मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

काठमाडौँ – यसपालि दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिर जाने सर्वसाधारणलाई समस्या हुने भएको छ । यातायात व्यवसायीका कारण सार्वजनिक यातायातमार्फत बाहिर जाने करिब आठ लाख सर्वसाधारणले अझै टिकट पाएका छैनन् ।

दसैँका वेला गत वर्ष करिब १८ लाख मानिस उपत्यकाबाट बाहिरिएका थिए । यस वर्ष हालसम्म करिब १० लाख टिकट मात्र बिक्री भएको छ । तर, अधिकांश यातायात व्यवसायी सङ्घले टिकट सकिएको भन्दै अग्रिम टिकट बुकिङ बन्द गराइसकेका छन् । टिकट काट्न बसपार्क जानेहरू रित्तो हात फर्कने गरेका छन् । क्षमताभन्दा धेरै यात्रु राख्न कडाइ गरेपछि यातायात व्यवसायीले थोरै मात्र बस थपेर सञ्चालन गर्न लागेका छन् । क्षमताभन्दा धेरै यात्रु बोक्न दिए मात्र थप टिकट बिक्री गर्ने अडान व्यवसायीहरूको छ । दुर्घटना बढेपछि यातायात व्यवस्था विभागले सिट क्षमताभन्दा धेरै यात्रु बोक्न दिएको छैन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । Ticket bokking

त्यसको विरोधमा यातायात व्यवसायीहरूले दसैँमा धेरै बस सञ्चालन गर्न नमानेका हुन् । सिट क्षमताअनुसार मात्र चलाउँदा उपत्यका फर्कँदा यात्रु नहुने हुँदा आफूलाई घाटा हुने उनीहरूको दाबी छ । ‘कि क्षमताभन्दा धेरै यात्रु राख्न पाउनुपर्‍यो कि बसलाई इन्धन हालिदिनुपर्छ भन्ने उनीहरूको माग छ,’ यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले भन्नुभयो,‘हामीले नाफा मात्र नखोज्नोस् दसैँको बेला सेवा पनि गर्नुपर्छ भनेका छौँ । छलफल भइरहेको छ ।’ महेन्द्रगर, धनगढी, बाँके, बुटवल जाने बसका टिकटहरू सकिएको व्यवसायीले बताएका छन् । पूर्व जाने बसहरूको पनि सर्वसाधारणले सहज रूपमा टिकट पाएका छैनन् ।

समस्या व्यवस्थापनबारे छलफल भइरहेको यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सिटौला बताउनुहुन्छ । यातायात मन्त्रालयमा शुक्रवार अहिले देखिएको समस्याबारे छलफल हुँदैछ । सडक समस्या तथा नयाँ बस नथपेकाले पनि टिकटको अभाव भएको हो । गत वर्षको नाकाबन्दीमा व्यवसायीले आर्थिक समस्या झेलेकाले नयाँ बस थप्न समस्या भएको सिटौलाले बताउनुभयो । मुग्लिन–नारायणघाट सडकखण्ड पनि एउटा कारण भएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया