बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले आफू राजनीतिक दलहरुको घेराबन्दीमा परेको बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्र र नेकपा माओवादी विद्रोहीबीचको पार्टी एकीकरण सभालाई शुक्रबार राजधानीमा सम्बोधन गर्दे उहाँले आफू विरुद्धको दलीय घेराबन्दी राम्रो नभएको उल्लेख गर्नुभयो । अत्यन्तै जटिल परिस्थितिकाबीच आफू खुकुरीको धारमा हिंडेको भन्दै उहाँले आफ्ना कामकारवाहीमा समर्थन गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले एकतावद्ध हुँदै गएको माओवादी आन्दोलनले सबै अप्ठ्यारा र चुनौति सामना गर्दै जाने विश्वास समेत व्यक्त गर्नुभयो । दलीय घेराबन्दी धेरै भएको भन्दै प्रधानमन्त्री दाहालले अघिल्लो पटक सरकारको नेतृत्व लिए जस्तो अहिले सहज नभएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले संविधानमा स्वीकार्यताको दायरा फराकिलो बनाउँदै कार्यान्वयन गराउनु मुख्य चुनौति रहेको बताउनुभएको छ । उहाँले संविधान कार्यान्वयन मुलुकका लागि मुख्य चुनौतिको विषय रहेको भन्दै संविधानमा असन्तुष्टी जनाएको समुह, मधेसी, जनजाती लगायत समुदायलाई सहमतिमा ल्याउँदै संविधानमाथिको सर्वस्वीकार्यताको दायरा फराकिलो बनाउनुपर्ने उल्लेख गर्नुभयो ।

हिमाल पहाड तराई सबैलाई सर्वस्वीकार्य हुने गरी संविधान संसोधन गरी निर्वाचन गराउने प्रमुख दायित्व पुरा गर्न तर्फ सरकार प्रतिबद्ध रहेको पनि प्रधानमन्त्री दाहालले बताउनुभयो ।  उहाँले संविधानलाई सर्वस्वीकार्य बनाउने प्रयास गर्दे नेकपा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउन आफूले हर संभव प्रयास गर्ने उल्लेख गर्नुभयो । ***

तपाईको प्रतिक्रिया