बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – नेपालको सँस्कृतिबारेमा यथेष्ट ज्ञान हासिल गर्नुभएका ९७ बर्षीय सत्यमोहन जोशी सँस्कृतविद हुनुहुन्छ । ९७ बर्षको उमेरसम्म पनि उहाँको दैनिकी लगभग उस्तै छ भने जोश जाँगर पनि उस्तै देखिन्छ । नेपालको साँस्कृतिक परिस्थीतिलाई नजिकबाट नियाल्नुभएका सँस्कृतविद् जोशीसँग आउँदै गरेको बडादसैं, उहाँको दैनिकी लगायतका समग्र बिषयमा केन्द्रित रहेर समुद्रपारि डट कमका लागि सहकर्मी गोविन्द मरासिनीले गर्नुभएको कुराकानीको सम्पादित अंश :

satyamohan-joshi

यहाँको दैनिकी कस्तो चल्दै छ ?
पहिलाको जस्तो कितावहरु पढ्न पनि त्यति सकिन्न आँखा पनि कमजोर हुँदै गएको छ । सानो अक्षर पढ्न पनि निकै गाह्रो हुन्छ । अखबार हेर्दा पनि त्यस्तो पढ्नैपर्ने भयो मात्र पढ्छु । दैनिकीको कुरा गर्दा त्यस्तो खास केहि छैन । बिहान ५ बजेतिर उठ्छु, खासगरी कहिलेकाँही रेडियो सुन्छु । अनि साढे ९ बजेतिर खाना खान्छु । कतै नजिकका कार्यक्रममा बोलाए भने मात्र जान्छु । बाटोमा हिड्न पनि गाह्रो हुन थालेकाले त्यति टाढाका कार्यक्रममा जान्न । साँझमा टिभीमा केहि राम्रो कार्यक्रम आयो भने हेर्छु रेडियो सुन्यो भने माया प्रीतीका गीतहरु बढी आँउछन् त्यस्ता गीतहरुले छँुदै छुँदैनन् । त्यसपछि राती त्यहि साढे १० बजेतिर सुत्छु ।

अखबार पढ्दा चाँहि केमा वढि चासो दिनुहुन्छ ?
राष्ट्रको जारी महत्वका बिषयमा नै चासो लाग्छ । अनेक किसिमका घटनाहरु आइरहन्छन् त्यस्ता बिषयमा जानकारी पनि हुनुपर्ने भएकाले त्यस्ता बिषयहरु नै बढी हेर्छु । आध्यात्मिक, धार्मिक, साँस्कृतिक बिषयमा पनि अलि चासो लाग्छ ।

जीवनमा गर्नुपर्ने सबै कुरा गरेर पूर्ण भयो जस्तो लाग्छ कि अझै केहि गर्न बाँकी छ जस्तो लाग्छ ?
त्यस्तो छैन, धेरै बाँचेर पनि केहि फाईदा छैन, खाली आयु मात्र लामो हो । आफ्नो योगदान, कृति त्यस्तो छैन, लामो बाँचेर मात्र केहि छैन । अब बाँचेर केहि गर्न सकिन्न न पढ्न सकिन्छ, न लेख्न सकिन्छ जति गर्नु गरियो जस्तो लाग्छ । सरकारले यो गरेन, त्यो संस्थाले त्यो गरेन भन्ने पनि छैन । केहि गुनासो छैन ।

जीवनको परिभाषा भेटाउनुभयो त ?
मैले त जीवन भनेको दैलोको बत्ती भन्छु । मैले भन्न खोजेको गृहस्थीमा बसेर आध्यात्मिकतर्फ लम्कनुपर्छ बिचार गर्नुपर्छ आफूले आफूलाई को हो भन्ने थाहा पाउनुपर्छ भन्ने कुरा दार्शनिक बिषयमा जोडेको हो । दैलोमा बत्ती राख्यो भने ५० प्रतिशत उज्यालो भित्र र ५० प्रतिशत बाहिर उज्यालो जान्छ त्यस्तै गृहस्थीमा पनि आफूलाई चाहिने कुरो आत्मज्ञान हासिल गर्न सकिन्छ ।

अहिलेको समयमा आइपुग्दा हाम्रो सामाजिक, साँस्कृतिक एकताका दृष्टिकोणले हामी कति मजबुत र कति कमजोर भएका छौं ?
मजबुती र कमजोरीको कुरा गर्दा सबैलाई थाहा भएकै कुरा हो । नेपालमा पनि चीनको जापानको जस्तै एउटै भाषा, एकै प्रकारको रहनसहन, एकै प्रकारको खाना भइदिएको भए तिनिहरुको जस्तै जीवनपद्धती हुन्थ्यो । अब हामीकहाँ मेचीदेखि महाकालीसम्म जाँदा १०० भन्दा बढी मातृभाषा छन्, जाती जनजाती सबैका आ–आफ्ना रितीरिवाज र चाडपर्व छन् त्यो साँस्कृतिक विविधता हो । यी विविधतामा राष्ट्रिय एकतालाई जति जति मजबुत हुन्छ त्यति नै सँस्कृति पनि मजबुत हुन्छ । २०६७ सालमा कल्चर पोलिसी पनि बनेको थियो सरकारबाट त्यो पोलिसी यति राम्रो बनेको छ कि जसले सारा जाती जनजातीलाई संरक्षण गरेको छ साझा मञ्चमा उभ्याइदिएको छ तर नीति मात्र राम्रो भयो कार्यान्वयन भएन । कार्यान्वयन गर्न त्यस्तै किसिमको मन्त्रालय, बजेट, कर्मचारी सबै चाहियो नि ? एक्ले अर्कालाई चिन्ने बाहुनले, क्षेत्रीले, मगरले गुरुङले सबै जातजातीलाई चिन्ने हुनुपर्छ हामी एक हौं भन्ने हुनुपर्छ । हामी सबै नेपाली रहिछौं भन्ने भावना हुनुपर्छ ।

एक अर्का जाती जनजातिप्रतिको सम्मान र एकता बढ्दै गएको छ कि अझ घट्दै गएको छ ?
बढ्दै गएको छ भन्ने हो, भने अहिले पनि त्यै किसिमको कुरा चल्दै छ । त्यत्रो संबिधान बनेर पनि चित्त बुझाउन सकिरहेका छैनन्, चित्त नबुझनेहरु कराईरहेकै छन् ।
चित्त बुझाउन नसक्दा संबिधानप्रतिको महत्व पनि त्यति नहुने हो कि जस्तो देखिईरहेको छ । सबैको चित्त रहनेगरी जाती, जनजाति, मधेशीको बनाईदिएको भए राम्रो बन्थ्यो नि त ? अझ त्यो संबिधान बनेर मात्र पनि भएन कार्यान्वयनमा पनि लगे मात्र राम्रो हुन्थ्यो ।

पछिल्लो समयमा गत बैशाख १२ गते गएको भूकम्पले साँस्कृतिक र ऐतिहासिक धरोहरहरु ढले, त्यसले हाम्रो सँस्कृतिमा कस्तो असर पार्ला ?
पर्यटकीय दृष्टिकोणले मात्र नभई आध्यात्मिक, धार्मिक हिसावले पनि हाम्रा पुर्खाहरुले बनाएका धरोहरहरु भत्कदा असर त पर्ने नै भयो । हरेक किसिमका तरिकाहरु, काठहरु सबै हाम्रै थिए । हाम्रो प्रशासन नै कमजोर हो । किनकी ९० सालमा सानो अफिस थियो भूकम्पपीडितका लागि काम गर्ने थियो । त्यै अफिसबाट ९० सालको भूकम्पपछि सारा ब्यक्तिका लागि उद्वार र राहत वितरण भईरहेको थियो । तर अहिले यतिका धेरै कार्यालय र संस्था हुँदा पनि जुन गतिमा हुनुपर्ने हो त्यो गतिमा भैरहेको जस्तो लाग्दैन ।

९० सालको भूकम्पपछि ऐतिहासिक धरोहर र ऐतिहासिक ठाउँको पूर्ननिर्माण कसरी गरियो ?
त्यो बेलामा यस्ता किसिमका कुराहरु पनि उठेका थिएनन् । जस्तो थियो उस्तै बनाइयो, त्यसमा पनि चुनाहरु नै प्रयोग गरेर बनाईयो । अहिलेजस्तो सिमेन्ट थिएन । जतिपनि साँस्कृतिक धरोहर छन्, यी ठाउँहरुलाई युनेस्कोले बिश्वको साँस्कृतिक सूचीमा राखिदिएकाले यसको आउट लुक नबिगारी गर्नुपर्छ भन्ने पनि हो ।

सामाजिक, साँस्कृतिक एकता जोगाउँदै विकासको गतिमा कसरी लाग्नुपर्ला ?
नयाँ कुरा बनाउँ, नयाँ मन्दिर बनाउ भन्ने छैन । पुर्खाले जुन मन्दिर र ऐतिहासिक धरोहरहरु बनाएका थिए ती सबै कुरालाई बचाईराख्नु मात्र हो । पुर्खाले बनाएका यी साँस्कृतिक सम्पदा जोगाएर नयाँ पिढीलाई हस्तान्तरण गर्ने वातावरण मात्र बनाउनुपर्छ । नयाँ कुरा बनाउने भन्ने त्यस्तो केहि छैन । पर्यटकहरुले पनि खाली पुराना पुराना ऐतिहासिक ठाउँहरुमात्र हेर्न रुचाउँछन् । नयाँ कुरा बनाउने त परको कुरा भयो यति मात्र जोगाएर राख्न सक्यौ भने मात्र पनि हाम्रो अस्तित्व रहन्छ ।

धेरै नेपालीहरु प्रवासमा छन्, हाम्रो नेपाली मौलिक कला, धर्म, सँस्कृति बिर्सदै गए उनीहरुले चाहि कसरी सम्झन आवश्यक छ ?
हामीहरु रेमिट्यान्सको आधारमा बाँचेका छौं, बिदेशी पैसा आयो सरकारलाई पनि फाईदा पुगिरहेको र जनतालाई पनि फाईदा पुगिरहेको कुरा सत्य पनि हो । मुख्य कुरो के हो भने, हामी सम्पन्न भएर देश ज्यादै सम्पन्न भएको भए त कुरो राम्रै हुन्थ्यो हाम्रो त गए गुज्रेको अवस्था छ । हामीले उनीहरुको निर्माणमा, उनीहरुको निम्ती, उनीहरुको प्रोजेक्टको निम्ती सघाउ पुर्याउन ज्यान दिएर लाग्ने तर आफ्ना निम्ती जुन श्रम र परिश्रम चाहिन्थ्यो हामीले गरेनौं हाम्रो खेत त बाझैै रह्यो हाम्रो म्यानपावर कम हुँदै गयो हाम्रो बिकास त ठप्पै हुँदै गयो नि त ? मैले भन्ने गरेको छु नेपालको भूकम्पको ठूलो असर त वारपाकलाई प¥यो, वारपाकको गजे घलेले त भिसी कमाएको हो नि, भिसीलाई त वेलायतको महारानी एलिजाबेथले पनि सलाम ठोक्छन् । सारा जीवन बेलायतका लागि लडेको त्यत्रो सम्मान पाएको ब्यक्तिको गाउँघर त्यत्रो बिपत्तीमा पर्दा खत्तम हुँदाखेरी उनीहरुले के गरे, के सहानुभूति देखाए यो चाहिँ नेपालीहरुले सोच्नुपर्यो । अब खुकुरीले अर्काको निम्ती सेवा गर्ने होईन, कि त्यो खुकुरीले आफ्ना निम्ती र आफ्नो देशका निम्ति पनि केहि गर्नुपर्यो । खुकुरी खाली मारकाट, रुख काट्ने र घर बनाउनका लागि मात्र नभई शान्तिका लागि पनि उपयोग गर्नुप¥यो । भनेको मतलब बाहिर गएर खाली अर्काको देशमा मात्र काम गर्ने होईन कि आफ्नै देशमा पनि केहि गर्नुप¥यो भन्ने हो । सरकारले पनि खाली बाहिर जानलाई उत्प्रेरणा नदिएर स्वदेश फर्काउने पोलिसी ल्याउनुपर्यो ।

अन्त्यमा, हाम्रो प्रमुख चाड दसैंलाई बिदेशमा रहने प्रवासीले कसरी सम्झने ?
हामीहरुको भन्दा पनि धेरै राम्रो हुन्छ प्रवासमा बस्नेहरुको दसैं । कस्तो भन्नुहोला भने यहाँ भएको भए गुरुङहरुले हामीहरुले त मनाउँदैनौ भन्लान् उनीहरुले जातिको कुरा गर्लान्, थारुले हाम्रो माघी हो भन्लान्, मधेशीले हाम्रो छठको मान्यता हो कहाँ दसैं मनाउने भन्लान् अब ती माघी मनाउने छठ पर्व मनाउने, ल्होसार मनाउने सबै एकै ठाउँमा एकै ठाउँमा बसिरहेका होलान् उनीहरुले त नेशनल फेष्टिबल एकसाथ मनाईरहेका हुन्छन् । नेपाली राष्ट्रिय झण्डाको जस्तो सम्मान छ त्यो राष्ट्रिय झण्डाको मुनि बसेर उनीहरुले हाम्रो राष्ट्रिय गान यो राष्ट्रिय खाना यो, हाम्रो नेशनल फेष्टिबल यो भनेर, हामो रमाईलो चाड भनेर हामीकहाँ भन्दा राष्ट्रिय भावना जगाएर मनाईरहेका हुन्छन् । प्रवासमा झनै उत्साह र उमंगका साथ सबै जातजाती मिलेर मनाउँछन् ।

तपाईको प्रतिक्रिया