शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले आफूलाई संसदको महाअभियोगबाट जोगाउन विभिन्न संयन्त्र प्रयोग गर्ने क्रममा कूटनीतिक समुदायलाई समेत उपयोग गर्नुभएको छ । उहाँको बचाउमा भारतीय रिसर्च एन्ड एनालाइसिस विङ (रअ) राजधानीमा सक्रिय भएको छ ।

उक्त विङले भारतीय दूतावास, नेपालको परराष्ट्र मन्त्रालयमार्फत प्रभावमा राख्न सक्ने केही कूटनीतिज्ञ, राजनीतिक दलका नेता तथा नागरिक समाजका व्यक्तिलाई समेत उपयोग गरिरहेको अधिकारीहरूले बताए । करिअरको त्रास, राजनीतिक पद र आर्थिक प्रलोभन देखाएर यस्ता प्रयास भइरहेको ती अधिकारीले जनाए । कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता हुनासाथ रअका नेपाल स्टेसन प्रमुख विवेक जोहरी राजनीतिक भेटघाटमा संलग्न हुन थालेको आजको कान्तिपुर दैनिकमा खबर छ । उहाँले विभिन्न राजनीतिक दलका शीर्ष तथा प्रभावशाली नेताहरूलाई भेटनुभएको छ । lokman-singh-karki-3

उहाँले मधेसी दलका नेताहरूदेखि सरकारमा रहेका तराई भेगका नेताहरूसँग बिहीबार दिनभर भेटघाट गरेको गृह मन्त्रालय उच्च स्रोतले बतायो । यसैबीच भारतीय राजदूत रणजित रायले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुधबार बेलुका नै भेटेर लोकमान प्रकरणबारे जिज्ञासा राख्नुभएको छ । उहाँले काँग्रेस सभापति शेरबहदुर देउवासँग पनि टेलिफोन सम्पर्क गरेर यस विषयमा जिज्ञासा राख्नुभएको छ । उहाँ अन्य नेताहरूलाई पनि भेट्ने र यसबारे छलफल अघि बढाउने तयारीमा रहेको स्रोतले जनायो । छिमेकी भारतको उच्च नेतृत्वबाट आएको निर्देशनअनुसार काठमाडौं स्टेसन सक्रिय भएको गृह अधिकारीहरूले बताए ।

कार्कीले कूटनीतिज्ञहरू मात्र नभई भारतीय ‘बाबाहरू’ समेतलाई आग्रह गरी त्यस्तो निर्देशन दिन लगाएको हुन सक्ने नेताहरूको अनुमान छ । आफ्नो बचाउका लागि कार्कीले राजनीतिक दलका नेताहरू र भारतीय बाबादेखि पूर्वराजासम्मलाई उपयोग गरेका हुन् ।

तपाईको प्रतिक्रिया