शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

madhav-prasad-ghimire

काठमाडौँ – हामी सबैले चिन्ने लोकप्रिय नाम हो, राष्ट्रकवि माधवप्रसाद घिमिरे । ९८ बर्षको उमेरमा पनि उहाँको जोश, जाँगर उत्साहमा कमी नआएको देख्दा लाग्छ, उहाँ अझै पनि आफ्ना सिर्जना र रचनामा अझै सक्रिय साथ अगाडी बढ्नुहुनेछ । बुढेसकालमा स्वत रुपमा शारिरीक रुपमा कमजोर हुँदै गएपनि लाग्छ उहाँलाई भेट्दा तन्नेरी नै हुनुहुन्छ ।

घिमिरेले दसैं र तिहारलाई सबभन्दा महत्वपूर्ण र ठूलो रमाईलोका रुपमा लिनुहुन्छ । समुद्रपारि संगको बिशेष कुराकानीमा उहाँले बाल्यकालको दसैं सम्झदै भन्नुहुन्छ,‘पहाडमा अहिलेको जस्तो हप्ता हप्तामा मासु खाने भन्ने पनि थिएन्, समय–समयमा लुगा किन्ने भन्ने पनि हुने थिएन्, मासु खानलाई पनि बर्ष दिन कुर्नुपथ्र्यो भने राम्रा र नयाँ लुगा लगाउन पनि दसैं नै आउनुपर्थो भनेपछि कस्तो होला त्यो बेला सहजै अनुमान लगाउन सकिन्छ ।’

त्यो बेलाको केटाकेटी उमेरमा पीङ खेल्नै पर्छ एकपल्ट धर्ती छोड्नुपर्छ भनेर उत्साहित भएर पीङ खेल्ने गरेको पनि बताउनुभयो । टिका लगाईसकेपछि चिउरा मिठाईहरु पाउँदा पनि आफूहरु निकै दंग पर्ने गरेको सम्झनुहुन्छ । घरघरमा बर्षदिनसम्म पालेको बोकाहरु बलि दिन्थे, गीत गाउँदै बलि दिने गरेको अहिले पनि झलझली याद आउँछ । अहिले ती पुराना दिनहरु सम्झदा अहिले त्यो रमाईलो बिस्तारै कम हुँदै गएको घिमिरेको ठम्याई छ ।

अन्य देशहरुमा जस्तो बिकास नभएको र खाली नेपालीहरु माग्न मात्र सिपालु भएको भन्दै घिमिरेले आफ्नै देशमा केहि गर्नुपर्नेमा पनि जोड दिनुभयो । २०७२ को भूकम्पबारे तपाईको अनुभव कस्तो छ, भन्ने हाम्रो प्रश्नमा उहाँ सम्झनुहुन्छ,‘मेरो अनुभव निकै अनौठो रह्यो त्यो दिन मेरी श्रीमतीसहित मलाई सम्मान गर्ने कार्यक्रम थियो, कार्यक्रममा जादै गैह्रीधारामा गाडी नै पुरै हल्लियो के रहेछ भन्दा त भुईचालो पो रहेछ, जमिनमा रहेका ब्यक्तिले जति अनुभव गरे मैले त्यती अनुभव चाहि गरिन् , पछि फर्केर आउँदा त घरहरु, पर्खालहरु भत्किएका थिए । भुईचालोलाई सम्झदै उहाँले भन्नुभयो,

‘‘०७२ को भूईचालो धक्का कति साह्रो
बाच्न पनि गाह्रो हजुर मर्न पनि गाह्रो’’

‘‘भूईचालो, भूईचालो देशै काम्न थाल्यो
अनायसै देशै काम्दा जुटौं हातेमालो’’

धर्ती मात्र हैन् देश नै काम्न थालेपछि देशकै अस्तिवमा सकंट पर्ने सक्छ भन्ने किसिमबाट लेखेको हुँ । अनायशै देश नै काम्न थालेपछि देशमा बिभिन्न किसिमका समस्या उत्पन्न हुन्छन् भन्ने हो । राष्ट्रकवि घिमिरेले नेपालीहरु साहसी र निडर भएकाले सबै नेपालीहरु मिलेर देश बनाउनुपर्छ भन्ने सन्देश पनि भूकम्पले दिएको बताउनुभयो । (समुद्रपारि डटकमले राष्ट्रकवि घिमिरेसँग गरेको बिशेष कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया