावसाय सहरीकरणको विकास तथा विस्तारसँगै पुष्प व्यवसाय पनि फस्टाउँदो छ ।

फूलको माँगमा आएको बृद्धिसंगै यतिखेर काठमाडौँ, ललितपुर , भक्तपुर, पोखरा, नारायणघाट, हेटौँडा, काभ्रे र विराटनगर लगायत ४१ जिल्लामा लगभग ६७५ पुष्प फर्म/नर्सरी विस्तार भइसकेको छ । नेपालमा लगभग १४७ हेक्टर क्षेत्रफलमा ४०० प्रजातिका फूल उत्पादन भइरहेको तथा पुष्प व्यावसायवाट ४१ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।

तपाईको प्रतिक्रिया