संघसंस्थाहरुबीच समन्वयको अभाव

जापानका नेपाली संघसंस्थाहरुबीच आपसी समन्वयको अभाव टड्कारोरुपमा देखिन थालेको छ । करिव ६ दर्जनको हाराहारीमा रहेका यहाँका संघसंस्थाहरु बीच समन्वयकारी भूमिका निर्बाह गर्न अब अर्को छुट्टै साझा संयन्त्रको अवधारणा अहिले पनि उत्तिकै सान्दर्भिक देखिएको छ, जुन आजभन्दा ६, ७ वर्ष अगाडि अत्यन्त प्रभावकारी कार्यसम्पादन गरेर नेपाली समुदायमा लोकप्रिय बनेको थियो । साझा संयन्त्रले लोकप्रियताको उचाई हासिल गर्दै जाँदा त्यसको श्रेय एक्लौटी लिने नियत घुस्न थालेपछि यो अवधारणा बीचैमा तुहिएको हो । परिवर्तित सन्दर्भमा वैज्ञानिक ब्यवस्थापन गर्न सके त्यसप्रकारको कमन मेकानिज्मको अहिले झन आवश्यकता बढेर गएको छ ।

नेपालीहरुको संख्यामा आएको बृद्धिसंगै स्वभाविकरुपमा संघसंस्थाहरु थपिनेक्रमले तिब्रता पाउन थालेको छ । आफ्नो निश्चीत उद्देश्य र मिशन भए पनि संघसंस्थाहरुले प्रायः एकै समयमा एउटै प्रकृतिको कार्यक्रम आयोजना गर्ने जापानमा होडबाजी नै चलेको छ । समाजका जिम्मेवार अगुवाहरुले हेक्का राख्न जरुरी छ कि, एकै समयमा एकै प्रकृतिको कार्यक्रम थोपरिनु सर्बथा गलत छ । यसप्रकारको गतिबिधिमा खर्च हुने सीप, स्रोत र साधन बरु अरु कुनै रचनात्मक तथा सिर्जनात्मक कार्यमा उपयोग गर्न सके उपयुक्त हुन्छ । अघिल्लो अगस्त महिनाभरि तीज कार्यक्रमले गर्दा यहाँका नेपालीहरुलाई भ्याई नभ्याई बनायो । जसले पनि तीज कार्यक्रम नै आयोजना गर्नुपर्ने सँस्कारलाई जापानमा जबर्जस्ती थोपरिदैं छ यसले निकट भविष्यमा विकराल समस्या ल्याउन सक्ने संभावना देखिन्छ । यसैगरी सेप्टेम्बर महिनाभरि बिभिन्न राजनैतिक दलका भ्रात्तृसंगठनहरुको कार्यक्रममा भाग लिनका लागि जापान टेक्ने नेताहरुको संख्या आधा दर्जन पुगेको छ । यसप्रकारका कार्यक्रमका लागि यतिबेलाकै समय किन रोजियो त ? कुनै दिन यो बहसको बिषय हुन सक्छ । दर्शक, सहभागीहरुका लागि कार्यक्रम आयोजना गरिन्छ भने उनीहरुको समय अनुकूलतालाई बिर्सन मिल्दैन ।

सेप्टेम्वरको तेस्रो साता लाग्दै गर्दा बिशेषगरी नयाँशक्ति निकट, माओबादी निकट र राप्रपा निकटका भ्रात्तृसंगठनहरुले आफ्ना केन्द्रिय तहका शीर्षस्थ नेताहरुको बिशेष उपस्थितिमा अधिवेशन आयोजना गरेका हुन् । लगभग लगातार जस्तो कार्यक्रमका कारण आमन्त्रित नेताहरुको बिशेष सम्बोधन सुन्न जाने फुर्सद मिलाउन धेरैलाई हम्मेहम्मे परेको देखियो । संघसंस्थाहरु बीच पारस्परिक समन्वय भईदिएको भए केही हप्ता वा महिनाको फरकमा यस्ता कार्यक्रम आयोजना हुने थिए, सबै नेताहरुको विचार सुन्ने अवसर इच्छुक सबैले पाउनेथिए । एउटा संस्थाले जे गर्‍यो अर्को संस्थाले पनि त्यही गर्नुपर्ने कपि मानसिकता हामीमा विद्यमान छ, त्यो पनि एकै समयमा, यसप्रकारको सँस्कारलाई बेलैमा उपचार गर्न जरुरी छ ।

यसका साथै नेपालका केन्द्रिय तहका नेताहरु ल्याएर गरिने महङ्गा कार्यक्रमहरुलाई यहाँका समुदायलक्षित र परिणाममुखी बनाउन आयोजक संस्थाहरु चुक्नुहुदैन । जुनसुकै संघसंस्थाले आयोजना गरेको कार्यक्रम भए पनि त्यसलाई सफल बनाउनु यहाँका सबै नेपालीको साझा कर्त्तब्य हो । कार्यक्रमलाई उद्देश्यअनुरुप रोचक र स्तरिय बनाउन यहाँका संघसंस्थाहरुले थप गृहकार्य गर्नुपर्ने देखिन्छ । कार्यक्रमको समग्र ढाँचा, अतिथिहरुको कुशल ब्यवस्थापन, वक्ता चयन, वक्ताहरुमा बिषयकेन्द्रित र समय बारेको सजगता, सशक्त भूमिकामा कार्यक्रम सञ्चालकको दमदार प्रस्तुती लगायतका पक्षहरुमा तादम्यता मिले मात्र कार्यक्रम जम्न सक्छ, नत्र फितलो बन्न पुग्दछ । त्यसैले हाईप्रोफाईलका अतिथिहरुको बिशेष उपस्थिति रहेको सामरिक महत्वका ठूला समारोहहरुमा आयोजकसंग अनुभवी उदघोषक छैन भने बरु पारिश्रमिक दिएर भए पनि प्रोफेशनल उदघोक राख्नु उपयुक्त हुन्छ । यो नयाँ प्रयोगको अब जापानमा पनि जरुरी देखिन थालेको छ । ***

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित