शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

writer

काठमाडौँ – पछिल्लो समय युवापुस्ताहरुमा पनि पुस्तक पढ्ने रुची बढ्दै गएको छ । सधैं भरी फिल्म हलमा गएर हिन्दी चलचित्रमा मस्त हुने युवा पुस्ताहरुप्रती पुस्तक पढ्नका लागि उत्प्रेरणा गर्ने श्रेय लेखक तथा साहित्यकारहरुलाई नै जान्छ । सरल र मनोरञ्जनात्मक शैलीमा लेखिएका पुस्तकहरु पाठकहरुको रोजाईमा पर्ने गरेका छन् । ‘पुरानो कोट लगाऊ, नयाँ पुस्तक किन’ भनेजस्तै धेरैले पछिल्ला चाडवार्डमा एकजोर लुगा किन्नुभन्दा २ वटा किताब किनेर पढ्छु, भन्ने बानीको विकास भएको स्वयम लेखकहरु स्वीकार्छन् । यसरी पछिल्लो समय किताब पढ्ने बानीको विकास भएसँगै कस्ता किताब पढ्ने भन्ने छुट्याउन नसक्दा पाठकहरु अन्यौलमा पर्छन् । यसै बिषयमा लेखकहरु दसैंमा कस्ता पुस्तक पढ्ने गर्छन्, आफ्ना पाठकलाई चाहिँ कस्ता पुस्तक पढ्न सुझाव दिन्छन् र दसैं योजना के छन् भन्नेबारे समुद्रपारिका लागि गोविन्द मरासिनीले तयार पार्नु भएको एक विशेष सामग्रीः

रामलाल जोशी
खासै त्यस्तो दसैं योजना केहि छैन् । सामान्य तरिकाले नै दसैं मनाउने योजना छ । हालसालै मात्र मैले कथा संग्रह ‘ऐना’बाट मदन पुरस्कार पनि पाएकाले खुसी पनि छु । सामान्य नेपाली परिवारको ब्यक्तिको पनि मुल्याङ्कन हुँदो रहेछ भन्ने विश्वास पाएँ । पछिल्लो पटक पाठकहरुमा पढ्ने बानीको विकासले खुसी तुल्याएको छ । चाडवाडलाई खाली मनोरञ्जन मात्र भन्दा पनि केही सिकौं भन्ने जसलाई लाग्छ, त्यस्ता पाठकलाई नेपाली समाज र संस्कृती झल्काउने सरल भाषामा लेखिएको पुस्तक अमर न्यौपानेको ‘सेतो धरती’, मुनामदन, गौरी र विश्वेश्वरप्रसाद कोइरालाका पुस्तकहरु पढ्न सुझाब दिन्छु । साथमा मेरो पुस्तक ‘ऐना’ पनि पढेर सुझाव दिनुहोला । सुदुरपश्चिमका विभिन्न कुराहरु बुझ्नका लागि ऐना उपयुक्त छ ।

सुविन भट्टराई
दसैंको लागि त्यस्तो खास योजना त केहि छैन । दसैंपछि चाहिँ कतै घुम्न जाउँ कि भन्ने सोचिरहेको छु । मैले दसैंमा जोजो मोसको ‘मि बिफोर यु’ र इलिफ शफकको‘ द बास्टार्ड अफ स्टान्डवुल’ पढ्ने सोच बनाएको छु । पाठकहरुलाई इलिफ शफकै ‘फोर्टि रुल अफ् लभ’ र इमरोन हासमिनको ‘द किस अफ् हास्मिन पढ्न सुझाव दिन्छु । यी पुस्तकहरु मन छुने, प्रेरणा दिने खालका छन् । यी बाहेक आफ्नो मुड र छनोट अनुसार पढ्न सकिन्छ । म आफै पनि विपीका विभिन्न पुस्तकबाट प्रभावित भएर नै कलम चलाएकाले त्यस्ता पुस्तकहरु पढ्ने वानी बसाल्नु होला । मेरो आफ्नो भर्खरै बजारमा आएको मनसुन त छदैछ । तपाईहरुले अत्यन्तै मन पराइरहनु भएको छ, अझै सल्लाह सुझाव दिनुहोला ।

अमर न्यौपाने
अहिलेको दसैंका सुरुवाती केही दिन नेपालगञ्जका विभिन्न कार्यक्रममै बिताएँ । मेरो घर चितवनमा परिवारसँगै दसैं मनाउने योजनामा छु । पहिलाका दसैंहरुमा म अत्याधिक किताब पढ्थें । तर, आजभोली अलि कार्यक्रममा व्यस्त रहने हुँदा त्यती भ्याउँदिन । पछिल्लो समय मैले चीरहरण र ऐना पढें । अहिले सुविन भट्टराईको मनसुन पढ्दैछु । पछिल्लो समय पुस्तक पढ्नेहरुको संख्या बढेको देख्दा खुसी लागेको छ । पाठकहरुमा पुस्तक पढ्ने बानीको निकै विकास भएको छ । मुख्यतः आफ्नो रुची र इच्छा अनुसार नै पुस्तकहरु पढ्नुपर्छ । पछिल्लो समय बजारमा प्रकाशित पुस्तकहरु चीरहरण, ऐना, मनसुन लगायतका पुस्तकहरु पढ्दा पनि हुन्छ । चीरहरणले राम्रोसँग पौराणीक कुराहरुको ब्याख्या गरेको छ भने ऐना पनि राम्रै छ । अर्को मनसुनले त युवा पुस्तालाई निकै छुन्छ । यसबाहेक नयनराज पाण्डेका पुस्तक र मेरो आफ्नै पुस्तकहरु पनि पढ्न सुझाव दिन्छु तर पाठकको रोजाइ र रुची नै प्रमुख हो ।

राधा पौडेल
मेरो अहिलेको दसैं अलि फरक छ । म दसैं सप्तमीको दिनमा अमेरिका जाँदैछु । खासगरी विश्वभर एउटा नेटवर्क छ ‘प्रजनन स्वास्थ्य अधिकार’ भन्ने त्यसको सदस्य रहेकाले कार्यक्रममा उपस्थित हुँदैछु । सप्तमीको भोलिपल्ट देखि म निरन्तर त्यहिँको कार्यक्रममा ब्यस्त रहन्छु । मैले त्यहाँ बिशेषगरी नेपाली बालिकाको कम उमेरमा विवाह, दाइजो प्रथा र महिनावारी बार्ने लगायतका कुराहरु मानवअधिकार हननका कुराहरु हुन् भन्ने बिषय उठाउँछु । यसपालि दसैंमा बाहिर हुने भएकाले त्यस्तो खासै योजना छैन । मेरो मदन पुरस्कार जित्न सफल पुस्तक ‘खंलगाामा हमला’ अंग्रेजीमा प्रकाशन भएको छ त्यसलाई चाहिँ एकपल्ट पढ्ने सोच छ । पाठकहरुलाई कस्ता पुस्तक पढ्ने भन्ने बारे सुझाव दिनुपर्दा चाहिँ, किताब खाली पढे भन्नु मात्र भन्दा पनि किताब पढेर नै जीवन परिवर्तन होस्, दृष्टिकोण बदलियोस, सोच्ने बिचारमा परिवर्तन हुने खालका किताबहरु पढ्नुपर्छ । मैले यी किताबहरु नै पढ्नुहोस् भनेर नाम दिए अन्याय हुन्छ, त्यसैले खाली क्षणिक मनोरञ्जनका लागि फन्नी र रोमान्टिक पुस्तकहरु मात्र नभई मैले किताब पढेर केही बुझें र म परिवर्तन भए भन्ने खालका पुस्तक पढ्नुहोस् ।

तपाईको प्रतिक्रिया