बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

नेपालीहरुको महान चाड बडा दसैं सबै नेपालीजनको घरघरमा भित्रिईसकेको छ । नवदूर्गा भवानीको विशेष पूजाआजा र उपासना गरेर हिन्दु धर्मावलम्बीहरुले दसैंलाई घर घरमा भित्र्याईसकेका छन् । घटस्थापनाको दिन जमरा राखेदेखि दसैंको उमंग सुरु हुने यस पर्वमा नौ दिनसम्म नवदुर्गाको पूजा, उपासना गरेर दशौं दिन मान्यजनको हातबाट टीका लगाएपछि दसैं औपचारिक रुपमा समापन हुने गर्दछ । हिन्दु धर्मावलम्बीहरुको सबैभन्दा ठूलो चाड भएकाले पनि यो धर्म मान्नेहरुको बाहुल्यता रहेको नेपालमा यसलाई बिशेष महत्वका साथ मनाउने गरिन्छ । यद्यपि दसैं अब सबै नेपालीको साझा र सामाजिक पर्वकारुपमा विकास भईसकेको छ ।

दसैंको आफ्नै साँस्कृतिक महत्व छ । तर पछिल्ला दिनहरुमा दसैंलाई आधुनिकता र परिवर्तनको नाममा उच्छृङ्खल बनाउन थालिएको छ । अनावश्यक तामझाम र तडकभडक गरेर दसैलाई विकृत बनाउन खोजिएको छ । दसैंमा मीठो खाने र राम्रो लगाउने नाममा नेपाली समुदायमा अस्वस्थ्य प्रतिष्पर्धा हुन थालेको छ । चाडपर्व मनाउने नाममा आ नो आम्दानीले भ्याउने भन्दा बढि खर्च गरेर ब्ययभार बढाउने प्रवृत्ति बढेको छ । यसले गर्दा पर्वको नाममा बिकृति बढाएको छ । यो पर्वलाई तडकभडक र अनावश्यक तामझाम भन्दा पनि आपसी सहयोग र मेलमिलाप बढाउने अवसरको रुपमा लिनुपर्दछ । चाडपर्व मनाउने नाममा गरिने अनावश्यक तडकभडक र अस्वस्थ्य प्रतिष्पर्धाले समाजलाई फाईदा गर्दैन । दसैंलाई तडकभडक र देखासिकी होइन, यसलाई सांच्चै सबै नेपालीले मान्न सक्ने गरी सरल र सहज बनाउनु आवश्यक छ । हाम्रो परम्परा र सँस्कृतिलाई बचाउनुपर्दछ, तर यसलाई पर्वको रुपमा मनाउँदा आफ्नो आर्थिक हैसियतलाई पनि बिर्सनु हुँदैन अन्यथा यो पर्व दसैं नभएर दशामा परिणत हुन जान्छ ।

दसैं, बडा दसैं, दशहरा, विजयादशमी आदि नामले प्रचलित छ । यसलाई असत्यमाथि सत्यको विजयको रुपमा हिन्दूहरुले विजया दशमी पर्व मनाउने प्रचलन रहँदै आएको छ । यसलाई एउटा बिशेष साँस्कृतिक महत्वको चाडका रुपमा बिकास गरी सबैको पहुँच हुने पर्व बनाउन सके यसको महत्व र गरिमा अझ बढ्दै जाने देखिन्छ । दसैं विजय र आनन्दको उत्सव हो । असत्यमाथि सत्यको विजय, दानवीय स्वभावमाथि मानवीय स्वभावको विजय, कु-शासनमाथि सु-शासनको विजय, अन्यायमाथि न्यायको विजय, हिंसामाथि अहिंसाको विजय, आसुरी शक्तिमाथि दैवीय शक्तिको विजय नै विजयादशमी मनाउनुको मुख्य उद्देश्य हो । उत्साहको पर्व विजया दशमी हामी सबै नेपालीहरुका लागि आपसी प्रेम र सद्भावको पर्व बन्न सकोस । बर्षौ लगाएर मुलुकको मुल कानुन अर्थात नेपाली जनताको संबिधान जारी भएसंगै देशमा राजनीतिक स्थिरता कायम भई आर्थिक समृद्धिको दिशामा राष्ट्र अगाडि बढ्न सकोस्, नेपालीजनको मुहारमा स्थायी खुशी छाउन सकोस्, विजया दशमी २०७३ को अवसरमा हार्दिक मंगलमय शुभकामना ।

तपाईको प्रतिक्रिया