शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावका बारेमा मिश्रित धारणा राखेका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा चलिरहेको बैठकमा नेता एनपी साउदले लोकमानलाई महाअभियोग लगाउन नहुने भन्दै बचाउ गर्नुभएको छ । ‘लोकमानलाई अहिले महाअभियोग लगाउँदा बामपन्थीहरु बलियो हुन्छन्, कुनै हालतमा महाअभियोगको पक्षमा उभिन हुँदैन’ बैठकमा साउदले भन्नुभयो । उहाँले लोकमानविरुद्धको महाअभियोग प्रस्ताव पारित भएमा भविष्यमा संवैधानिक निकायको नेतृत्व गर्न जो कोही पनि हच्किन सक्ने उहाँले दाबी गर्नुभयो ।

बैठकमा नेता शेखर कोइरालाले कार्कीले अख्तियारमा बसेर गलत काम गरेकोमा शंका नरहे पनि उहाँविरुद्धको महाअभियोगको प्रस्ताव खेलाँचीका साथ आएको टिप्पणी गर्नुभयो । महाअभियोगको विषय गम्भीर रहेको भन्दै यसमा प्रयाप्त छलफल गरेर अघि बढ्नुपर्ने धारणा आफूले राखेको कोइरालाले पत्रकारलाई जानकारी दिनुभयो ।

बैठकमा कोइरालासहित, मोहनबहादुर बस्नेत, दिलेन्द्रप्रसाद बडू, आनन्दप्रसाद ढुंगाना, फरमुल्ला मन्सुरलगायतका नेताले पनि मिश्रित धारणा राखेका छन् । यसअघि बिहीबारको बैठकमा अख्तियार प्रमुख कार्की विरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावबारे ९ जना सदस्यले धारणा राखेका थिए । बाँकी सदस्यले आफ्नो धारणा राखेपछि कांग्रेसले यसबारे औपचारिक निर्णय गर्नेछ ।

कांग्रेसका युवा नेताले भने एमाले र माओवादी केन्द्रका सांसदले लोकमान विरुद्ध संसदमा दर्ता गरेको महाअभियोग प्रस्ताव पारित गराउनुपर्नेमा जोड दिएका छन् । सभापति शेरवहादुर देउवाले भने सबैको बिचार सुनेर पार्टीको धारणा बनाउने बताउनुभएको छ । ***

तपाईको प्रतिक्रिया